यसरी भएको थियो आकश्मिक आमहड्ताल घोषणाः यी हुन् उपत्यका मोर्चा सम्हाल्ने १० कमाण्डर – Janadesh Daily | ePaper

यसरी भएको थियो आकश्मिक आमहड्ताल घोषणाः यी हुन् उपत्यका मोर्चा सम्हाल्ने १० कमाण्डर


जनादेश अपडेट ।

नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूले आज देशव्यापी आम हडताल आह्वान गरेको छ । विहानैदेखि नेता कार्यकर्ता सडकमा छन् । कतिपय स्थानमा प्रदर्शन भएको छ भने कतै तोडफोड र आगजनी पनि भएका छन् ।

काठमाडौं उपत्यकाबाट प्रहरीले बन्द गराउन हिँडेकाहरुलाई पक्राउ गरिरहेको छ । काठमाडौं र भक्तपुरबाट बिहीबार बिहानै ७१ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


बिहीबारको आम हडताल व्यवस्थापनका लागि काठमाडौंका ११ स्थानमा स्थायी कमिटी सदस्यहरुले मोर्चा सम्हालिरहेका छन् ।

यी हुन् १० कमाण्डर:
कलङ्की : युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य (उनलाई प्रहरीले हिरासतमा लिइसकेको छ)
बल्खु: वेदुराम भुसाल
सातदोबाटो: देव गुरुङ
पुल्चोक: पम्फा भुसाल
कोटेश्‍वर: लीलामणि पोखरेल
चाबहिल: वर्षमान पुन र हरिबोल गजुरेल
महाराजगञ्‍ज: शक्ति बस्‍नेत
गोंगबु: भीम रावल
बालाजु: रघुजी पन्त
रत्‍नपार्क: नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा

बुधबार मध्याह्नसम्म सामान्य रहेको राजनीतिक परिदृष्य आम् हड्तालको आह्वान पछि तातिएको छ ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमले निम्त्याएको संकट अदालतमा न्यायिक र सडकमा राजनीतिक परीक्षणकै क्रममा रहेपनि बुधबार दुई बजे आकस्मिक पत्रकार सम्मेलन गरेर नेकपाको प्रचण्ड–माधव पक्षले बिहीबार पूरै देश ठप्प पार्नेगरी आमहड्ताल घोषणा गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा विभिन्न संवैधानिक निकायका पदाधिकारीलाई बुधबार बिहान ९ बजे शीतलनिवासमा पद तथा गोपनीयताको सपथ गराउने कार्यक्रम तय भएको थियो। विभिन्न निकायका ३२ जना पदाधिकारीको सपथको तयारी हुँदै गर्दा नेकपाको प्रचण्ड–माधव पक्ष भने त्यो कार्य गैरसंवैधानिक भएको निष्कर्षसहित बैठकमा बसेको थियो।

सपथ कुनै हालतमा नरोकिने भएपछि प्रचण्ड–माधव पक्षका नेताहरू कोटेश्वरका एक व्यापारीको घरमा बैठक बसेका थिए। बैठकमा सहभागी एक नेताका अनुसार बिहान ८ बजेदेखि १२ बजेसम्म बसेको बैठकले आमहड्तालमा जाने निर्णय गरेको हो। बैठकमा अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य वर्षमान पुन, अष्टलक्ष्मी शाक्य, ओनसरी घर्तीलगायत सहभागी थिए।

बुधबारका घटनाक्रमपछि प्रचण्ड–माधव पक्ष अख्तियारमार्फत् मात्र होइन, अदालतमा विचाराधीन सशस्त्र द्वन्द्वकालीन मुद्दा उचालेर पनि नेताहरुलाई सताउने तयारी भइरहेको आँकलनमा पुगेको छ। त्यसबाट सशंकित एक नेताले जनादेशसँग भने, ‘अरु त अरु, सभामुख अग्निप्रसाद सापकोटालाई पनि द्वन्द्वकालीन कुनै मुद्दा उचालेर अप्ठेरोमा पार्ने तयारी अघि बढाइएको बुझेका छौं।’

प्रधानमन्त्री ओलीले संविधान मिचेर ‘जुनसुकै हर्कत गर्न सक्ने’ देखिएपछि आकस्मिक रुपमै आमहड्तालमा जाने निर्णय गरेको नेताहरुले बताएका छन् ।

यो पनि हेर्नुस्- नेकपा प्रचण्ड-नेपाल समूहका नेता रातिमा सडकमै मृत फेला, घटना शंकास्पद

मुठभेडको मुडः विहानै ट्याक्सी जलाइयो, सडकमा निस्केकाअष्टलक्ष्मी शाक्यसहित दर्जनौं नेता पक्राउ

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्