रियलले अर्को सिजन बेच्नैपर्ने ४ खेलाडी – Janadesh Daily | ePaper

रियलले अर्को सिजन बेच्नैपर्ने ४ खेलाडी


एजेन्सी स्पेनिस च्याम्पियन रियल म्याड्रिडले कोरोना भाइरस संक्रमणले सिर्जना गरेको प्रतिकुल अवस्थाका कारण झन्डै २ सय मिलियन युरो घाटा बेहोर्नुपर्यो । त्यसैले यस सिजन क्लबले आवश्यक नपरेका खेलाडी बेचेर भएपनि केहि रकम उठाउने योजना बनाएको छ ।

रियलले खेलाडी बेचेर ट्रान्सफर रकमसँगै ती खेलाडीको तलब दिनु नपर्दा केहि बचत समेत हुने सोचका साथ खेलाडी बेच्ने प्रक्रिया सुरु गर्नेछ । यस्तो अवस्थामा सम्झौताको अन्त्यतिर रहेका कोलोम्बियन मिडफिल्डर हामेस रोड्रीग्वेजको नाम अग्रपंक्तिमा छ । हामेसको सम्झौता अर्को सिजन समाप्त हुँदैछ । त्यसैले उनको मोटो तलब कम गर्न र उनलाई बेचेर भएपनि रियल केहि रकम आर्जन गर्न चाहन्छ ।

हामेसले हाल प्रति सिजन ८ मिलियन युरो कमाइरहेका छन् । कोरोनाको बिकराल परिस्थितिमा उनलाई अन्य क्लबले यसै किसिमको तलब दिने सम्भावना कम छ । त्यसैले पनि २९ वर्षीय मिडफिल्डरको अन्य क्लबमा ट्रान्सफर सहज हुने छैन । रोड्रीग्वेजलाई अनुबन्ध गर्न बेन्फिका, इन्टर मिलान, एसी मिलान र म्यानचेस्टर युनाइटेडले इच्छा देखाएका छन् । आर्थिक कारणले गर्दा युनाइटेडको सम्भावना बढी देखिन्छ ।

रियलले बेच्न प्राथमिकतामा राखेका अर्का खेलाडी ग्यारेथ बेल हुन् । सन् २०२२ सम्म सम्झौता रहेका बेलले हाल वार्षिक १७ मिलियन युरो आर्जन गर्छन् । रियलले बेललाई अन्यत्र क्लबमा बेच्न चाहेपनि उनको मोटो तलबको माग समस्या हुन सक्छ । बेल आफैंले पनि सकेसम्म रियलमा आफ्नो सम्झौता पुरै समय बिताएर मात्र बाहिरिने सोच बनाएको बताएका छन् ।

बेल र हामेससँगै रियल म्याड्रिडले फरवार्डद्वय मारियानो डियाज र लुका जोभिचलाई पनि बिदा गर्न सक्छ । अर्को सिजन लोनबाट फर्केका र क्लबमै रहेका सिनियर खेलाडी गर्दा रियलमा ३७ खेलाडी हुनेछन् । हाल रियलबाट ११ खेलाडी अन्यत्र क्लबमा लोनमा गएका छन् । जोभिच र डियाजको हकमा भने अन्य क्लबले रियलले अपेक्षा गरेअनुसार प्रस्ताव आए क्लबले रोक्ने देखिन्न । दुवै फरवार्ड रियलको स्तरमा खेल्न नसक्ने देखिएकाले पनि क्लबले उनीहरुलाई नरोक्ने भएको हो ।

प्राथमिकतामा रहेका यी ४ खेलाडीबाहेक रियलले राम्रो प्रस्ताव आए दोस्रो रोजाइमा रहेका केहि अन्य खेलाडीलाई पनि जान दिन सक्छ । लुका मोड्रीच, नाचो फर्नान्डेज र लुकास भाज्केज पनि रियलको दिर्घकालिन योजनामा छैनन् । यसबाहेक लोनबाट फर्कने अधिकांश खेलाडीलाई रियलले बेच्ने प्रयास गर्नेछ ।

ड्यानी सेबालोस, अल्भारो ओड्रीओजोला, ओस्कार रोड्रीग्वेज, जेसस भालेहो, बोर्जा मायोरल, अल्बर्टो सोरो र जोर्गे डे फ्रुटोसलाई क्लबले अन्यत्र पठाउने लगभग पक्का छ । मार्टिन ओडेगार्ड र टाकेफुसा कुबोको हकमा भने रियलले अझै केहि समय लिनेछ । हाल रियलको  सिनियर टोलीमा स्थान नभएपनि भविष्यका लागि भने यी दुई योजनामा छन् । त्यसैले दुवै खेलाडी लोनमा अन्य क्लबबाट खेल्नेछन् ।

ओडेगार्ड पुन: अर्को सिजन रियल सोसीडाडमै रहने प्रबल सम्भावना छ । कुबोसँगै सर्जियो रेगुइलोन र ब्राहिम डियाज भने अन्य क्लबको जर्सीमा देखिनेछन् । आन्द्रेइ लुनिन भने अर्को सिजन दोस्रो रोजाईको गोलरक्षकका रुपमा रियलकै सिनियर टोलीमा हुनेछन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्