सत्ता गठबन्धनमा मन्त्री बाँडफाँटको सहमति, परराष्ट्रमा नारायण खड्का, ११ राजदूत फिर्ता गरिँदै – Janadesh Daily | ePaper

सत्ता गठबन्धनमा मन्त्री बाँडफाँटको सहमति, परराष्ट्रमा नारायण खड्का, ११ राजदूत फिर्ता गरिँदै


जनादेश वाच ।

सत्तारुढ गठबन्धनमा मन्त्रालय बाँडफाँटका विषयमा करिव सहमति जुटेको छ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मंगलबार साँझ भएको छलफलमा परराष्ट्र मन्त्रालय नेपाली कांग्रेसले लिने सहमति जुटेको छ । अब कांग्रेस सांसद नारायण खड्का मन्त्री बन्ने लगभग पक्का भएको छ ।

परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने सहमति पनि नेताहरूबीच भएको छ । ‘सरकारको छवि धुमिल हुन नदिन परराष्ट्रमन्त्री तत्काल नियुक्त गरौं, अरु प्रमुख मन्त्रालयमा पनि मन्त्री नियुक्त गर्दै जाने सहमति भएको छ,’ गठबन्धनका एक नेताले भने, ‘परराष्ट्र मन्त्रालय कांग्रेसले लिने सहमति पनि भएको छ ।’

ती नेताका अनुसार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले डा. नारायण खड्कालाई परारष्ट्रमन्त्री बनाउने बताएका छन् । कांग्रेसको आन्तरिक समीकरणमा थप उथलपुथल नभए खड्काले आज पद तथा गोपनीयताको शपथ लिनेछन् ।

यसैबीच केपी ओली सरकारले विभिन्न देशका लागि गरेका ११ राजदूत पनि फिर्ता बोलाइने भएको छ । ११ जना राजदूत फिर्ता बोलाएर नयाँ पठाउने सहमति नेताहरूले गरेका छन् । भारतमा निलाम्बर आचार्य, चीनमा महेन्द्रबहादुर पाण्डे, अमेरिकामा युवराज खतिवडा, बेलायतमा लोकदर्शन रेग्मीलगायत राजदूतहरु सरकारको निर्णयसँगै फिर्ता हुनेछन्।

अरु मन्त्रालय भागवण्डाबारे छलफल गर्न आज फेरि बैठक बस्ने नेताहरुले बताएका छन् ।

२९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले त्यही दिन चार मन्त्री नियुक्त गरेका थिए । कांग्रेसबाट बालकृष्ण खाँण गृह र ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री भएका छन् भने माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जामन्त्री छन् । यस्तै १० साउनमा कांग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका थिए ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्