पीएसजीमै रहेर उपाधि जित्ने एमबाप्पेको इच्छा – Janadesh Daily | ePaper

पीएसजीमै रहेर उपाधि जित्ने एमबाप्पेको इच्छा


एजेन्सी फ्रान्सेली युवा फरवार्ड किलियन एमबाप्पेको नाम लामो समयदेखि स्पेनिस महारथी रियल म्याड्रिडसँग जोडिंदै आएको छ । तर रियलका समर्थकले एमबाप्पेलाई म्याड्रिड टोलीको जर्सीमा हेर्न कम्तिमा अझै एक सिजन कुर्नुपर्ने भएको छ ।

पछिल्लो समय पीएसजी छाड्ने चर्चा चलेपनि एमबाप्पे आफैंले त्यस सम्भावना नरहेको बताएका छन् । बिइन स्पोर्ट्ससँग बोल्दै एमबाप्पेले कम्तिमा एक सिजन फ्रान्सेली क्लबमा नै रहेर उपाधि जित्ने लक्ष्य रहेको बताए । ‘म पेरिसमा छु र यसै योजनाको साथ बस्न चाहन्छु,’ उनले भने, ‘मैले अर्को सिजन यहीं रहेर धेरै भन्दा धेरै उपाधि जित्ने लक्ष्य राखेको छु ।’

एमबाप्पेले अर्को सिजन विशेष रहने बताउँदै त्यसमा आफू पनि उपस्थित हुन लालायित रहेको बताए । ‘ म यस क्लबमा चौथो सिजन बिताउन लागिरहेको छु । अर्को सिजन क्लबको ५० औं वार्षिकोत्सव हो । समर्थक र टोलीले हामीबाट धेरै अपेक्षा गरेका छन् । हामी सकेसम्म सबै उपाधि जित्ने प्रयास गर्नेछौं,’ उनले भने ।

एमबाप्पेको यो अभिव्यक्तिले उनी कम्तिमा पनि अर्को सिजनसम्म पीएसजी बस्ने प्रष्ट छ । कोरोनाका कारण यसैपनि रियलले ठूलो अनुबन्धन नगर्ने क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले बताइसकेका छन् । अर्को सिजनको समापनपछि भने रियलले आफ्नो मुख्य खेलाडीको रुपमा एमबाप्पेलाई स्वागत गर्न सक्नेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्