थप एक सय जनामा कोभिड–१९ सङ्क्रमण – Janadesh Daily | ePaper

थप एक सय जनामा कोभिड–१९ सङ्क्रमण


जनादेश काठमाण्डौ ।

देशभरमा आज थप १०० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितका सङ्ख्या पाँच हजार ३७० पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका २८ वटा प्रयोगशालामा तीन हजार हजार ७७९ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

योसँगै सङ्क्रमितको जम्मा सङ्ख्या १८ हजार ९४ पुगेको छ । प्रदेशअनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या प्रदेश १ मा ११९, प्रदेश २ मा एक हजार ८७८, वाग्मती प्रदेशमा ४२०, गण्डकी प्रदेशमा ३७९, प्रदेश ५ मा ३४५, कर्णाली प्रदेशमा २९० र सुदूरपश्चिम प्रदेशमा एक हजार ९२७ रहेको छ ।

प्रवक्ता डा गौतमका अनुसार हाल क्वारेन्टिनमा २० हजार ८४२ जना रहेका छन् । कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको २०७ छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १२ हजार ६८४ रहेको छ । जम्मा सङ्क्रमितमध्ये ७० दशमलव एक प्रतिशत निको भएको उहाँले बताउनुभयो ।

कोभिड–१९ को कारण आज एक चिनियाँ नागरिकसहित दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाम्रो स्वास्थ्य एप्लिकेशन डाउनलोड गर्नेको सङ्ख्या एक लाख ६१ हजार ४१० छ ।

त्यसमा सक्रिय प्रयोगकर्ता ८१ हजार ८२ छन् । आज मात्रै ८० जनाले इन्ट्री गरेकामा रेड जोनमा एक जना झापाका व्यक्ति परेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको वेबसाइट हेर्ने र भाइबर गु्रपमा जोडिनेको सङ्ख्या उल्लेख्य रहेको छ । त्यस्तै सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढिरहेका तीन जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् ।

हाल एक जना पनि सङ्क्रमित नभएका जिल्लामा भोजपुर, पाँचथर, धनकुटा, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन् । आज देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ सङ्क्रमित भेटिएका जिल्लामा सुनसरी, झापा, मोरङ, सप्तरी, धनुषा, पर्सा, बारा, काठमाडौँ, सर्लाही, चितवन, बाग्लुङ र लमजुङ रहेका छन् ।

त्यस्तै स्याङ्जा, बाँके, बर्दिया, कालिकोट, डोटी र दैलेख र बझाङमा पनि नयाँ सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्