बालुवाटार पुग्यो लकडाउनको प्रस्ताव, सिसिएमसीसँगको बैठकमा प्रधानमन्त्रीको यस्तो जवाफ – Janadesh Daily | ePaper

बालुवाटार पुग्यो लकडाउनको प्रस्ताव, सिसिएमसीसँगको बैठकमा प्रधानमन्त्रीको यस्तो जवाफ


जनादेश अपडेट ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले स्वास्थ्य मन्त्रालयको प्रस्ताव अनुसार लकडाउनको प्रस्ताव प्रधानन्त्री केपी ओली समक्ष पुर्‍याएको छ ।

शनिबार साँझ बालुवाटारमा उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित ८ मन्त्री, १२ जना सचिव, सुरक्षा अंगका प्रमुखहरु र अन्य केही कर्मचारीको संलग्नतामा बसेको महत्वपूर्ण बैठकमा कोरोनाको बढ्दो जोखिमबारे प्रधानमन्त्रीसमक्ष ब्रिफिङ गरिएको थियो ।

बैठकमा सीसीएमसीको निर्देशक समितिमा आवद्ध मन्त्री तथा सचिवहरूको सहभागिता थियो । त्यहाँ कोरोनाको जोखिम, यसमा भइरहेका प्रयासहरु, सरकारले भोगिरहनुपरेका समस्याबारे कर्मचारीका तर्फबाट प्रस्तुती गरिएको थियो ।

शनिबारको ब्रिफिङमा सरकारले बैशाख ६ गते जारी गरेको आदेश कतैबाट पनि पालना नभएका कारण जोखिम बढ्न सक्ने भन्दै यस्तो अवस्थामा यातायातमा जोरबिजोर प्रणाली लागू गर्ने र कार्यकालमा आधा कर्मचारीमात्र राख्ने प्रावधानमा जानुपर्ने हुन सक्ने सरकारी कर्मचारीले प्रधानमन्त्री र मन्त्रीहरुलाई सुझाएका थिए । लकडाउन गर्नुपर्ने हुन सक्छ भन्ने निष्कर्ष निस्किए पनि त्यसबारे कुनै निर्णय भएको छैन ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि तत्कालै देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था नरहेको जवाफ दिएका थिए । उनले अहिले नै देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएका हुन्।

यस्तै, प्रधानमन्त्री ओलीले पछिल्लोपटक सरकारले गरेको निर्णयलाई कडाइको साथ लागू गर्न निर्देशन दिएका छन्। यद्यपि शनिबार नै ओली भीडभाडका साथ धरहराको उद्घाटन गरेपछि बालुवाटार फर्केका थिए ।

नेपालमा दैनिक दुई हजार बढीको दरमा काेराेना संक्रमित थपिन थालेका छन्। शनिबार मात्रै २ हजार ४८६ जना कोरोना संक्रमित थपिएका छन्। कोरोना संक्रमण फैलिने क्रम बढेपछि काठमाडाैं तथा ठूला सहरका विद्यालय बन्द गरिएकाे छ भने रात्रीकालीन व्यवसायलाई पनि राति ८ बजेपछि सञ्चालनकाे अनुमति दिइएकाे छैन।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्