कोरियामा २० वर्ष यताकै सबैभन्दा कम आर्थिक वृद्धि – Janadesh Daily | ePaper

कोरियामा २० वर्ष यताकै सबैभन्दा कम आर्थिक वृद्धि


सियोल

दक्षिण कोरियाको अर्थतन्त्र चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २० वर्ष यताकै सबैभन्दा कम आर्थिक वृद्धि भएको केन्द्रीय बैंकले बिहीबार जनाएको छ ।

कोरोनाभाइरसका कारण निर्यात घटेसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको हो । एसियाको चौथो ठूलो अर्थतन्त्र रहेको कोरियाको अर्थतन्त्र अप्रिल–जुन अवधिमा अघिल्लो वर्षको तुलनामा २.९ प्रतिशतले खुम्चिएको छ ।

यसअघि एसियाली आर्थिक संकटको परिणामस्वरुप सन् १९९८ को चौथो त्रैमासिकमा करिब ३.८ प्रतिशतले कोरियाली अर्थतन्त्र खुम्चिएको थियो । साथै त्रैमासिक विवरण अनुसार यसै वर्ष पनि ३.३ प्रतिशतका दरले अर्थतन्त्र खुम्चिएको छ ।

यस्तो अवस्था पनि विगत २० वर्षयता पहिलो पटक देखा परेको हो । दक्षिण कोरियामा चीनको मुख्य भूभागपछि पहिलो पटक कोरोनाभाइरस देखा परेको थियो । तर कोरियाले बाध्यकारी लकडाउन कहिल्यै लगाएन, तर सामाजिक दूरी र मास्क लगाउने कार्यलाई बढावा दिनुका साथै स्वास्थ्य परीक्षणलाई व्यापक बनाएको थियो ।

कोरोनाभाइरस नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गरे पनि कोरियाली अर्थतन्त्रलाई विश्व परिदृश्यले असर पारेको देखिएको छ । कोरियाको अर्थतन्त्र मुख्य रुपमा व्यापार–निर्भर रहेको छ ।

दोस्रो त्रैमासिक अवधिमा कोरियाको निर्यात व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.६ प्रतिशतले घटेको छ । बैंक अफ जापानका अनुसार कोरियाबाट मोटर र कोइला एवं पेट्रोलियम उत्पादनहरुको निर्यात घटेकाले पनि अर्थतन्त्रमा असर परेको हो ।

गत मे महिनामा बैंकले गरेको प्रक्षेपणमा सन् २०२० मा कोरियाली अर्थतन्त्र ०.२ प्रतिशतले खस्कने उल्लेख थियो ।

अन्तर्राष्ट्रिय मुद्राकोषले गत महिना दक्षिण कोरियाको वृद्धि प्रक्षेपणलाई घटाउँदै यस वर्ष वृद्धिदर २.१ प्रतिशत रहने जनाएको थियो ।

विश्वका समुन्नत मुलुकको अर्थतन्त्र भने झण्डै ८ प्रतिशतले खुम्चने मुद्राकोषको अनुमान छ ।

रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्