नेकपा अधिकारिकतामा ओली गुटको रणनीति ! पेलेर जाने प्रधानमन्त्रीको सन्देश, सिंहदरबारबाट फैसला – Janadesh Daily | ePaper

नेकपा अधिकारिकतामा ओली गुटको रणनीति ! पेलेर जाने प्रधानमन्त्रीको सन्देश, सिंहदरबारबाट फैसला


जनादेश वाच ।
संसद विघटन पछि चरम अल्पमत र रक्षात्मक अवस्थामा रहेको नेकपा ओली गुटले दादागिरीकै भरमा नेकपा र चुनाव चिन्हकोरुपमा सूर्य कब्जा गर्ने रणनीति अख्तियार गरेको छ । प्रधानमन्त्रीदेखि सरकारका प्रवक्ता सम्मले आधिकारिकताको दाबीमात्र होइन फैसला नै सुनाउन थालेका छन् ।

मंगलबार निर्वाचनको तयारीबारे बुझ्न मात्रै निर्वाचन आयोग पुगेको दाबी गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको विवादमै सबै समय मात्र खर्चिएनन् आयोगका अधिकारीहरुलाई घुमाउरो धम्कीको भाषा बोले ।

सफेद झुट बोल्दै प्रधानमन्त्री ओलीले कुनै पनि विवाद नभएको र त्यसमा प्रवेश गरेर निर्वाचनका बेला अनावश्यक समय खेर नफाल्न आयोगका पदाधिकारीहरुलाई निर्देशन दिएका छन्।

ओलीले आयोग पुगेर आयोगका पदाधिकारीहरुलाई पुस ५ अघिसम्म नेकपामा कुनैपनि विवाद नभएकाले त्यसमा प्रवेश गरेर समय खेर नफाल्न आयोगका पदाधिकारीहरुलाई स्पष्ट निर्देशन दिएको आयोगको उच्च स्रोतले जनाएको छ । प्रधानमन्त्रीको शैली हेर्दा ‘पेलेरै जाने’ मनस्थितिमा देखिएको आयोग श्रोतले जनादेशलाई बताएको छ ।

प्रधानमन्त्री ओली निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल सकेर सिधै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न सिधै शितलनिवास पुगेका थिए ।

प्रधानमन्त्री ओली बाहिरिएपछि आयोग पुगेका प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य राजेन्द्र पाण्डेलाई आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री ओलीले राखेका धारणाबारे पनि जानकारी गराएका थिए।

‘प्रधानमन्त्री ओलीले आफू नेकपाको पहिलो अध्यक्ष रहेको, यसअघिका निर्वाचनहरुका बेला आयोगसँगका पत्राचारमा आफ्नो हस्ताक्षरमात्रै चल्ने गरेको र अहिले पनि त्यसैअनुसार हुनुपर्ने बताउनु भएको रहेछ, मलाई आयोगमा सोही जानकारी गराइयो,’ पाण्डेले जनादेशलाई भने।

ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल पक्षले उनलाई कारबाही गरी पदबाट हटाइसकेको छ।

सिंहदरबारबाटै फैसला
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले केपी ओलीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नै आधिकारीक भएको दाबी गरेका छन् ।

मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले प्रचण्ड–माधव पक्षले दाबी गर्ने हदम्याद सकिइसके पछि निर्वाचन अयोगको कानुन, नीति, नियमलाई नबुझिकन दाबी गरेको बताए ।

निर्वाचन आयोगले मध्यावधि निर्वाचनको घोषणा गर्ने प्रधानमन्त्री तथा संसदीय दलको नेता केपी शर्मा ओलीलाई मात्रै चिनेको भन्दै उनले सिंहदरबारबाटै आधिकारिकताको फैसला सुनाएका हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्