अब अनलाइन दर्ता नगरी खोप नपाइने, कोरोना रोक्न ८० प्रतिशत जनसंख्यालाई खोप आवश्यक – Janadesh Daily | ePaper

अब अनलाइन दर्ता नगरी खोप नपाइने, कोरोना रोक्न ८० प्रतिशत जनसंख्यालाई खोप आवश्यक


जनादेश हेल्थ डेस्क ।
अब कोरोनाविरुद्धको खोप लगाउनका लागि अनलाइन दर्ता अनिवार्य भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरेको हो ।

काठमाडौं उपत्यकासहित देशैभर कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरिएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले बताए।

अबदेखि १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने उनले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन १ गतेको पत्रअनुसार उक्त निर्णय भएको प्रखुम खड्काले बताए। सो उमेर समूहका नागरिकलाई नाम दर्ता गराउनसमेत उनले आग्रह गरेका छन्।

यसअघि कोरोनाविरुद्ध खोपका लागि अनलाइन दर्ता गर्नेका लागि छिट्टै सूचना गरेर खोप दिन सुरु गर्ने उनले बताए।

चेन ब्रेक गर्न ‘८० प्रतिशत’ जनसंख्यालाई खोप आवश्यक

पछिल्लो समय निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण दर बढ्दै गएको भन्दै स्वास्थ्य मन्त्रालयले साउन ७ गते विज्ञप्ति जारी गर्‍यो। जसमा भनिएको थियो,‘जनस्वास्थ्य मापदण्डको पालना नगर्दा पछिल्लो एक हप्ता यता संक्रमित हुनेको दर बढ्दो क्रममा रहेको छ। निषेधाज्ञा खुकुलो भएको अवस्थामा बुझीनबुझी, लुकीछिपी वा खुलमखुल्ला जनस्वास्थ्यका मापदण्डाको उलङ्घन भइरहेको देखिन्छ।’

मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको अवस्थामा यसको रोकथाम तथा नियन्त्रणका लागि जिम्मेवार बनेर जनस्वास्थ्यमा मापदण्डको पालना गर्न वा गराउन सबैलाई आग्रह गरेको थियो। सरकारको लापरवाहीका कारण संक्रमण फैलिरहेको जनस्वास्थ्यविज्ञ डा. बाबुराम मरासिनीले बताए।

उनले भने, ‘निषेधाज्ञा गरेर भाइरस भाग्ने होइन। यसले भीडभाड कम गर्ने हो। मान्छेदेखि मान्छेसम्मको सम्पर्कलाई कम गर्ने बाहेक अरु के गर्न सक्छ र? संक्रमण नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले मेहनत गर्नु पर्छ’, उनले भने,‘संक्रमण रोकथाममा मन्त्रालयले केही गरेकै छैन। कन्ट्याक्ट ट्रेसिङमा जानु पर्‍यो। रोकथामका लागि सरकारको पहल शून्य देखिएको छ।’

संक्रमण नियन्त्रणका लागि सरकारले टेष्ट बढाउनु पर्ने डा. मरासिनी बताउँछन्। उनका अनुसार परीक्षण कम गरिएका बेला कम र धेरै गरिएका बेला संक्रमितको संख्या धेरै देखिन थालेको छ। परीक्षणको दायरा बढायो भने संक्रमण दर अझै बढ्ने सम्भावना देखिन्छ।

‘व्यापक रुपमा टेष्ट बढाउन जरुरी छ। कम्तिमा पनि एक हप्तामा विभिन्न ठाउँमा पुगेर नमुना संकलन गरेर परीक्षण गरियो भने कुन ठाउँमा संक्रमण फैलिरहेको छ भन्ने पत्ता लगाउन सजिलो हुन्छ। अहिले विदेश जाने व्यक्ति, शल्यक्रिया गर्नका लागि तयार भएकाहरु अनि उनीहरुका आफन्तहरु गरेको परीक्षणको तथ्याङ्क हो’, उनले भने,‘सरकार विरामी कहाँ छन् भनेर खोज्दै हिँडेको छैन। जसलाई सक्रिय निगरानी भनिन्छ। सरकार सक्रिय निगरानीमा जानु पर्‍यो। तर सक्रिय निगरानी देशमा छैन, जाने स्थिति छँदा पनि छैन। बेसिक गरेर त कुनै पनि रोग निको हुँदैन।’

दैनिक रुपमा संक्रमण दर उकालो लाग्दै गर्दा सरकारले संक्रमणलाई कसरी रोक्ने भन्नेबारे खासै चासो देखाएको देखिएको छैन। करिब दुई महिनासम्म गरिएको निषेधाज्ञा दैनिक रुपमा खुकुलो हुँदै गर्दा संक्रमण फैलिनका लागि सजिलो ठाउँ बनेको सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए।

उनले भने, ‘निषेधाज्ञाका खुलेसँगै संक्रमण दर बढ्दै गएको छ। अर्थात संक्रमणबाट बचेकाहरु संक्रमण हुने क्रम जारी छ। अनुमानभन्दा विपरित भइरहेको छ। संक्रमण दर घट्दै जानुको साटो बढ्दै गएको छ। मानिसहरुको ओहोरदोहोर बढ्दै जाँदा संक्रमण फैलिन सजिलो भएको छ। विभिन्न जिल्लाहरुको तथ्याङ्कले पनि यही देखाएको छ।’

पछिल्लो समय खोप लगाएका धेरै व्यक्तिमा संक्रमण देखिन थालेको चिकित्सकहरुले बताएका छन्।

डा. पुनका अनुसार खोप केन्द्रबाट धेरै संक्रमित भएका हुन सक्छन्। ‘खोप अभियान सुरु गरेपछि कोरोना पोजेटिभ आयो भन्ने माहोल धेरै थियो। यसलाई सरकारले अनुभवको रुपमा लिनु पर्ने थियो। तर बेवास्ता गरियो’, उनले भने,‘अहिले खोप केन्द्रमा खोप लगाउन आउनेहरु धेरै जासो संक्रमित हुन बाँकी रहेका छन्। खोप केन्द्र जमघट हुने ठाउँ बनेका कारण त्यहाँबाट संक्रमण फैदिने सम्भावना धेरै हुन्छ।’

सरकार संक्रमण नियन्त्रणका लागि भन्दै देशभर खोप अभियान संचालन गर्दै आइरहेको छ। तर यसको व्यवस्थापन सही ढंगले गर्न नसक्दा नागरिकको ज्यान जोखिममा पर्न सक्ने डा. पुनले बताए।

उनले भने,‘जसको सुरक्षाका लागि खोप अभियान सुरु गरिएको हो, उहाँहरुका लागि नै मृत्युको कारण नबनोस्। खोप केन्द्रमा व्यवस्थापन अत्यन्तै आवश्यक देखिएको छ।’

खोप लगाएको केही दिनमै संक्रमित भएर धेरै व्यक्तिहरु अस्पताल पुग्न थालेको डा. मरासिनीले बताए। उनका अनुसार खोप लगाएपछि संक्रमित भइहाले पनि संक्रमणबाट गभ्मीर नहुनका लागि दोस्रो डोज लगाएको कम्तिमा पनि चार हप्ता नाघेको हुनु पदर्छ।

डा. मरासिनीले संक्रमणको चेन ब्रेक गर्नका लागि खोप ८० प्रतिशतको आसपासलाई लगाइसकेको हुनु पर्ने बताए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्