कोरोनाको अत्यासलाग्दो आँकडाः करिव ७० हजार सक्रिय संक्रमितः १ सय २७ प्रतिशतको वृद्धि – Janadesh Daily | ePaper

कोरोनाको अत्यासलाग्दो आँकडाः करिव ७० हजार सक्रिय संक्रमितः १ सय २७ प्रतिशतको वृद्धि


जनादेश हेल्थ डेस्क ।

नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको सख्या करिव ७० हजार पुगेको छ । पछिल्लो केही दिन यता निको हुने भन्दा नयाँ संक्रमित थपिनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या ६६ हजार नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ रहेको छ । जसमध्य काठमाडौँ उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ३० हजार १५५ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो विवरण अनुसार काठमाडौँमा मात्रै सक्रिय संक्रमितको संख्यामा २२ हजार ८०८ रहेको छ । यसैगरी काठमाडौँमा हालसम्म निको भएकाहरुको संख्या १ लाख ९ हजार ६९३ रहेको छ भने ८०३ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म काठमाडौँमा मात्रै कोरोना संक्रमितको संख्या १ लाख ३३ हजार ३०४ पुगेको छ ।

त्यस्तै ललितपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा ४६ सय रहेको छ । ललितपुरमा हालसम्म निको भएकाहरुको संख्या १७ हजार २६० रहेको छ भने २२६ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म ललितपुरमा मात्रै कोरोना संक्रमितको संख्या २२ हजार ८६ पुगेको छ ।

यसैगरी भक्तपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा २७ सय ४७ रहेको छ । भक्तपुरमा हालसम्म निको भएकाहरुको संख्या ९ हजार ७१७ रहेको छ भने १६५ जनाले ज्यान गुमाएका छन् ।

यो सहित हालसम्म भक्तपुरमा मात्रै कोरोना संक्रमितको संख्या १२ हजार ६ सय २९ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

अत्यास लाग्दो आँकडाः झण्डै १२७ प्रतिशत वृद्धिसहित संक्रमण बढ्दो
बुधबार स्वास्थ्य मन्त्रालयले गरेको प्रेस व्रिफिङमा उपस्थित भएकी काठमाडौं विश्वविद्यालयको जनस्वास्थ्य विभागकी सह–प्राध्यापक डा अर्चना श्रेष्ठले नेपालमा झण्डै १२७ प्रतिशत वृद्धिसहित संक्रमण बढ्दो दरमा रहेको बताइन् ।

अरु देशको तुलनामा अझै पनि नेपालमा संक्रमण फैलिरहेको पाइएको उनको भनाई छ । अघिल्लो साताको तुलनामा यो साता संक्रमितको संख्या बढेको तथ्यांक प्रस्तुत गरेकी उनले लुम्बिनीमा सर्वाधिक ३८४ प्रतिशत संक्रमित बढेको बताइन् । यस्तै सुदूरपश्चिममा १९८, कर्णालीमा १०५ , गण्डकीमा १०९, बागमतीमा १२२, प्रदेश २ मा १३० र प्रदेश १ मा १४७ प्रतिशत संक्रमित बढेको उनको भनाइ छ । यो तथ्यांकले देशभित्रै प्रदेशगत रुपमा हेर्दा पनि संक्रमण द्रुत गतिमा फैलिरहेको पुष्टि हुने उनको भनाइ छ ।

उनले भनिन्, ‘अघिल्लो हप्ताको तुलनामा यो हप्ता हेर्ने हो भने सबै प्रदेशमा १०० प्रतिशत भन्दा बढी संक्रमित को संख्यामा वृद्धि भएको देखिन्छ ।’

प्रत्येक दिन संक्रमितको संख्या प्रति १ लाख जनसंख्यामा १० प्रतिशत भन्दा बढी भएको खण्डमा महामारी फैलिएको भन्ने बुझिने भन्दै उनले नेपालका धेरैजसो जिल्लामा व्यापक रुपमा संक्रमण फैलिसकेको बताइन् ।

उनले एक तिहाइमा संक्रमण पुष्टि भएपछि लुकेका दुई तिहाइ संक्रमितको संख्या आउन बाँकी हुने बताउँदै भनिन्, ‘गत वर्ष अधिक लगभग ५ हजारको संख्यामा संक्रमित देखिएका थिए, आज नै ८ हजारमाथि संक्रमितको संख्या देखिइसकेको छ । यसले के बुझिन्छ भने अघिल्लो वर्षभन्दा एकदमै द्रुतगतिमा संक्रमण फैलिरहेको छ ।’

संक्रमण फैलिनुको विभिन्न कारण हुन सक्ने भन्दै उनले त्यसमध्ये एउटा कारण नयाँ भेरियन्ट भएको बताइन् । नेपालमा परीक्षणमा पोजेटिभ देखिने दर ३३ प्रतिशत भन्दा बढी पुगिसकेको भन्दै उनले यो एकदमै धेरै भएको बताइन् ।

नेपालमा दैनिक मृतकको संख्या बढ्दै गइसकेको भन्दै उनले परीक्षण दर थप बढाइनुपर्नेमा सुझाव उनको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्