संसारकै सर्वाधिक चौथो धनी बिल गेट्सका दम्पतिको २७ वर्षमा ब्रेकअप, सम्बन्ध विच्छेदको घोषणा – Janadesh Daily | ePaper

संसारकै सर्वाधिक चौथो धनी बिल गेट्सका दम्पतिको २७ वर्षमा ब्रेकअप, सम्बन्ध विच्छेदको घोषणा


अन्तर्राष्ट्रिय अपडेट ।

बिल गेट्स र मेलिन्डा गेट्सले सम्बन्ध विच्छेदको घोषणा गरेका छन् । २७ वर्ष साथमा रहेपछि उनीहरुले वैवाहिक सम्बन्ध अन्त्यको घोषणा गरेका हुन् ।

सम्बन्ध विच्छेदको घोषणा गर्दै उनीहरुले भनेका छन्, ‘हामी दम्पतीका रुपमा अब हामीसँगै विकसित हुन सक्ने छौँ भन्ने विश्वास छैन ।’

दम्पतीले ट्वीटरमा लेखेका छन्, ‘राम्रो सोच विचार तथा सम्बन्ध सुधारका लागि धेरै काम गरेपछि हामी वैवाहिक सम्बन्ध अन्त्यको निर्णयमा पुगेका छौँ ।’

सन् १९८० को दशकमा मेलिन्डाले बिलको माइक्रोसफ्टमा काम थालेपछि उनीहरुको भेट भएको थियो । उनीहरुका तीन सन्तान छन् ।

उनीहरुले संयुक्त रुपमा बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशन सञ्चालन गर्दै आएका छन् । यो संस्थाले संक्रामक रोग नियन्त्रण प्रयासका लागि अर्बौँ डलर खर्च गरेको छ भने बालबालिकालाई खोप सहयोग गर्ने गरेको छ ।

गेट्स दम्पतीसहित लगानीकर्ता वारेन बफेटले धनीहरुले आफ्नो सम्पत्तीको ठूलो हिस्सा मानवीय हितका लागि दिनु पर्ने भन्दै अपिल गर्दै आएका छन् ।

फोर्ब्सका अनुसार बिल गेट्स विश्वका धनी व्यक्तिको सूचिमा चौथो स्थानमा छन् । उनको सम्पत्ती १२४ बिलियन अमेरिकी डलर बराबर छ ।

उनले सन् १९७० को दशकमा स्थापना गरेको माइक्रोसफ्टबाट सम्पत्ती आर्जन गरेका हुन् । विश्वको ठूलो सफ्टवेयर कम्पनीका रुपमा माइक्रोसफ्ट रहँदै आएको छ ।

बिल र मेलिन्डा गेट्सले सम्बन्ध विच्छेदको निर्णयमा पुगेको जानकारी दिने वक्तव्य ट्वीटरमा पोस्ट गरेका छन् ।

फाउन्डेशनमा सँगै काम गर्ने पनि उनीहरुले बताएका छन् । तर जीवनको अबको चरणमा दम्पतीका रुपमा आफूहरु सँगै थप विकसित हुने विश्वास नरहेकाले अलग हुने निर्णय लिएको उनीहरुले बताएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्