युभेन्टस आजै च्याम्पियन बन्न सक्ने ! – Janadesh Daily | ePaper

युभेन्टस आजै च्याम्पियन बन्न सक्ने !


एजेन्सी इटालियन सिरी ए अन्तर्गत बिहीबार राती हुने खेलमा उडीनेजेलाई पराजित गरे युभेन्टसले लगातार नवौं पटक लिग उपाधि जित्नेछ । उक्त खेल नेपाली समयअनुसार उडीनेजेको मैदानमा राति ११ः१५ बजे हुनेछ ।

अंक तालिकाको शीर्षस्थानमा रहेको युभेन्टसको ८० अंक रहेको छ । युभेन्टसले आजको खेलमा जित दर्ता गरे दोस्रो स्थानको एटलान्टालाई ९ अंकले पछि पार्नेछ । लिगको तीन चरणका खेल मात्र बाँकी रहेको अवस्थामा यस जितले युभेन्टसलाई कीर्तिमानी उपाधिसम्म पुर्याउनेछ ।

युभेन्टसले आजको खेल जितेमा तीन खेल बाँकी रहँदा युभेन्टस र एटलान्टाबीच ९ अंकको फरक रहनेछ । बाँकी खेलमा एटलान्टाले सबै जितेर युभेन्टसले बाँकीमा हार बेहोरेपनि दुवै टोलीको अंक बराबर हुनेछ । यस्तो अवस्थामा युभेन्टस र एटलान्टाबीच हेड टु हेड नतिजा हेरिनेछ । हेड टु हेडमा युभेन्टसले एटलान्टाको मैदानमा ३-१ को जित दर्ता गर्दा दोस्रो खेल २-२ को बराबरीमा सकिएको थियो ।

आजको खेलमा सबैको नजर उच्च फर्ममा रहेका फरवार्ड क्रिस्टियानो रोनाल्डोमा हुनेछ । लिगको सर्वाधिक गोलकर्ता सुचीमा रोनाल्डो र लाजियोका चिरो इम्मोबिले समान ३०-३० गोलमा छन् । लाजियोले पनि आज नै काग्लियारीको सामना गर्दैछ । रोनाल्डोले पछिल्लो खेलमा २ गोल गर्दै समग्रमा इटालीको शीर्ष लिगमा ५० गोल समेत पूरा गरेका थिए ।

युभेन्टसमा रोनाल्डोसँगै पाउलो डिबाला, मिरालेम प्यानिच, एलेक्स सान्द्रो, जुवान क्वार्डाडो र म्याथिज डि लिग्ट जस्ता खेलाडी रहेका छन् । यता, उडिनेजे पनि घरेलु मैदानमा युभेन्टसलाई स्तब्ध पार्दै अंक तालिका सुधार गर्ने योजनामा हुनेछ । उडिनेसी ३६ अंक जोडेर १६औं स्थानमा छ । रेलिगेसन क्षेत्रबाट टोली ४ अंक अगाडि छ ।

आज नै अर्काे खेलमा लाजियो र काग्लिएरीबीच राति १ः३० बजे प्रतिस्पर्धा हुदैछ । काग्लिएरीलाई हराए लाजियोले शीर्ष चारमा आफ्नो स्थान पक्का गर्नेछ । लाजियो ६९ अंक जोडेर चौथो स्थानमा तथा काग्लिएरी ४२ अंक जोडेर १३औं स्थानमा छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्