मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवा र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल – Janadesh Daily | ePaper

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवा र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल


जनादेश, काठमाण्डौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा शनिबार भेटवार्ता भएको छ । सरकार विस्तार तथा जनताको दैनन्दिन समस्या समाधानका विषयमा केन्द्रित भएर छलफल भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले गत असार २९ गते पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । शपथ लिनुभएको १९ दिन बितिसक्दा समेत मन्त्रिपरिषद विस्तार हुन नसक्दा बाहिर आलोचना भइरहेको भन्दै अध्यक्ष प्रचण्डले चाँडै मन्त्रिपरिषद विस्तारबारे भेटमा जोड दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी, नेपाल (जसपा)बीच सत्ता समिकरणमा मन्त्रालयको भागबण्डा लागिनसकेको अवस्थामा कसलाई कुन मन्त्रालय जिम्मेवारी दिने भन्ने विषयमा अझै टुङ्गो लाग्न बाँकी रहेको सत्तारुढ दलका नेताहरुको भनाइ छ । मन्त्रीपरिषद विस्तारको गृहकार्य तीव्ररुपमा भएकाले आउने सोमबार वा मंगलबारसम्म विस्तार हुनसक्ने स्वकीय सचिव देउवाले बताउनुभयो ।

अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री देउवालाई भेटन विहान बालुवाटार आउनुभएको थियो । करिब पौने घण्टा लामो छलफलमा दुवै नेताबीच मन्त्रिपरिषद विस्तारको विषय सँगसँगै जनताका दैनन्दिन समस्या सम्बोधनका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्तारुढ दलले नेकपा (एमाले)का माधवकुमार नेपाल पक्षलाई समेत सरकारमा सहभागी गराउने प्रयास गरिरहेकाले मन्त्रिपरिषद विस्तारमा ढिलो भइरहेको कतिपय नेताहरुको बुझाई छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्