अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालन – Janadesh Daily | ePaper

अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालन


चौतारा।

बाढी पहिराले चार सातादेखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत कोदारी खण्डमा मङ्गलबार बेलुकादेखि सवारी साधन सञ्चालनमा आएको छ । चीनसँगको प्रमुख व्यापारिक नाकाका रूपमा रहेको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीको कोदारीमा असार ५ गते भोटेकोशी बाढीले कटान तथा पहिराले ५० मिटर सडकमा क्षति पुगेको थियो । अवरुद्ध सडकलाई अस्थायी ट्र्याक निर्माण गरी सवारी साधन सञ्चालनमा आएको डिभिजन सडक कार्यालय दोलखाका इञ्जीनियर गोविन्द डुमरीले जानकारी दिनुभयो ।

यद्यपि लिपिङ पुलको अवरुद्ध सडक खुलाउन भने अझै समय लाग्ने भएको छ । असार २ गतेको अविरल वर्षाले सीमापुल नजिक पर्ने लिपिङपुल छेउको करिब १५ मिटर सडक भास्सिएकाले त्यहाँ आजैदेखि काम शुरु गरी १० दिनभित्र यातायात सञ्चालनमा ल्याउने लक्ष्य रहेको इञ्जीनियर डुमरीले बताउनुभयो ।

उक्त पुललाई तलबाट भोटेकोशी र माथिबाट ठाडो खोलाले कटान गरेकाले तत्काल रोकथाम नगरे ठूलो समस्या उत्पन्न हुने सम्भावना देखिएको छ । कोदारीबाट एक किलोमिटर माथि रहेको सो ठाउँमा अब निर्माण सामग्री र मेसिनरी साधन लान सहज भएको हुँदा तीव्रताका साथ कामलाई अघि बढाइने सडक डिभिजन कार्यालयले जनाएको छ । दुई ठाउँको सडक अवरुद्धले चीनबाट आयात भएका सामान लामो समयदेखि बाटोमै रोकिएको हुँदा राजश्वमा समेत असर परेको तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्