एक वर्षमा चार सय उद्योग थप – Janadesh Daily | ePaper

एक वर्षमा चार सय उद्योग थप


जनादेश रामपुर ।
उद्यमीलाई उपयुक्त प्रविधि हस्तान्तरण

पाल्पा जिल्लामा एक वर्षमा ४०७ उद्योग थपिएका छन् । आर्थिक वर्ष २०७६/७७ का अवधिमा जिल्लामा लघु उद्यम नौ, घरेलु उद्यम तीन र साना उद्यम ३९५ दर्ता भएका छन् ।

तीमध्ये उत्पादनमूलक ४२, कृषि तथा वन्यजन्तुमूलक १५५, पर्यटनमूलक १४८ र सेवामूलक ६२ उद्योग नयाँ दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार महिलाका नाममा १८१ र पुरुषका नाममा २४३ उद्योग दर्ता भएको पाइएको छ । ती उद्योगमा ४५१ महिला र ६४५ पुरुष रोजगारीमा आबद्ध छन् । आव २०७५/०७६ मा उत्पादनमूलक ५२, कृषि तथा वन्यजन्तुमूलक १११, पर्यटनमूलक ९७ र सेवामूलक ११० गरी जम्मा ३७० उद्योग थपिएका थिए जसमा ९६ महिला उद्यमी छन् ।

पछिल्ला वर्षमा जिल्लामा महिलाका नाममा उद्योग दर्ता हुने क्रम बढ्दो छ । महिलाका नाममा दर्ताका लागि ५० प्रतिशत छुट छ । रु पाँच लाख लगानीसम्मका उद्योग स्थानीय तहमा नै दर्ता गरिन्छ । रु. पाँच लाखभन्दा माथिका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्नुपर्ने हुन्छ । रु. पाँच लाखदेखि २० लाखसम्मका उद्योग दर्ता गरेमा पाँच हजार दर्ता शुल्क र १०० दरखास्त शुल्क लिने गरिएको छ ।

महिला, अपाङ्गता, दलित र पिछडिएका वर्गका लागि दर्ता शुल्कको ५० प्रतिशत छुट गरिएको छ । आव २०७६/७७ मा रु. ७५ लाख ४४ हजार १७० राजश्व सङ्कलन भएको छ । त्यसमा वाणिज्यतर्फ रु ४२ लाख ९३ हजार २७० र उद्योगतर्फ रु ३२ लाख ५० हजार ९०० सङ्कलन भएको छ ।

जिल्लामा हाल विभिन्न प्रकृतिका गरी कूल दुई हजार ९६८ उद्योग दर्ता भएका छन् । जिल्लामा साना प्रकृतिका पर्यटन र कृषि तथा वन्यजन्तुमूलक उद्योग महिलाका नाममा र उत्पादन र सेवामूलक उद्योग पुरुषका नाममा बढी दर्ता भई सञ्चालन हुने गरेको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत बालकृष्ण गैरेले बताउनुभयो ।

“साना उद्योग चलाएर आफँै स्वरोजगार बन्ने क्रम जिल्लामा बढ्दै गएको छ, उद्योग बढ्दै जाँदा धेरै नागरिकले रोजगारी गर्ने राम्रो अवसर पाएका छन्”, उद्योग अधिकृत गैरेले भन्नुभयो ।

ढाका बुनाइ, बाँसका सरसमान, मोबाइल मर्मत, छालाजुत्ता, सिलाइकटाइ, हाते कढाइ जस्ता विभिन्न किसिमका रोजगारमूलक तालीम कार्यालयले सञ्चालन गर्दै आइरहेको छ ।

उद्योग दर्ता गरेपछि पाँच वर्षसम्म नवीकरण गर्नु नपर्ने र त्यसपछि दुईदुई वर्षका अवधिमा नवीकरण गर्ने गरिन्थ्यो भने हाल तीनतीन वर्षका अवधिमा उद्योग दर्ता गर्ने व्यवस्था छ ।रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्