मिडिया एलायन्सलाई प्रचण्डको सन्देशः ओलीसँग तुलना नगर्नुस् ! – Janadesh Daily | ePaper

मिडिया एलायन्सलाई प्रचण्डको सन्देशः ओलीसँग तुलना नगर्नुस् !


जनादेश वाच ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको पछिल्लो अवस्था बारे मिडिया एलाइन्सलाई व्रिफिङ गरेका छन् ।

पार्टीका तर्फबाट आयोजना गरिएको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले छिट्टै श्वेतपत्र सार्वजनिक गरेर नेकपामा पछिल्लो पटक देखिएको विवाद किन र के कारणले उत्पन्न भएको हो ? र, यसले पारेको प्रभावलगायत विषय जनतालाई बुझाउने बताए ।

कुनैपनि हालतमा ओलीको प्रतिगामी कदम फिर्ता हुनुपर्ने भन्दै प्रचण्डले प्रजातन्त्र भनेको बहुमतको शासन भएको पनि बताए । अल्पमतमा रहेका ओलीले लोकतन्त्रको हत्या गरेको प्रचण्डको भनाइ छ ।
‘यो सत्य र असन्त्य, अग्रगमन र प्रतिगमनबीचको संघर्ष हो’, प्रचण्डको भनाइ छ ।

उनले ओलीको प्रवृत्तिलाई बेलैमा चिन्न नसकेकोमा अहिले गल्ती महसुस भएको भन्दै आफूहरु गम्भीर आत्मसमीक्षातिर रहेको बताए । ‘यो प्रवृत्तिलाई बेलैमा रोक्न किन सकिएन ? हामी आत्मसमीक्षा गर्छौं । आफ्नै पार्टीको अध्यक्ष र आफैले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्रीले झण्डै ७० वर्ष लगाएर प्राप्त गरेको उपलब्धिलाई एकैपटक घनले हानेपछि हामी मर्माहत भएका छौं’, प्रचण्डले बताए । यो पृष्ठभूमिमा कतिपयले किन झगडा गरेको भनेर प्रश्न गर्दा मुटु छियाछिया हुने गरेको पनि प्रचण्डको भनाइ छ ।

उनले सशस्त्र सङ्घर्ष, शान्ति सम्झौता, संविधानसभा हुँदै पछिल्लो निर्वाचन शान्ति, समृद्धि र सुशासनका लागि भएपनि त्यो अनुरुप मुलुक अघि बढ्न नसकेको उल्लेख गरे ।

प्रचण्डले भने, “मुलुकको पछिल्लो अवस्थाबारे हामी छिटोभन्दा छिटो श्वेतपत्र जारी गर्ने तयारी गर्दैछौँ । त्यसमा समग्र विषय समेटिने छ ।”

नेपाली जनताका प्रतिनिधिले निर्माण गरेको संविधानको रक्षा र बलिदानबाट प्राप्त उपलब्धि जोगाउनु अहिलेको प्राथमिकता भएको बताए । उनले यतिबेला सत्य र असत्य, लोकतन्त्र र पश्चगमनबीचको लडाई भइरहेको स्पष्ट पारे ।

उनले संयुक्त जनपरिचालनका लागि विभिन्न राजनीतिक दल, नागरिक समाजलगायतसँग छलफल भइरहेको जानकारी दिए ।

कार्यक्रममा सो समूहका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेको नभइ प्रतिगामी कदम र प्रवृत्तिको विरोध गरेको बताए ।

प्रजातन्त्र र लोकतन्त्र नै खतरामा पर्ने अवस्था आएपछि आफूहरुले त्यसको रक्षाका लागि अग्रसर भएको उनले उल्लेख गरे । प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नै नरहेको उल्लेख गर्दै उनले संविधानले नै नदिएको अधिकार कोही कसैले पनि प्रयोग गर्न नहुने बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्