चेल्सीलाई लिभरपुलको चुनौती – Janadesh Daily | ePaper

चेल्सीलाई लिभरपुलको चुनौती


एजेन्सी इंग्लिस प्रिमियर लिगमा आज राति ३७औं चरणको दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । शीर्ष चारको दौडमा रहेको चेल्सी र म्यानचेस्टर युनाइटेडले आ–आफ्नो प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दैछन् ।

चेल्सीले यो सिजनको प्रिमियर लिगको च्याम्पियन बनिसकेको लिभरपुलसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयअनुसार एनफिल्डमा राति १ बजे शुरु हुनेछ । आजको खेलपछि नै लिभरपुलले प्रिमियर लिगको उपाधि उचाल्नेछ ।

शीर्ष चारको यात्रालाई थप बलियो बनाउन चेल्सीलाई लिभरपुलविरुद्धको खेल निकै महत्त्वपूर्ण छ । चेल्सी घरेलु टोली लिभरपुललाई पराजित गर्दै शीर्ष चारको यात्रालाई थप बलियो बनाउने लक्ष्यसहित मैदान उत्रनेछ ।

चेल्सीका लागि ओलिभर जिरुउड, मासन माउन्ट, क्रिस्टियन पुलिसिस, विलियन, मार्काेस अलन्सो, माटियो कोभासिस, जर्गिन्हो र कप्तान सेजर एज्पिक्वेटाको साथ रहनेछ । लिभरपुलसँग पराजित भएको अवस्थामा चेल्सीको शीर्ष चारको यात्रा कमजोर बन्नेछ ।

यता, च्याम्पियन लिभरपुल पनि घरेलु मैदानमा चेल्सीलाई पराजित गर्दै अंक दुरी थप बढाउने लक्ष्यमा हुनेछ । मोहम्मद सलाह, साडियो माने, रोबर्टाे फिर्मिन्हो, फाविन्हो, जर्जिन्हो विज्नाल्ड, भर्जिल भान डाइक र गोलरक्षक एलिसन बेकरजस्ता स्टार खेलाडीको साथ रहेको लिभरपुलले जुनसुकै बेलापनि नतिजा हत्याउन सक्दछ ।

पछिल्लो २७ खेलको नतिजा हेर्दा यि दुई टोलीबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ । ९ खेल लिभरपुलले जित्दा ९ खेल चेल्सीले आफ्नो पक्षमा पारेको छ । ९ खेल बराबरीमा टुंगिएको छ ।

पछिल्लोपटक एफए कपको पाँचौ चरणमा चेल्सीले लिभरपुललाई २–० ले पराजित गरेको थियो । त्यसअघि प्रिमियर लिगमा चेल्सी लिभरपुलसँग २–१ ले पराजित भएको थियो ।

३६ चरणको खेल सकिदा च्याम्पियन लिभरपुलको ९३ अंक छ । चेल्सी ६३ अंक जोडेर तेस्रो स्थानमा छ । चेल्सीभन्दा तल लेस्टर सिटी र म्यानचेस्टर युनाइटेड समान ६२ अंक जोडेर तेस्रो र चौथो स्थानमा रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्