पुल भासिँदा नुवाकोटमा यातायात अवरुद्ध – Janadesh Daily | ePaper

पुल भासिँदा नुवाकोटमा यातायात अवरुद्ध


त्रिशूली।

अविरल वर्षाका कारण नुवाकोटको विभिन्न स्थानमा बाढी र पहिरोले क्षति पुर्‍याएको छ । बुधबार साँझ परेको वर्षापछि आएको बाढीले नुवाकोटको मैथली तालिम केन्द्रको विदुरतर्फको खोल्सामा रहेको पुलमा क्षति पुगेसँगै सडक पूर्णरूपमा ठप्प भएको छ । पुलमा क्षति पुगेसँगै नुवाकोटको बट्टारबाट विदुर जाने सडक बन्द हुँदा बट्टारबाट जिल्ला सदरमुकामसहित विभिन्न पालिका र रसुवा जाने यातायातको सेवा बट्टारमा नै रोकिएका छन् ।

बुधबार राति करिब  ९ बजेतिर पुलको जगमा क्षति पुर्‍याएसँगै सडक पूर्णरूपमा अवरुद्ध हुँदा विदुरबाट मैथली ब्यारेक हुँदै बट्टारतर्फ जाने सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार पुल भासिएसँगै सडकको दुवैतर्फ विच्छेद भएको छ । पैदलयात्रुलाई समेत आउजाउ गर्न कठिन भएको छ ।

पुल भासिएसँगै विदुर–बट्टारको यातायात अवरुद्ध भएर आपतकालीन सेवा दिने सवारी साधनसमेत आउजाउ हुन सकेका छैनन् । उपयुक्त विकल्पको सडक नहुँदा मर्मतसम्भार गरेर पुन:सञ्चालन नभएसम्म सवारी साधन रोकिनुपर्ने बाध्यता छ । क्षति पुगेको पुल र अवरोध भएको सडक अहिले बिहानबाट खुलाउन प्रयास गरिने डिभिजन सडक कार्यालयका प्रमुखसमेत रहनुभएका ‘गल्छी–त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सडक डिभिजन र योजना कार्यालयका उपकरण र जनशक्ति परिचालन गरेर जतिसक्दो छिटो अवरुद्ध सडक पुन: सञ्चालन गर्न प्रयास गरिने छ ।

यसैबीच बुधबार साँझ परेको वर्षाले जिल्लाको अन्य स्थानमा पनि पहिरो गई घरमा क्षति पुगेका विवरण सङ्कलन हुने क्रममा रहेको नुवाकोट प्रहरीले जनाएको छ । चट्याङसहितको वर्षाले पानीको मुहानका स्रोत बढाएका छन् भने खोल्सा, खोला र नदीमा पानीको बहाव बढेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्