यात्रुबाहक सवारी साधनको ठगी धन्दा – Janadesh Daily | ePaper

यात्रुबाहक सवारी साधनको ठगी धन्दा


जिल्लाका टाटासुमोले लकडाउन खुकुलो बनाइएको मौकामा तेब्बर बढी भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् ।

जिल्लाको लालबन्दीलगायत पूर्वपश्चिम लोकमार्गका केही ठाउँबाट चर्को भाडा लिएर टाटासुमो तथा ठूला यात्रुबसले यात्रुलाई काठमाडौँ, पोखरा लाने÷ल्याउने गर्न थालेका हुन् ।

टाटासुमोले यात्रुसँग रु दुई हजार ५०० देखि तीन हजारसम्म भाडा लिइरहेको पाइएको हो भने बसले पनि सोहीअनुसार भाडा असुलिरहेका छन् ।

अरुबेला टाटासुमोले लालबन्दीबाट काठमाडौँसम्मको भाडा रु एक हजार लिने गरेका थिए भने बसले ६रु ५० लिने गरेका थिए । बिरामी बोकेको जस्तो गरी टाटासुमोले हाकाहाकी यात्रु ठग्ने काम गरिरहेको एक स्थानीयवासीले गुनासो गरेका छन् ।

अत्यावश्यक काम परेका नागरिक तेब्बर बढी भाडा तिरेरै भए पनि काठमाडौँ, पोखरा गइरहेका छन् तर स्थानीय प्रशासनले भने टाटासुमोलाई त्यसरी यात्रु ओसार्न सवारी पास नदिएको जनाएको छ ।

“टाटासुमोले यात्रु ओसारपसार गरिरहेकोबारे मलाई जानकारी छैन, कसैले त्यसो गरिरहेको भए अवैध हुनेछ”, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले भन्नुभयो । यात्रु ओसारपसार गर्ने प्रयोजनका लागि अहिले पास दिनै नमिल्नेसमेत प्रमुख जिल्ला अधिकारी जिसीको भनाइ छ ।

यसैगरी जिल्लामा अहिले बाक्लै मात्रामा चल्न थालेका रिक्सा, म्याजिकजस्ता साना यात्रुवाहक सवारी साधनले पनि साबिकको भन्दा दोब्बर बढी भाडा लिने गरेका यात्रुहरुले गुनासो गरेका छन् ।

यातायात व्यावसायीले भने पास लिने क्रममा रु चार हजारदेखि सात हजारसम्म शुल्क तिर्नुपरेका कारण भाडा बढेको बताएका छन् । यसबारेमा सम्बन्धित निकाय अनुगमन तथा नियमन गर्नुको सट्टा मौन बसेको यात्रुहरुको आरोप छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्