प्रशिक्षणको तयारीमा जुट्यो एन्फा – Janadesh Daily | ePaper

प्रशिक्षणको तयारीमा जुट्यो एन्फा


विक्रम गिरी–

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) खेलाडी प्रशिक्षणको तयारीमा जुटेको छ । कोरोना भाइरस सङ्क्रमण महामारीका कारण फुटबल प्रशिक्षण गत चैत महिनादेखि रोकिएको थियो । एन्फाले राजधानीमा तथा बाहिर रहेका राष्ट्रिय फुटबल टोलीका सबै पुरुष खेलाडीलाई प्रशिक्षणका लागि तयार रहन निर्देशन दिएको छ ।

राष्ट्रिय फुटबल टोलीका सबै पुरुष खेलाडीलाई यही साउन १७ गतेसम्म काठमाडौँ बोलाइएको एन्फा प्रवक्ता किरण राईले बताउनुभयो । साउन १७ गतेदेखि ३० गतेसम्म प्रशिक्षणका लागि आउनै सबै खेलाडीलाई क्वारेन्टीनमा राखिने उहाँले बताउनुभयो । राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आगामी भदौ १ गतेदेखि प्रारम्भ हुनेछ ।

उक्त प्रशिक्षण एन्फा कम्पलेक्स सातदोबाटोमा गरिने प्रवक्ता राईले उल्लेख गर्नुभयो । खेलाडीलाई क्वारेन्टीनमा राखी उनीहरुको पिसिआर परिक्षण गरिने छ । त्यसकै नतिजा अनुसार खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइनेछ । सरकारले २०७६ चैत ११ गतदेखि लकडाउन लागू गरेको थियो । लकडाउन लगत्तै फुटबल प्रशिक्षण पनि रोकिएको थियो ।

सरकारले बुधबार लकडाउन खुला गरेसँगै एन्फाले खेलाडी प्रशिक्षणको प्रक्रिया अघि बढाएको हो । खेलाडीका लागि प्रशिक्षण अति आवश्यक भएकाले आफूहरु सरकारको निर्णयको पर्खाइमा रहँदै आएको राईले बताउनुभयो।

नेपालले विश्वकप छनोटअन्तर्गतको खेलका लागि प्रशिक्षण थाल्नेछ । यसअघि एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण शुरु गर्नका लागि युवा तथा खेलकूद मन्त्रालयमार्फत कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)सित अनुमति मागेको थियो । एन्फाले फिफा विश्वकप–२०२२ र एएफसी एसियन कप–२०२३ को छनोट प्रतियोगिताको तयारीका लागि अनुमति मागेको थियो ।

कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित भएको छनोट खेलहरू आगामी अक्टोबर र नोभेम्बरमा गराउने एसियाली फुटबल महासङ्घ (एएफसी) ले फिफालाई प्रस्ताव गरेको छ । स्थगित भएका खेलहरू आगामी अक्टोबर ८ र १३ तारिख तथा नोभेम्बर १२ र १७ तारिखमा गराउने भनिएको छ ।

दोस्रो चरणको छनोटअन्तर्गत नेपालले अब तीन खेल खेल्न बाँकी छ । ती सबै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ । नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्नेछ । समूह ‘बी’ मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अङ्क जोडेर चौथो स्थानमा छ । नेपालले चाइनिज ताइपेईलाई हराएको थियो । अन्य चार खेलमा पराजित भएको थियो ।

खेलाडीहरु प्रशिक्षण गर्न पाउने भएपछि उत्साहित भएका छन् । लामो समयदेखि प्रशिक्षणको पर्खाइमा रहेको र अब केही राहत मिलेको राष्ट्रिय फुटबल टोलीका खेलाडी विक्रम लामाले बताउनुभयो । लकडाउन खुलेसँगै खेल्ने वातावरण बन्नेमा आफू आशावादी बनेको उहाँले उल्लेख गर्नुभयो ।

घरेलु मैदानमा हुने तीन खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्नुपर्ने नेपाली खेलाडी सामु चुनौती रहेको उहाँको बुझाइ छ । नेपाली टोलीले अबका खेलमा आफ्नो प्रदर्शनमा सुधार ल्याउने लामाले बताउनुभयो । पुरुष टोलीलाई प्रशिक्षका लागि तयारी अवस्थामा रहन एन्फाले निर्देशन दिए पनि राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षणको भने कुनै टुङ्गो छैन ।

राष्ट्रिय महिला फुटबल टोलीकी महत्वपूर्ण खेलाडी सावित्रा भण्डारीले महिला खेलाडीको प्रशिक्षण अन्योलमा रहेको बताउनुभयो । प्रशिक्षणबारे कुनै जानकारी प्राप्त नभएको उहाँले उल्लेख गर्नुभयो । भण्डारी सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आवद्ध हुनुहुन्छ । एपीएफमा आवद्ध धेरै खेलाडीहरु नेपाल–भारत सीमाको सुरक्षार्थ खटिएको भण्डारीले बताउनुभयो ।

रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्