चिनियाँ र अमेरिकी खोप आजदेखि लगाइँदै, कसले र कहाँ पाउँछन् (सूचनासहित) – Janadesh Daily | ePaper

चिनियाँ र अमेरिकी खोप आजदेखि लगाइँदै, कसले र कहाँ पाउँछन् (सूचनासहित)


जनादेश अपडेट ।

सरकारले कोभिड–१९ विरुद्धको भेरोसेल र अमेरिकाले दिएको खोप दिन आजदेखि सुरु गर्ने भएको छ । चीनबाट आएको भेरोसेल र अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप मंगलबारदेखि ७७ वटै जिल्लामा लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले जानकारी दिए।

जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिकलाई दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ । यस्तै, ‘क’ र ‘ख’ वर्गका अपांगता भएका नागरिक, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र छुटेका स्वास्थ्यकर्मी तथा सफाइकर्मीहरूलाई उक्त खोप दिइनेछ ।

यस्तै भेरोसेल खोप ५५ वर्षमाथिका खोप लगाउन छुटेका नागरिक, विश्वविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरूलाई दिइनेछ । त्यस्तै सार्वजनिक यातायातका चालक, सहचालक, तथा खोप अनिवार्य गरेका मुलुकमा जान लागेका नागरिक र नेपाल सरकारले तोकका अतयावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी सबै नागरिकलाई पनि आजदेखि नै खोप दिइने छ ।

जोनसन खोपको मात्रा एकपटक मात्र दिएपछि पुग्दछ। मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सरसफाइकर्मी र यसअघिको अभियानहरुमा खोप लगाउन छुट भएका सबै जनालाई खोप लगाउने भएको सिंहले बताए । खोप लगाउनका लागि नागरिकले उमेर खुल्ने आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र र सो नभएमा पालिका, वडाबाट उमेर प्रमाणित कागजात लिएर जानुपर्नेछ।

यस्तै, सार्वजनिक यातायातका चालक तथा सहचालकहरुको हकमा आधिकारिक परिचयपत्र र सवारी साधनसहित व्यवसायी सङ्घबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित सूचीका आधारमा खोप प्रदान गरिनेछ।

विश्वविद्यालय र विद्यालयका शिक्षक एवं कर्मचारीहरुको हकमा सम्बन्धित संस्थाको आधिकारिक परिचयपत्रका आधारमा, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकको हकमा पासपोर्ट र भिसाका आधारमा तथा पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिकको हकमा नेपाल सरकारले जारी गरेको प्रमाणपत्रका आधारमा खोप प्रदान गरिने मन्त्रालयले जनाएको छ।

अहिलेसम्म नेपालमा कूल जनसङ्ख्याको ८.८ प्रतिशत जनसङ्ख्या अर्थात् २६ लाख ११ हजार ८०७ जनाले पहिलो मात्रा र ३.५ प्रतिशत अर्थात् १० लाख ४१ हजार ३६६ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्