जसले एकै सिजनमा रियल र बायर्नबाट लिग जिते – Janadesh Daily | ePaper

जसले एकै सिजनमा रियल र बायर्नबाट लिग जिते


एजेन्सी । हरेक खेलाडीका लागि सिजनको सुरुवातमा लिग उपाधि जित्नु मुख्य लक्ष्य हुन्छ । लिगमा कमजोर प्रदर्शन भए कम्तिमा कप उपाधिले चित्त बुझाउने धेरै हुन्छन् । अझ ठूला टोलीका खेलाडीले लिग र कप दुवैलाई प्राथमिकतामा राख्छन् । तर कमै खेलाडीले एकै सिजनमा दुई पटक लिग जित्ने उपलब्धि हासिल गर्छन् ।

यस सिजन स्पेनिस डिफेन्डर अल्भारो ओड्रीओजोलाले यस्तै दुर्लभ उपलब्धि हासिल गरेका छन् । रियल म्याड्रिडका राइट ब्याक उनले सिजनको दोस्रो हाफ जर्मन टोली बायर्न म्युनिखका लागि खेलेका थिए । स्पेनमा रियल म्याड्रिडले ला लिगा जित्दा जर्मनीमा बायर्न म्युनिख बुन्डेसलिगा च्याम्पियन बन्यो । ओड्रीओजोलाले दुवै टोलीबाट विजेता बनेका कारण मेडल प्राप्त  गर्नेछन् ।

२४ वर्षीय ओड्रीओजोलाले रियल म्याड्रिडमा सिजनको अघिल्लो भाग खेलेका थिए । उनले रियलको जर्सीमा ४ खेल ला लिगा तथा १ खेल च्याम्पियन्स लिगमा खेले । रियलमा ड्यानी कार्भाजल पहिलो रोजाईको राइट ब्याक रहेको र विकल्पमा फर्लान्ड मेन्डीले खेल्न सक्ने भएकाले बायर्नको लोनमा लिने प्रस्तावलाई रियलले स्वीकारेको थियो ।

ओड्रीओजोलाले बायर्नमा पुगेर पहिलो रोजाईमा भने खेल्न पाएनन् । उनले ४  खेल खेल्ने क्रममा १ सय ६० मिनेट मैदानमा बिताए । लिग सकिएपनि बायर्नले उनको लोन सम्झौता च्याम्पियन्स लिगको अन्त्यसम्मका लागि बढाएको छ । उनी डिफेन्समा विकल्पका रुपमा रहेका छन् ।

ओड्रीओजोलाले बायर्नसँग रहेर यस सिजनको डीएफबि पोकाल पनि जितिसकेका छन् । बायर्नले लेभरकुसनलाई पराजित गर्दै उक्त उपाधि उचालेको थियो । अब बायर्न सिजनको तेस्रो उपाधिका रुपमा च्याम्पियन्स लिग उपाधिका लागि भिडिरहेको छ । ओड्रीओजोलाले व्यक्तिगत रुपमा चौथो उपाधि जित्ने सम्भावना अझै जीवित छ ।

रियल सोसीडाडको एकेडेमीमा हुर्केका ओड्रीओजोलाले सन् २०१७ मा सिनियर टोलीबाट ला लिगामा डेब्यु गरे । सन् २०१८ मा रियलले उनलाई खरिद गरेको हो । रियलमा दोस्रो रोजाईमा खेलेका उनी स्पेनको सिनियर टोलीबाट समेत खेलिसकेका छन् । उनले स्पेनको यू-२१ उमेर समूहमा पनि खेलेका थिए । स्पेन सन् २०१७ मा युरो यू-२१ को फाइनलमा पराजित हुँदा उनी टोलीका सदस्य थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्