सङ्खुवासभामा पहिरोका कारण १०४ घर विस्थापित – Janadesh Daily | ePaper

सङ्खुवासभामा पहिरोका कारण १०४ घर विस्थापित


किमाथाङ्का ।

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ मा पहिराका कारण १०४ घर विस्थापित भएका छन् । पहिराको उच्च जोखिम भएपछि सिलिचोङ –१ बेसिन्दा, चेप्चेवालगायत गाउँका १०४ घरपरिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिनुभयो ।

पहिराले बेसिन्दालगायत गाउँ कुनै पनि बेला पहिराले तान्न सक्ने खतरा भएपछि सुरक्षित स्थानमा सारिएको छ । गत असार २८ गते आएको पहिराले बेसिन्दाका नौ घर बगाउँदा ११ जना बेपत्ता भएका छन् । पहिराका कारण सिसुवा, बेसिन्दा र चेप्चेवा गाउँ नै पहिराले जमीन चिराचिरा भएर फाटेको छ । पहिराबाट विस्थापित बेसिन्दाका ५७ घरलाई बेसिन्दाभन्दा माथिको चित्रे डाँडामा अस्थायी बास निर्माण गरी राखिएको प्रजिअ आचार्यले बताउनुभयो ।

त्यस्तै २९ घरपरिवारलाई सिसुवाको बुधबारे बजारमा राखिएको छ । चेप्चेवाका १८ घर परिवारलाई बुधबारे नजीकैको पौखमटार राखिएको प्रजिअ आचार्यको भनाइ छ । बेसिन्दाको पहिराबाट विस्तापित घरपरिवारलाई सुरक्षाकर्मीले अस्थायी आवास निर्माण गरेर राखेको छ । बेसिन्दा पहिराबाट चार जनाको जीवितै उद्धार गरिएको थियो ।

पहिराबाट बेपत्ताको उद्धारका लागि सदरमुकाम खाँदबारीबाट गएको ६० जनाको टोली फर्किएको छ । गत असार २८ गते गएको पहिराबाट ११ जना अझै बेपत्ता छन् । पहिराबाट हराइरहेकाको खोजीका लागि जिल्लाबाट गएको सुरक्षाकर्मीको टोली आठ दिनसम्म खोजी गर्दा पनि फेला पार्न नसकेपछि आइतबार फर्किएको हो । बेपत्ताको खोजी अहिले पनि जारी राखिएको छ ।

पहिराबाट हराइरहेकाको खोजीका लागि जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीको सहयोगमा अहिले पनि पनि खोजीकार्य जारी राखिएको छ । बेपत्ताको खोजीका लागि अहिले ताम्कु र बुधबारे प्रहरीचौकीबाट १३ जना प्रहरीको टोलीले खोजी र निगरानी गरिरहेका छन् ।

पहिरो पीडितलाई प्रदेश नं १ सरकारले हेलिकप्टरमार्फत राहत सामग्र्री पु¥याइसकेको छ । प्रदेश सरकारले पीडितलार्ई १५ क्वीन्टल चामल, दुई क्वीन्टल दाल, १०० लिटर तेल, ५० किलो नून, ५३ पाल, १० बाकस चाउचाउ र १० बाकस बिस्कुट तथा म्याट्ट्रेससहितका राहत सामग्री पीडितलाई दिइसकेको गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले बताउनुभयो । पहिरो पीडितलाई सरकारी तथा निजी क्षेत्रका विभिन्न निकायबाट समेत राहत सङ्कलन गर्ने काम भइरहेको बताइएको छ । हालसम्म विभिन्न सङ्घसंस्थाबाट रु दुई लाखभन्दा बढी सङ्कलन भइसकेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्