रोल्पाका पहिलो कम्युनिष्ट सदस्य बर्मन बुढाको निधन – Janadesh Daily | ePaper

रोल्पाका पहिलो कम्युनिष्ट सदस्य बर्मन बुढाको निधन


जनादेश,रोल्पा

रोल्पाका पहिलो कम्युनिष्ट सदस्य पूर्वसांसद बर्मन बुढाको आज बिहान ९० वर्षको उमेरमा निधन भएको छ ।

उहाँको आज बिहान ४ः३० बजे ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँकी छोरी विजया बुढाले जानकारी दिनुभयो ।

उहाँलाई आन्द्राको क्यान्सर भएको एक वर्षअघि रोग पत्ता लागेपछि काठमाडौँमा बसेर उपचार गराइरहनुभएको थियो । केही दिनअघि रोगले च्यापेपछि थप उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएकामा आज बिहान निधन भएको छोरी विजयाले जानकारी दिनुभयो ।

स्व बुढा विसं २०४८ को संसदीय निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नं १ बाट तत्कालीन संयुक्त जनमोर्चाको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

रोल्पाको थवाङ घर भएका बुढालाई रोल्पाको कम्युनिष्ट पार्टीको संस्थापक मानिन्छ । लामो समय मन्त्री रहेका राप्रपा नेता बालाराम घर्तीमगरलाई हराउँदै विसं २०४८ को संसदीय निर्वाचनमा पहिलोपटक बुढा सांसद निर्वाचित हुनुभएको थियो ।

यसअघि उहाँ थवाङको मुखिया, प्रधानपञ्चको रूपमा लामो समय राजनीतिमा क्रियाशील रहनुभएको थियो । प्रतिनिधिसभा बैठकमा थवाङको स्थानीय भेषवूषामा कछाड लगाएर उपस्थित भएर चर्चामा रहनुभएका स्व बुढाको विसं २०५२ को सशस्त्र युद्धपछि भने राजनीतिमा क्रियाशीलता कम हुँदै गएको थियो ।

कठिन परिस्थतिमा समेत रोल्पामा कम्युनिष्ट पार्टी निर्माण गरेको भन्दै रोल्पामा नेता बुढालाई आदर्श मान्ने गर्दछन् । उहाँ दुई वर्षअघि राष्ट्रका लागि योगदान गरेको भन्दै राष्ट्रपतिबाट विभूषितसमेत हुनुभएको थियो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्