बाँदर धपाउन कृषकलाई उपकरण – Janadesh Daily | ePaper

बाँदर धपाउन कृषकलाई उपकरण


खोटाङ ः

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका कृषकलाई बाँदर धपाउने उपकरण उपलब्ध गराइएको छ ।

सोल्मास्थित कृषि सहकारी संस्थाले महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्र काठमाडौँबाट दश वटा उपकरण खरिद गरेर कृषक समूहलाई निःशुल्क उपलब्ध गराएको हो । किसानले लगाएको बालीनाली बाँदरले सखाप पार्न थालेपछि प्रतिवटा रु दुई हजार ५०० का दरले उपकरण खरिद गरेर कृषक समूहलाई उपलब्ध गराइएको सहकारी संस्थाका सचिव गङ्गाबहादुर विश्वकर्माले बताउनुभयो ।

“वर्षेनी हुल बाँधेर आउने बाँदरले बालीनाली सखाप पारेपछि किसान हैरानीमा परेका छन्”, उहाँले भन्नुभयो, “बाँदरलाई तर्साएर धपाउन उपकरण प्रदान गरिएको हो ।” हुलका हुल आउने बाँदरले घरमा राखिएको मकै तथा अन्य अन्नबालीसमेत बोकेर लान थालेपछि न्यूनीकरण गर्न उपकरण प्रदान गरिएको सचिव विश्वकर्माले जानकारी दिनुभयो ।

“युपिभिसी पाइपबाट निर्माण गरिएको उपकरणमा कारबाइड र पानीको मिश्रण राखेर पछाडिबाट लाइटरको सहायताले आगो लगाएर पड्काउने गरिन्छ”, उहाँले भन्नुभयो, “ठूलो आवाजमा पड्किँदा बाँदर तर्सेर भाग्ने गर्दछ ।” स्याङ्जाका भूपेन्द्र कोइरालाले बाँदर आतङ्कबाट बच्न सो उपकरणको आविष्कार गर्नुभएको थियो ।

सहकारीले खरिद गरेर ल्याएको बाँदर धपाउन उपकरण गत शनिबार दिक्तेलस्थित हर्कपुरको फेदीमा दुई पटक परीक्षण समेत गरिएको थियो । जिल्लामै पहिलो पटक ल्याइएको बाँदर धपाउने उपकरण प्रयोगका लागि जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराइएको सहकारी संस्थाले जनाएको छ ।

सो प्रविधिको उपकरण सरल र सस्तो रहेको सहकारी संस्थाको दाबी छ । सोल्माको विभिन्न गाउँमा धेरै बाँदरले सताएपछि किसानलाई वडामार्फत प्राथमिकताका आधारमा निःशुल्क उपकरण प्रदान गरिएको जनाइएको छ । वडाका विभिन्न गाउँका किसानलाई यन्त्रको सुरक्षित प्रयोग गर्ने तरिकासमेत सिकाइएको सचिव विश्वकर्माले बताउनुभयो ।

बाँदरले आतङ्क मच्चाएपछि जिल्लाका अधिकांश खेतीयोग्य जमिन बाँझो छाडिएका छन् । टुसाउँदै गरेका बिरुवादेखि पाकेर थन्क्याउन ठिक्क भएका बालीनालीसमेत बाँदरले विनाश गर्न थालेपछि किसानले खेती गर्न छाडेका हुन् । दश स्थानीय तह रहेको जिल्लामा बाँदर आतङ्क बढ्दै गएपछि उत्तरी क्षेत्रका स्थानीय बासिन्दाले वर्षेनी चन्दा सङ्कलन गरेर धपाउने गरेका छन् ।

बाँदर धपाउन हरेक घरका एक जना किसान अनिवार्य खट्नुपर्ने नियम बनाएर खाजा खर्चबापत स्थानीय बासिन्दाबाट चन्दा सङ्कलन गर्ने गरेका हुन् । बाँदर आतङ्कबाट मुक्ति पाउन जिल्लाका किसान जति पनि खर्च गर्न पनि तयार रहेका बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताउनुभयो ।

खेतबारीमा लगाइएको मकै, गहुँ, कोदो, अलैँची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरालगायतका बालीनाली सखाप बनाएर हैरान पारेपनि हालसम्म बाँदर नियन्त्रणको भरपर्दो विधि फेला परेको छैन ।

बाँदर आतङ्कले हैरान भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले गत फागुन २ गते कृषि सामग्रीसहित विरोध ¥याली प्रदर्शन गरेका थिए । बाँदरपीडित किसानले बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न नगरपालिकासमक्ष माग गर्दै हलो, जुवा, दाँते र कोदालोसहित विरोध ¥याली प्रदर्शन गरेका हुन् ।रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्