यसरी जन्मियो ब्ल्याकपिंक – Janadesh Daily | ePaper

यसरी जन्मियो ब्ल्याकपिंक


“फरक पृष्ठभूमिका चार महिला जसलाई संगीतले एक बनायो”

के-पप (कोरियाली पप संगीत)मा बिटिएसपछि अहिले संसारभर सर्वाधिक चर्चा कमाउने महिला संगीत ब्यान्ड हो, ब्ल्याकपिंक । ब्ल्याकपिंक बिलबोर्ड्स हट १०० (गीतको बिक्री, रेडियोमा बज्ने समय र अनलाइन स्ट्रिमिङको आधारमा हुने रेकर्ड चार्ट)को शीर्ष स्थान ओगट्ने कोरियाली महिला संगीत समूह हो । कोचेला फेस्टिभलमा प्रस्तुति दिने पहिलो कोरियाली महिला संगीत समूहको रुपमा यो ब्यान्डले आफ्नो पहिचान बनाइसकेको छ ।

तस्बिर : बिलबाेर्ड डटकम

संगीत क्षेत्रमा डेब्यु गरेदेखि नै चार सदस्यको यो ब्यान्डले युट्युबको रेकर्ड तोड्दै आएको छ । सन् २०१९ मा रिलिज भएको ‘किल दिस लभ’, २०२० मा आएको ‘हाउ यु लाइक द्‌याट’ बोलको गीतले सार्वजनिक भएको २४ घण्टामा सबैभन्दा धेरै हेरिएको म्युजिक भिडियोको रेकर्ड बनायो । ब्यान्डका चार म्युजिक भिडियोको युट्युब भ्युज बिलियन बढी छ ।

जेनी, रोजी, लिसा र जीसु ब्यान्डका चार सदस्य हुन् । यो समूहले सन् २०१६ मा ‘स्क्वायर वान’ नामक एल्बमबाट संगीत क्षेत्रमा डेब्यु गरेको हो । ‘स्क्वायर वान’मा समावेश ‘विसल’, ‘बुम्बाया’ले बिलबोर्ड वर्ल्ड डिजिटल सङ सेल्स चार्टको पहिलो र दोस्रो नम्बर ओगटेको थियो । साइ र बिग ब्याङपछि बिलबोर्ड वर्ल्ड डिजिटल सङ सेल्सको शीर्ष २ मा बस्न सफल संगीत समूहको रुपमा ब्ल्याकपिंकले चर्चा बटुल्यो ।

ब्यान्डको अर्को गीत ‘एज इफ इट्स योर लास्ट’ पनि बिलबोर्ड वर्ल्ड डिजिटल सङ्सको चार्टमा प्रवेश गरेको थियो । यो गीत ‘के-पप हट १००’ को दोस्रो र गाउन डिजिटल चार्टको तेस्रो नम्बरसम्म पुगेको थियो । सन् २०१८ मा रिलिज भएको ‘डुड डुड डुड ड्यु’ बिलबोर्ड हट १०० को ५५ औं स्थानमा पुग्न सफल भयो । गीतले ब्ल्याकपिंकलाई चार्टको सबैभन्दा शीर्ष स्थानमा बस्ने के-पप महिला सांगितिक समूह बनायो । यो गीत ‘स्क्वायर अप’ एल्बममा समावेश थियो । ‘स्क्वायर अप’ भने ‘बिलबोर्ड हट २००’को चार्टमा परेको थियो ।

यो समूहले सेलेना गोमेजसँग मिलेर सार्वजनिक गरेको आइसक्रिम गीत ‘बिलबोर्ड हट १००’को १३ औं स्थानमा पुग्न सफल भएको थियो ।

फ्रिस्टाइल नृत्यसँगै गायन प्रस्तुतिले स्टेज तताउने ब्ल्याकपिंक लाखौं युवा दर्शकका ढुकढुकी हुन् ।

यस्तो छ ब्ल्याकपिंकको कथा

ब्यान्डका चार सदस्यलाई वाइजी इन्टरटेन्टमेन्टले डेब्यु गराएको हो । वाइजी दक्षिण कोरियामा इन्टरटेन्टमेन्ट एजेन्सीको रुपमा चर्चित छ । वाइजीले सन् २०११ देखि ब्ल्याकपिंकको डेब्युको तयारी सुरु गरेको थियो । त्यतिखेर वाइजीले चारभन्दा बढी सदस्यको महिला समूहलाई डेब्यु गराउने तयारी गरेको थियो । तर ब्ल्याकपिंक सन् २०१६ लन्च भयो । ब्यान्डमा थिए, चार सदस्य ।

फरक पृष्ठभूमिमा हुर्केका ब्यान्डका चार सदस्यलाई गायनले जोडेको हो । जेनी कोरियामा जन्मिन् । १० वर्षको उमेरसम्म राजधानी सोलमै हुर्किन् । एकदिन आमाले उनलाई न्युजिल्यान्ड घुमाउन थिइन् । त्यतिबेलै आमाले,’न्युजिल्यान्ड बस्छौ ?’ भनेर प्रश्न गर्दा उनले ‘हुन्छ’ भनेकी थिइन् । त्यसपछि उनी आमासँगै न्युजिल्यान्डमा बसिन् । जेनी निकै लजालु स्वभावकी थिइन् । भोक लाग्दा फोन गरेर खानेकुरा अर्डर गर्न लजाउँथिन् । अहिले भने मिडियालाई धक नमानी अन्तर्वार्तामा दिन्‍छिन् । १५ वर्षको हुँदा जेनीले अध्ययनका लागि अमेरिका जाने सोचेकी थिइन् । विद्यालय तय भइसकेको थियो । अमेरिका पढ्ने ८० प्रतिशत पक्का भइसकेको थियो । न्युजिल्यान्डमा फर्केर आफ्ना सामाग्री प्याक गर्दै गर्दा अचानक उनलाई गायिका बन्ने मन भयो ।

‘म अध्ययनका लागि अमेरिका जान चाहन्नँ । वास्तवमा मलाई गायिका बन्नु छ भन्ने अनुभव भयो त्यतिखेर । खोइ कहाँबाट त्यतिखेर त्यो विचार आयो मलाई थाहा छैन,’उनले नेटफ्लिक्सको डकुमेन्ट्री ‘ब्ल्याकपिंक लाइट अप दि स्काई’मा भनेकी छिन् । सन् २०१० मा न्युजिल्यान्डबाट दक्षिण कोरिया पुगेर उनी वाइजीमा आबद्ध भइन् ।

समूहकी र्‍यापर एवं लिड डान्सर लिसा भने थाइल्यान्डमा जन्मिएकी थिइन् । ३ वर्षसम्म थाइल्यान्डमा हुर्केकी उनी त्यसपछि बैंकक सरिन् । त्यहाँ उनकी सानी आमा म्युजिक ब्यान्डमा आबद्ध थिइन् । कहिलेकाहीँ माइक स्ट्यान्ड खाली हुँदा उनी अगाडि उभिएर नाच्ने/गाउने अभ्यास गर्थिन् । त्यतिबेलै आमाले उनको नृत्यप्रतिको रुचिबारे थाहा पाइन् । उनलाई नृत्यको कक्षा लिन लगाइन् । १२/१३ वर्षको उमेरदेखि त्यसपछि उनले नृत्य प्रतियोगितामा भाग लिन थालिन् । बिस्तारै उनले आफ्नो गायन र नृत्य चाहनाबारे चाल पाइन् । वाइजीको अडिसन दिँदा उनी १४ वर्षकी थिइन् । त्यतिबेला उनी कोरियन बोल्नसमेत जान्दिन थिइन् ।

समूहकी अर्की गायिका रोजी न्युजिल्यान्डमा जन्मेकी हुन् । उनी ८ वर्षको हुँदा परिवारसँगै अष्ट्रेलिया सरिन् । रोजी हरेक आइतबार चर्च जान्थिन् । चर्चको क्वायरमा गीत गाउँथिन् । विद्यालय जीवनदेखि नै रोजीले गीतार र किबोर्ड बजाउन सिकेकी थिइन् । एकदिन बुबाले उनलाई भनेका थिए,’वाइजीको अडिसन हुन लागेको छ । तिमी सहभागी हुन्छौं ?’

बुबाको प्रस्तावले उनी छक्क परिन् ।’मलाई संगीत मनपर्छ हो ? भन्दै उल्टै उहाँलाई प्रश्न गरे झैं लाग्छ त्योबेला । बुबाले हो तिमीलाई संगीत मनपर्छ । यसमै केही गर्न चाहन्छौ भने गर । नत्र २५ वर्षको हुँदा केही कुरामा प्रयास गरिनँ भनेर तिमीलाई पछुतो हुनेछ,’ उनले बुबाको कुरा सम्झिन् । सन् २०१२ मा उनले वाइजीमा अडिसन दिइन् । अडिसन दिएको २ महिनापछि उनी कोरिया पुगिन् । त्यतिखेर उनी १६ वर्षकी थिइन् । अडिसनपछि आफ्नो सम्पूर्ण जीवन परिवर्तन भएको रोजी सुनाउँछिन् । अडिसनमा नाम निस्किएपछि उनले विद्यालय छोडिन् । उनी पहिलो पटक घरबाट टाढा रहेर तालिम लिइन् ।

समूहकी अर्की सदस्य जीसु भने कोरियामै जन्मिन् । समूहमा अंग्रेजी बोल्न नजान्ने सदस्य हुन् उनी । उनी लेखक या त पेन्टर बन्न चाहन्थिन् । ११ पढ्दै गर्दा नाटक क्लबमा आबद्ध भइन् । उनलाई अभिनय सिक्ने मन थियो । त्यसपछि उनले वाइजीमा अडिसन दिइन् । उमेरका हिसाबले समूहमा उनी जेठी हुन् । त्यसैले अन्य तीन सदस्य उनलाई ‘दिदी’ सम्बोधन गर्छिन् ।

ब्यान्डका चार सदस्य फरक संस्कृति र पृष्ठभूमिका छन् । त्यही फरकपनले ब्यान्डलाई अन्य के-पप सांगितिक समूहभन्दा फरक बनाएको छ । ‘ब्यान्डका चार सदस्यको फरक संस्कृति र पृष्ठभूमिले ब्ल्याकपिंकलाई भिन्न बनाएको छ । हामीमध्ये कसैले यो उचाइमा पुग्छौं भन्ने सोचेका थिएनौं,’ ब्यान्डका लागि गीत लेख्ने गीतकार टेडी पार्कले डकुमेन्ट्रीमा भनेका छन् ।

जेनीलाई समूहको पहिलो सदस्यको रुपमा वाइजीले सन् २०१२ मा चिनायो । जेनीले ब्ल्याकपिंकमा आवद्ध हुनु अगाडि जि ड्रागोनको गीतमा अभिनय गरेकी थिइन् । लिसा भने समूहको दोस्रो सदस्यका रुपमा २०१६ मा सार्वजनिक भएकी थिइन् । उनी सन् २०१० मा थाइल्यान्डबाट वाइजीको अडिसजनमा छनोट भएकी एक्ली प्रतियोगि थिइन् । चार हजारमा प्रतियोगिमा उनी छनोट भएकी थिइन् । उनी वाइजीको पहिलो विदेशी प्रशिक्षार्थी पनि हुन् । सन् २०१३ मा सार्वजनिक भएको टेयाङको एक म्युजिक भिडियोमा उनी फिचर्ड भएकी थिइन् । जीसुले ब्ल्याकपिंकको रुपमा डेब्यु अगाडि केही विज्ञापन र म्युजिक भिडियोमा काम गरेकी थिइन् । उनले सन् २०१५ को ‘द प्रडुसर्स’ नामक कोरियन ड्रामामा केमियो भूमिका निभाएकी थिइन् । रोजी भने जि ड्रागोनको विथआउट युमा देखिएकी थिइन् ।

ब्ल्याकपिंकले विश्वका विभिन्न स्थानहरुमा प्रस्तुति दिइसकेको छ । समूहले गायिका डुअ लिपासँग मिलेर गाएको ‘किस एण्ड मेकअप’ले बिलबोर्ड हट १०० को ९३ औं स्थानमा डेब्यु गरेको थियो । चार्टमा उनीहरुको यो दोस्रो प्रवेश थियो । ‘किल दिस लभ’ले बिलबोर्ड हट २०० को २२ औं नम्बरमा प्रवेश गरेको थियो । उनीहरुले के-पप ‘क्विन्स’ भनेर ख्याती कमाएका छन् । फोर्ब्सको ‘३० अन्डर ३०’मा पर्ने पहिलो कोरियन संगीत समूह हो ब्ल्याकपिंक ।

उनीहरुको पछिल्लो ठूलो सो नै कोचेलाको प्रस्तुति हो । प्रस्तुति दिँदा आफूहरु निकै नर्भस भएको लिसा बताउँछिन् । ‘हामी एकदमै नर्भस थियौं,’उनले सुनाइन् । वाइजीमा प्रशिक्षार्थी हुँदा जीसुलगायत टिमले यस्तै ठूलो सो गर्ने सोचेका थिए । ‘हामी नर्भस थियौं । त्यो स्टेज प्यारो थियो । किनकि त्यतिखेर हामी पहिलो पटक अमेरिकामा प्रस्तुति दिँदै थियौं । प्रशिक्षार्थी हुँदा हामीले जहिल्यै यस्तै प्रस्तुति दिने कल्पना गरेका थियौं,’उनले भनिन् । कोचेला प्रस्तुतिबाट उनीहरुले धेरैले तारिफ बटुले ।

ब्यान्डका चारै सदस्यलाई लाग्छ – आज विश्वमा पाएको यो चर्चा वाइजीको देन हो । विश्व बजारमा पाएको उपलब्धिलाई तालिममा गरिएको कडा परिश्रमको नतिजा ठान्छन् उनीहरु । वाइजीमा तालिम लिनु सजिलो थिएन । कहिले उनीहरु दिनको १४ घण्टासम्म संगीत अभ्यास गर्थे । जेनीले वाइजीको तालिम विद्यालय भन्दा कडा हुने गरेको अभिव्यक्ति दिएकी छिन् । रोजीलाई सांगितिक कार्यक्रममा व्यस्त हुँदा तालिमका दिनहरु खुब याद आउँछ । ‘कहिलेकाहीँ म तालिमको दिनहरु सम्झना आउँछ । त्यतिबेला हामी जतिबेला पनि संगीतले नै घेरिएका हुन्थ्यौं । हरेक समय संगीत हुन्थ्यो । अहिले त सोहरुमा व्यस्त हुन्छौं । त्यसैले राति सुत्ने समयमा गीत गाउने गर्छु,’ रोजीले भनिन् । रोजीआफूहरुले संगीतमा धेरै गर्न बाँकी रहेको सुनाउँछिन् ।

‘ब्ल्याकपिंक’ले आफ्ना फ्यानहरुलाई ब्लिंकको नाम दिएका छन् । कालो र गुलाबी रङले आफूहरुलाई प्रतिनिधित्व गराउने हुँदा ब्यान्डले आफ्नो नाम भने ‘ब्ल्याकपिंक’ राखेका छन् ।’हामीलाई यी दुई रंगले असल तरिकाले प्रतिनिधित्व गर्छ । हामी एकातर्फ गर्ली त अर्कोतर्फ स्याभेज छौं,’हालै एक अन्तर्वार्तामा जेनीले भनेकी थिइन् । कान्तिपुर र एजेनसीको सहयोगमा ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्