ठूलाचौरका दलितबस्तिमा अब दुःखका दिन गए   – Janadesh Daily | ePaper

ठूलाचौरका दलितबस्तिमा अब दुःखका दिन गए  


 कृष्ण न्यौपाने

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–२ थानसिङ गाउँबाट विसं २०२५ मा छलिमाया विकको परिवार म्याग्दे गाउँपालिका–१ ठूलाचौर आएको थियो । तत्कालीन समयमा यहाँ उहाँको र अर्को एक घर परिवारको मात्रै बसोबास थियो । पछि विस्तारै अन्य केही दलित समुदायका मानिस पनि थपिएपछि ठूलाचौरमा दलित बस्ती नै बन्यो ।

समुद्री सतहबाट करिब २०० मिटर उचाइमा रहेको यस बस्तीमा शुरुदेखिकै मुख्य समस्या भनेको खानेपानी र बिजुली नै थियो । प्रत्येक चुनावमा राजनीतिक दलको मुख्य प्रतिबद्धता र आश्वासन पनि यिनै कुरामा हुन्थे तर दलको प्रतिबद्धता कहिल्यै पूरा भएन ।

गाउँमा बिजुली र पानीको आशमा यहाँका स्थानीयवासीले धेरै वर्ष बिताए । बल्लतल्ल बिजुली भने केही वर्ष अगाडी बल्यो, तर पानीको समस्या भने उस्तै ।

बस्ती केही उचाइमा भएका कारण खानेपानीको मूल नजिकै थिएन । छलिमाया विगतको दुःख सम्झँदै भन्नुहुन्छ, “बस्तीभन्दा केही पर पानीघट्टा भन्ने कुवामा पुगेर पानीको जोहो गर्नुपथ्र्यो, त्यही कुवामा पनि कहिले पानी सुक्ने र कहिले भल पस्ने हुँदा निकै सास्ती थियो ।

पानीकै लागि घण्टौँ समय खर्चिनुपर्दा अन्य काममा बाधा परिरहेको थियो ।” तर ५२ वर्षपछि घरमै खानेपानीको धारा देख्दा ८१ वर्षीया छलिमायालाई सपना जस्तै लागेको छ । “घामपानी नभनी पचासौँ वर्ष घण्टौँ लगाएर पानी बोकेको दुःखका दिन अब गए”, उहाँले भन्नुभयो, “अहिले त घरमै धारा आइपुगेको छ, योभन्दा खुशी अरु के होला र ।” आफूले जीवनभर पानी बोक्दै छोरा नाति हुर्काएको भए पनि अबका पुस्ताले भने सुख पाउने उहाँले बताउनुभयो ।

बिहान बेलुका पानीको जोहो गर्दै दिन बित्ने यहाँका स्थानीयवासीको अहिले दैनिकी फेरिएको स्थानीयवासी वीरबहादुर विकले बताउनुभयो । “खानेपानीको जोहो गर्नुपर्दा घरको काम समयै सक्न समस्या पथ्र्यो, केटाकेटी विद्यालय समयमै पुग्न सक्दैनथे”, उहाँले भन्नुभयो, “विगतमा यहाँका बासिन्दाले भोगेको दुःख अबको पुस्ताले भोग्न पर्दैन, अहिले त गाउँकै मुहार फेरिएजस्तै भएको छ ।”

खानेपानीको माग गर्दै स्थानीयवासी विगतमा पटक–पटक सम्बन्धित निकायमा डेलिगेशन नगएका होइनन्, तर मूलको समस्या देखाउँदै स्थानीयको माग पूरा गर्नेतर्फ सम्बन्धित निकायले ध्यान दिन सकेन । “गाउँकै अगाडि गुणादी खोला पानी बगिरहेको देखिन्थ्यो, तर गाउँ काकाकुल थियो”, उहाँले भन्नुभयो ।

म्याग्दे गाउँपालिकाको रु नौ लाख २५ हजार, गण्डकी प्रदेश सरकारको रु दुई लाख ५० हजार र स्थानीय उपभोक्ताको रु छ लाख २५ हजार गरी कूल रु १८ लाखको लागतमा ठूलाचौरका घरघरमा धारा जडान गरिएको छ ।

तीर्थेखोला हात्तीखोर खानेपानी समितिका अध्यक्ष कृष्ण खनालका अनुसार यहाँका ३७ घरमा धारा जडान गरिएको छ । योजनाबाट यहाँका करिब ३०० लाभान्वित भएका छन् । योजनाबाट ठूलाचौर दलित बस्तीमा दुई÷दुई हजार लिटरको ट्याङ्की निर्माण गरी लिफ्टिङ प्रविधिबाट खानेपानी पु¥याइएको छ ।

यहाँको खानेपानी समस्या समाधानका लागि विसं २०६७ मा बाबुराम खनालको अध्यक्षतामा खानेपानी समिति दर्ता गरिएको थियो, तर पनि योजनाले लामो समयसम्म गति लिन सकेन । पछि विसं २०७४ मा प्रारम्भिक योजना शीर्षकमा म्याग्दे गाउँपालिकाबाट रु एक लाख बजेट विनियोजन भएको थियो । उक्त समयमा हिमा खनाल समितिको अध्यक्ष हुनुहुन्थ्यो भने त्यस अगाडि नारायणदत्त खनाल ।

लगत्तै विसं २०७५ लमा म्याग्दे गाउँपालिकाबाट पुनः योजनाका लागि रु चार लाख बजेट विनियोजन भयो । उक्त रकमबाट खानेपानीको कामले केही गति पायो । त्यसबीचमा समितिको नेतृत्वमा कृष्णराज खनालले गर्नुभयो । योजनाकै लागि विसं २०७६ मा पुनः गाउँपालिकाबाट रु चार लाख २५ हजार बजेट विनियोजन भएको थियो ।

सोही वर्षमै गण्डकी प्रदेश सांसद आशा कोइरालाको पहलमा गण्डकी प्रदेशबाट रु चार लाख बजेट विनियोजन भएको थियो । उक्त बजेटबाट दश हजार घनमिटरको खानेपानी ट्याङ्की निर्माण गरिएको समितिका सचिव विकास खनालले जानकारी दिनुभयो ।

फरार दुई प्रतिवादी कारागार चलान    

वन मुद्दाका दुई फरार प्रतिवादी सात वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भानु नगरपालिका–६ ढुङ्गागाडे बस्ने ६७ वर्षीय भीमबहादुर अधिकारी र व्यास नगरपालिका–१० डिहीगाउँ बस्ने ४५ वर्षीय अशोक थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुलाई आइतबार घरबाटै पक्राउ गरिएको प्रहरी निरीक्षक शिवराज क्षत्रीले जानकारी दिनुभयो । भीमबहादुरलाई जिल्ला अदालत तनहुँको विसं २०७० चैत १२ गतेको फैसलाले तीन महिना कैद र रु १९ हजार ७१३ जरिवाना तथा अशोकलाई विसं २०७२ भदौ २३ गतेको फैसलाले दुई महिना आठ दिन कैद र रु १५ हजार जरिवानाको फैसला भएको थियो ।

पक्राउ परेकालाई जिल्ला अदालत पेश गरिएकामा अदालतको आदेशबमोजिम कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ । प्रहरीले विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजी कार्यलाई तीव्र पारेको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्