प्रधानमन्त्रीलाई भेटेर सभापति देउवाद्वारा ध्यानाकर्षण – Janadesh Daily | ePaper

प्रधानमन्त्रीलाई भेटेर सभापति देउवाद्वारा ध्यानाकर्षण


जनादेश काठमाण्डौ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १२० दिन लामो बन्दाबन्दी खुलेपछि आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर कोरोना भाइरस सङ्क्रमण र बाढी पहिरोका सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको छ । बन्दाबन्दीका बाबजुद सङ्क्रमितको सङ्ख्या २० हजार पुग्न लागेको र तीन दर्जनभन्दा बढीको मृत्यु भएको स्थितिमा बन्दाबन्दी खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माण गर्न सभापति देउवाले आग्रह र माग गर्नुभएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । सभापति देउवाले कोरोना परीक्षण पिसिआर प्रविधिबाट मात्रै गर्न आग्रह गर्दै, क्वारेन्टिनहरु अझै पनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएको भन्दै आपत्ति प्रकट गर्नुभएको थियो । सभापति देउवाले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा तीव्रता दिन र बाढी तथा पहिरोमा परेर देशका विभिन्न स्थानमा कयौंँको मृत्यु, कयौं बेपत्ता र सयौं घरबारविहीन भएको हुँदा युद्धस्तरमा कार्य गर्न सरकारलाई आग्रह गर्नुभएको थियो । कोरोना सृजित चुनौतीका कारण उब्जिएका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनले अघि सारेका जायज मागलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न पनि सभापति देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको मुख्य सचिव पौडेलले बताउनुभयो ।

रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्