खासमा बुढानिलकण्ठमा के भयो, ओली र देउवाले एक अर्कालाई के भने – Janadesh Daily | ePaper

खासमा बुढानिलकण्ठमा के भयो, ओली र देउवाले एक अर्कालाई के भने


जनादेश अपडेट ।
अल्पमतमा रहेका र संसदमा विश्वासको मत लिनका लागि विशेष अधिवेशन आह्वान गरेका प्रधानमन्त्री केपी ओली सरकार टिकाउन लागिपरेका छन् ।

यही क्रममा केही मन्त्री र पार्टीका नेताको साथमा बुधबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पुगे ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल र सुवास नेम्वाङलाई लिएर प्रधानमन्त्री ओली देउवा निवास पुगेर कांग्रेस नेताहरूसँग छलफल गरेका थिए।

उक्त छलफलमा कांग्रेसका शीर्ष नेता पनि सहभागी थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सहमहामन्त्री प्रकाशशरण महत रहेको उक्त छलफल मुख्यगरी ‘सत्ता सहकार्य’बारे केन्द्रीत थियो।

दुई पार्टीका शीर्ष नेताहरूबीच करिब एक घण्टा कुराकानी भएको थियो। कुराकानीको सुरूवात गर्दै प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए।

सहमहामन्त्री प्रकाशशरण महतका अनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दै सहकार्यको प्रस्ताव पनि गरेका थिए। तर सभापति देउवाले प्रधानमन्त्री ओलीको प्रस्तावलाई स्वीकार गर्न नसकिने बताए।

ओली सहितका नेताहरु विश्वासको मत दिन कांग्रेससँग सहयोग मागेको तर कांग्रेसले सहयोग गर्न नसक्ने स्पष्ट पारेको सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए ।

उनले भने,‘आज प्रधानमन्त्रीसहितको मुलभुत रुपमा विश्वासको मत मैले लिइरहेको छु । कांग्रेसको सहयोगको अपेक्षा गरेको छु भनेर भन्नुभयो । हामीले तपाईंलाई सहयोग गर्ने अवस्था छैन भन्ने स्पष्ट राख्यौं ।’

प्रधानमन्त्री ओलीको सहकार्य प्रस्तावबारे सभापति देउवाले आफूहरू विपक्षी पार्टी भएकोले पनि विश्वासको मत दिन नसकिने बताएका थिए । संवैधानिक परिषदलगायत अध्यादेश संसद छलेर ल्याइएकोमा देउवाले प्रधानमन्त्री ओलीसँग असन्तुष्टि जनाए।

प्रधानमन्त्री ओलीले अपेक्षा गरेजस्तो संसदबाट विश्वासको मत दिएर अहिले जान सक्ने अवस्थामा कांग्रेस नरहेको देउवाले प्रष्टाएका छन्।

कोरोना महामारी नियन्त्रणमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण पनि कांग्रेसले गरेको छ ।

प्रधानमन्त्रीसँगको छलफलका क्रममा कोरोना महामारीको विषयमा समेत ध्यनाकर्षण गराएको महतले जानकारी दिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्