केयूको उपकुलपतिमा तीन जनाको नाम सिफारिस – Janadesh Daily | ePaper

केयूको उपकुलपतिमा तीन जनाको नाम सिफारिस


काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति पदमा तीन जनाको नाम सिफारिसमा परेको छ । उपकुलपति छनोट समितिले दुई कार्यकाल उपकुलपति भइसकेका प्रा.डा. रामकण्ठ माकाजु, प्रा.डा. भोला थापा र प्रा.डा. बालचन्द्र लुईंटेलको नाम कुलपतिसमेत रहेको प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सिफारिस गरेको हो ।

सोमबार शिक्षा मन्त्रालयमा बसेको सर्च कमिटिको बैठकले माकाजु, थापा र लुईंटेलको नाम सिफारिस गरेको एक सदस्यले बताए । विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटि गठन गरेका थिए । कमिटि सदस्यमा विश्वविद्यालयका पुर्व उपकुलपति सुरेशराज शर्मा र बोर्ड अफ ट्रस्टीका अध्यक्ष दमननाथ ढुंगाना छन् ।

माकाजुको केही दिनमा दोस्रो कार्यकाल सकिंदैछ । माकाजु विश्वविद्यालयमा तेस्रो कार्यकालका लागि उपकुलपति बन्ने प्रयासमा छन् । एउटै व्यक्तिलाई दुई भन्दा बढी कार्यकाल उपकुलपतिको जिम्मेवारी दिन नहुने भन्दै विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरु बिरोधमा छन् ।

काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले ‘एक व्यक्ति एक पद, अधिकतम दुई कार्यकाल’ हुनुपर्ने माग गरिरहेको छ । छनोट समितिले सिफारिस गरेका व्यक्तिमध्ये एक जनालाई कुलपतिले चार वर्षका लागि नियुक्त गर्ने व्यवस्था छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्