ढल निकास नहुँदा जलमग्न भए सडक – Janadesh Daily | ePaper

ढल निकास नहुँदा जलमग्न भए सडक


सञ्चिता घिमिरे

काठमाडौँ,  रासस ः नियमित वर्षाका कारण काठमाडौँ उपत्यकाका धेरै स्थानमा सडक जलमग्न हुँदा सवारी चालक र यात्रुलाई आवतजावत गर्न गाह्रो भएको छ ।

उपत्यकाका मुख्य र सहायक सडकमा कतिपय घर र पसलभित्रै पानी पस्न थालेको छ । उपत्यकाका सुन्धारा, बालुवाटार, तीनकुने, कुमारीपाटी, तीनकुनेलगायत स्थानमा सवारी साधन नै डुबिरहेको देख्न सकिन्छ ।

Monsoon rains drench Nepal, flood Kathmandu valley | World ...

वाग्मतीलगायत नदीको बहाव बढ्दा करिडोरमा पानी जमेको छ । उपत्यकामा रहेको ढल साँघुरो र नियमित मर्मतका अभावमा यस्तो समस्या देखिरहेको छ । भौतिक संरचनाको निर्माणको जिम्मेवार कुन निकायको हो भनी स्पष्ट भए पनि ढल निर्माणको काम धेरै निकायले गरिरहेकाले समन्वयका कारण वर्षेनी यो समस्या दोहोरिरहेको हो ।

ढल प्रणाली पुरानो भएको तथा पुरानो र नकुहिने वस्तु पस्दा पानी ढलमा नगएर सडकमै जम्मा भएको खानेपानी तथा सरसफाइ मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताउनुभयो । ढल जाम हुनेलगायत समस्या आउँदा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले नै उपकरण लगेर ढल खुलाउने काम गरिरहेको छ ।

Flood on Kathmandu road. Kathmandu road condition in monsoon ...

उहाँले भन्नुभयो, “अहिले पनि समस्या देखिएका ठाउँमा केयुकेएलले खुलाइरहेको छ ।” ढल निर्माणको मुख्य जिम्मेवारी खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागको भए पनि सेवा प्रदायक संस्थाबीच समन्वय हुन नसक्दा समस्या आउने गरेको छ । स्थानीयवासी पनि कुन निकायलाई उजुरी गर्ने भन्नेमा अन्योलमा छन् ।

ललितपुर, गाबहालका राकेश श्रेष्ठ यस क्षेत्रमा वर्षेनी पानी जम्ने गरे पनि त्यसतर्फ कसैको ध्यान नगएको बताउनुभयो । पानी पसलभित्र पस्दा धेरै क्षति हुने गरेको बताउँदै उहाँले भन्नुभयो, “हामीले चिन्ने ललितपुर महानगरपालिका हो तर उसले आफ्नो क्षेत्र हैन भन्दै टार्ने गरेको छ ।” ढल निर्माण र सुधारमा समन्वयको अभाव रहेको खानेपानी मन्त्रालयका प्रवक्ता शाक्यले बताउनुभयो ।

ढल निर्माणका काम विभिन्न निकायले गरे पनि त्यसको मर्मतलगायत काम खानेपानी मन्त्रालयले नै गर्दै आएको छ । ढल निर्माणको काम जुनसुकै निकायले गरे पनि समस्या आउँदा यही मन्त्रालयलाई सोधिने उहाँले बताउनुभयो ।

ढल निर्माण मात्रै गरेर नहुने हुँदा कुन पाइपलाई कहाँ लगेर जोड्ने कसरी निकास गर्ने भन्ने तय गर्न आपसी समन्वयको खाँचो पर्छ । उहाँले भन्नुभयो, “खानेपानी र सरसफाइका दक्ष जनशक्ति हाम्रो मन्त्रालयमा रहेको र लाइन मिनिष्ट्री भएकाले सल्लाहमा काम गर्नुपर्ने हो ।” विगतमा सडक विभागले धेरै स्थानमा ढल बनाए पनि समन्वय नहुँदा समस्या आउने गरेको थियो ।

अहिले काठमाडौँका कतिपय स्थानमा समन्वयमा निर्माण भइरहेको र ती स्थानमा पानी जम्ने समस्या नभएको प्रवक्ता शाक्यको जिकिर छ । यस वर्ष पुतलीसडक, त्रिपुरेश्वरलगायत स्थानमा आपसी समन्वयमा ढल निर्माण भएको थियो ।

The Kathmandu Post-Deadly deluge

उहाँले भन्नुभयो, “गत वर्षहरुमा बढी गुनासो आउने गरे पनि यस वर्ष गुनासो आइरहेको छैन ।” कुन सडकमा कसले ढल निर्माण गर्ने भन्नेमा नै स्थानीय तह अन्योलमा छन् । सडकका विषयमा आठ मिटर सडकसम्म सङ्घीय सरकारले र त्यसभन्दा कम चौडाइको स्थानीय सरकारले निर्माण गर्ने जनाइएको छ ।

कुन सडकमा कसले ढल निर्माण गर्ने भनी टुङ्गो नभएको पालिकाले बताउँदै आएका छन् । सामान्यतया ठूला चौडाइका सडकमा सङ्घीय सरकार र कम चौडाइमा स्थानीय सरकारले ढल निर्माणको काम गर्दै आएका छन् । स्थानीय तहले ढल निर्माण गरेका स्थानमा पनि मर्मतमा भने ध्यान दिएको पाइँदैन ।

ढलको समस्या काठमाडौँ उपत्यकाका नगर क्षेत्रसँगै नयाँ बनेका नगरपालिकामा समेत देखिरहेको छ । ग्रामीण बस्तीमा शहरीकरणसँगै फोहरपानीको व्यवस्थापनको समस्या देखिरहेको हो । पानीको उचित निकास नहुँदा वर्षाका समयमा काठमाडौँ उपत्यकाका धेरै सडक डुबानमा पर्ने र स्थानीयवासीको घरभित्रै पानी छिर्ने समस्या हुने गरेको छ ।

Road expansion work: Taking a bit too long? - The Himalayan Times

काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आउँदा फोहरपानीको मात्रा अझै बढ्ने देखिएको छ । अहिले काठमाडौँका मुख्य सडकमा ढल भए पनि आवश्यकताभन्दा कम आकारका भएको केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउनुभयो ।

उहाँका अनुसार अहिले मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालयले मुख्य नदीमा पानी प्रशोधन केन्द्र र खोला नजीकै ढल निर्माण गरिरहेको छ । मेलम्चीको पानी उपत्यकामा आएपछि ढलको समस्या अझै बढ्न सक्ने भएकाले खोला छेउमा जस्तै ढल निर्माण उपत्यकाका मुख्य र सहायक सडकमा पनि गर्न आवश्यक छ ।

उहाँले भन्नुभयो, “यसका लागि सबै क्षेत्र समेटेर गुरुयोजना नै चाहिन्छ ।” पानीको व्यवस्थापनका लागि केयुकेएल, आयोजना कार्यान्वयन निर्देशनालयले चार स्थानमा फोहरपानी प्रशोधन केन्द्र निर्माण गरिरहेको छ । गुहेश्वरी, सूर्यविनायक, बालकुमारी र सुन्दरीघाटमा फोहरपानी प्रशोधन केन्द्र निर्माण गर्न लागिएको हो ।

वाग्मती र त्यसका सहायक नदीमा कतै एकीकृत वाग्मती सभ्यता विकास आयोजना र कतै आयोजना कार्यान्वयन निर्देशनालयले ढल निर्माण गरिरहेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्