एमसिसीबारे विप्लव र बाबुरामको फरक सन्देश, एकै दिन दुई पूर्वमाओवादीको बाझिएको विचार ! – Janadesh Daily | ePaper

एमसिसीबारे विप्लव र बाबुरामको फरक सन्देश, एकै दिन दुई पूर्वमाओवादीको बाझिएको विचार !


जनादेश वाच ।
कुनै बेला सँगै जनयुद्ध लडेका र एउटै मोर्चामा कमाण्ड गरेका पूर्वमाओवादी नेताहरुले अहिले एउटै विषयमा ठिक विपरित धारणा राखेका छन् । जनयुद्धका तत्कालीन कमाण्डर मध्ये एक डाक्टर बाबुराम भट्टराई र लडाकु कमाण्डर मध्ये एक नेत्रविक्रम चन्द विप्लवले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्परिसट (एमसीसी) बारे परस्पर विरोधी धारणा राखेका हुन् ।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का राष्ट्रिय अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरी मिलेनियम च्यालेन्ज कर्परिसट (एमसीसी) अनुमोदन गर्दा नै राष्ट्रको हित हुने बताएका छन् भने विप्लवले एमसिसीलाई कुनै हालतमा रोक्नु पर्ने धारणा राखेका छन् ।

गोरखा सदरमुकाममा सोबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा डा. भट्टराईले एमसीसीजस्ता षयमा राष्ट्रिय दलबीचमा समझदारी आवश्यक रहेको बताए ।

‘एमसीसीको विषय अहिले पेचिलोरूपमा उठेको छ’, उनले भने, ‘यस्ता राष्ट्रिय मामिलाका विषयमा प्रमुख दलबीच समझदारी बनाएर नै अगाडि बढ्नुपर्छ ।’ पूर्वप्रधानमन्त्री डा.भट्टराईले दलगत राजनीति र दलभित्रका पनि गुटगत राजनीतिका निम्ति राष्ट्रियताका प्रश्नलाई गिजोल्याउने काम गर्न नहुने आफ्नो मान्यता रहेको बताए ।

‘एससीसी पनि विशुद्धरूपमा एउटा परियोजना अनुदान सम्झौता हो । यस्ता सम्झौता थुप्रै देशसँग हुने गरेका छन्’, उनले भने । पूर्वप्रधानमन्त्री डा.भट्टराईले विगतमा यस्ता सम्झौता गर्दा विवाद बढी देखिएकाले पनि राष्ट्रिय सहमति जुटाउन सहज हुन्छ भन्ने ढङ्गले नेपालकै तर्फबाट माग गरेर संसद्बाट अनुमोदनको बुँदा एमसीसी सम्झौतामा राखिएको पाइएको बताए । उनले एमसीसीको विषयमा सरकारमा रहँदा एउटा र सरकार बाहिर हुँदा अर्को कुरा गर्ने नेपालका राजनीतिक दलको प्रवृतिका कारण यस्ता खालका सहमति र सम्झौतामा समस्या हुने गरेको बताए ।

‘केही दल खास गरी हाम्रा पूराना कम्युनिस्ट साथीको जुन एउटा धङ्धङ्गी छ, त्यो धङधङ्गी छोड्न नसकेका कारण पार्टीको आन्तरिक सङ्घर्ष पनि प्रतिबन्धित हुन पुग्यो’, डा.भट्टराइले भने । पूर्वप्रधानमन्त्री डा.भट्टराईले राजनीतिक दलले छिटोभन्दा छिटो सहमति गरेर सम्झौतालाई अनुमोदन गर्ने कुरा नै राष्ट्रिय हितमा हुने दाबी गरे ।

उनले जसपा एक्लैले निणर्य गर्न सक्ने अवस्था नरहेको भन्दै एमसीसी राष्ट्रिय सहमतिबाट नै टुङ्गो लागोस् भन्ने पार्टीको धारणा रहेको बताए ।

उता विप्लवले एमसीसी लागू हुन नदिने बताएका छन् । सोमबार काठमाडौंको खुल्लामञ्चमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै विप्लवले एमसीसी सम्झौता नेपालको स्वाधीनता र सार्वभौमिकताको विरोधमा रहेको भन्दै यसलाई लागू गर्न नदिने बताएका हुन् ।

उनले अमेरिकाले नेपालमा आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी पारित गर्न दबाब दिएको उल्लेख गरे । उनले एमसीसी जबरजस्ती पास गर्न खोजिए राँको बाल्ने चेतावनी दिए । पैसाले मात्रै विकास नहुने भन्दै विप्लवले एमसीसीले देश विकास हुन्छ भन्नु मूर्खता भएको बताए । उनले एमसीसीका विषयमा मान्छेलाई भाँड्ने प्रयास भइरहेको र नेपाली जनताले यो कुरा बुझेको पनि बताए । उनले कुनै पनि हालतमा नेपाली जनतामाथि एमसीसी थुपार्न नदिने धारणा राखे ।

त्यस्तै विरोधसभामा नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले एमसीसीको बहानामा अमेरिकाले नेपालमा कब्जा जमाउन खोजेको आरोप लगाए । नेपालमा युरोनियम छ भन्ने पत्ता लागेको र नेपाल जलस्रोतमा पनि धनि रहेकाले अमेरिकाले जबरजस्ती नेपाललाई एमसीसी सहायत दिन लागेको उनले बताए ।

गजुरेलले एमसीसी सम्बन्धी बहसमा बुद्धिजिविहरुले युरेनियम कब्जा गर्ने लेखेको कहाँ छ भन्दै प्रश्न गरेकोमा अचम्म लागेको तर्क गरे । उनले नेपालको राष्ट्रिय स्वाधिनताका बिषयमा कुनै सम्झौता गर्न नहुने बताए । त्यस्तै बिरोधसभामा सहभागी अन्य दलका नेताहरुले एमसीसीको चर्को बिरोध गरेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्