ओलीको छिर्के दाउ फ्लप ! विप्लवसहितका ४ समूहको मोर्चा रणनीतिक तयारीमा, घोषणा भोलि – Janadesh Daily | ePaper

ओलीको छिर्के दाउ फ्लप ! विप्लवसहितका ४ समूहको मोर्चा रणनीतिक तयारीमा, घोषणा भोलि


जनादेश वाच ।

प्रधानमन्त्री केपी ओलीले प्रचण्डलाई कमजोर पार्न पूर्वमाओवादीभित्र खेल्न खोजेपनि उनको योजना सफल नहुने देखिएको छ । संसद विघटनपछि लोकतान्त्रिक शक्तिहरुसँग सहकार्यको प्रस्ताव गरेको विप्लव समूहले ओलीको रणनीतिमा नफस्ने संकेत गरेको हो ।

भूमिगत र अर्धभूमिगतरुपमा रहेका विप्लव समूहका नेताहरु अन्य तीन कम्युनिस्ट घटकसँग रणनीतिक मोर्चा बनाएर आक्रामक रुपमा प्रस्तुत हुने तयारीमा छन् ।

घोषणा भोलि

रणनैतिक संयुक्त मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी, ऋषि कट्टेल नेतृतवको नेपाल कम्युनिस्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले समाजवाद/जनगणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ रणनैतिक मोर्चा बनाएका हुन् । मोर्चाले बुधबार प्रज्ञा भवन कमलादीमा अवधारणा सार्वजनिक गर्ने भएको छ ।

विप्लवसहितको चार कम्युनिस्ट घटकले आन्दोलनको घोषणा समेत गर्ने भएको हो । मोर्चाको सांगठनिक संरचना पनि टुंगो लागिसकेको छ ।

भूमिगत रुपमा रहेका विप्लव वर्तमान सरकारप्रति आक्रामक बन्दै जाँदा अन्य चार कम्युनिस्ट घटकसँग रणनैतिक मोर्चा बनाएर सडकमा आउन लाग्नुलाई अर्थपूर्ण मानिएको छ । विप्लव समूह हिंसात्मक गतिविधिमा समेत संलग्न हुँदै आएको छ । उसका कार्यकर्ता सुरक्षाकर्मीबाट मारिएको तथ्यांक छ । विप्लव समूहबाट पनि हत्याका घटनाहरु भएका छन् ।

यो पनि हेर्नुस् 

नेकपा अधिकारिकतामा ओली गुटको रणनीति ! पेलेर जाने प्रधानमन्त्रीको सन्देश, सिंहदरबारबाट फैसला

यसअघि १४ पौषमा प्रेस ज्ञिप्तिमार्फत् विप्लव र वैद्यसहित चारवटा कम्युनिस्ट संगठनका प्रमुखहरुले संयुक्त मोर्चा निर्माण गर्ने सहमतिबारे उल्लेख गरेका थिए । संयुक्त मोर्चामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतीले हस्ताक्षर गरेका थिए ।

नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चारवटा कम्युनिस्ट शक्तिले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीको इशारामा संसद बिघटन गरेको आरोप लगाएको थियो । उनीहरुले संसदीय व्यवस्था नै असफल भएको निष्कर्ष समेत निकाल्दै जनगणतन्त्र स्थापनाका लागि एक भएर अगाडि बढ्न लागेको जनाएका थिए ।

प्रधानमन्त्री ओलीले पूर्वमाओवादीहरुको विघटन गराएर प्रचण्डलाई कमजोर पार्न चाहिरहेका छन् । यसका लागि उनले विप्लवसँग वार्तादेखि पूर्वलडाकुलाई सम्मान सम्मका रणनीति लिएका छन् । प्रचण्ड साथमा हुन्जेल विप्लवप्रति नकारात्मक रहेका ओलीले उनीहरुलाई आपराधिक समूहको संज्ञा दिएका थिए। हतियार नछाडेसम्म कुनै हालतमा वार्ताको सम्भावना नरहेको बताउँदै आएका ओलीले यस पटक आफैँ हात फैल्याएर विभिन्न दूतहरुलाई सक्रिय गराइरहेका छन्। तर विप्लवको अर्कै तयारीले ओलीको छिर्के दाउलाई धक्का लाग्ने निश्चित छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्