किन वाहिरिएन मनसुनः वर्षासम्मको सम्भावना कायमै, दशैंमा के हुन्छ? यसो भन्छन् मौसमविद् ! – Janadesh Daily | ePaper

किन वाहिरिएन मनसुनः वर्षासम्मको सम्भावना कायमै, दशैंमा के हुन्छ? यसो भन्छन् मौसमविद् !


जनादेश वेदर वाच ।

नेपालमा मनसुन बाहिरिने औसत मिति अक्टोबर २ (हिजो शनिबार) भए पनि यस वर्षको मनसुन हालसम्म पनि सक्रिय अवस्थामै रहेको मौसमविद्ले बताएका छन्।

मौसमविद् मञ्जु बासीका अनुसार यसापालि मनसुन केही समय ढिलागरी बाहिरिने देखिएको हो। ‘कम्तीमा आगामी ३ दिनसम्म मनसुन बाहिरिने संकेत देखिएको छैन’, मौसमविद् बासीले भनिन्।

मौसम पूर्वानुमान महाशाखाले मनसुन बहिर्गमन प्रक्रियालाई नियमित रूपमा अनुगमन गरिरहेको छ र यससम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जानेछ।

मौसमविद् बासीका अनुसार अहिले (आइतबार बिहान ६ः४५ बजे) प्रदेश १ र २ का थोरै स्थानमा हल्कादेखि मध्यसम्म वर्षा भइरहेको छ भने देशका बाँकी प्रदेशमा मौसम सामान्य (धेरैजसो आकाशमा बादल, थोरै खुला) देखि पूर्ण (पूरै आकाशमा बादल) सम्म बदली छ।

मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो (भन्नाले बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्मको अवधिलाई बुझ्नुपर्छ) प्रदेश १, २ र बागमती प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस क्रममा प्रदेश १ र प्रदेश २ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ यिनै प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

‘काठमाडौं उपत्यकामा पनि दिउँसोतिर हल्का वर्षा हुने सम्भावना छ’, मौसमविद् बासीले भनिन्।

महाशाखाको बुलेटिनअनुसार आज राति पनि प्रदेश १ र २ का धेरै र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश १ र २ का थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना छ।

मौसमविद् बासीका अनुसार हल्का वर्षा भनेको १० मिलिमटरभन्दा कम, मध्यम वर्षा भनेको १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरसम्म र यसभन्दा माथि सय मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा भनिन्छ। सय मिलिमिटरभन्दा माथि पानी पर्नुलाई चाहिँ धेरै भारी वर्षा भनिन्छ।

दशैंमा कस्तो हुन्छ मौसम ?

यो वर्षको दसैंमा पानी पर्छ अथवा मौसम सफा हुन्छ ? औसत समयमा मनसुन नबाहिरिएपछि दसैंसम्म मनसुन रहन्छ कि बाहिरिन्छ भन्ने जिज्ञासा धेरैमा छ ।

बरिष्ठ मौसमविद् बरुण पौडेल औसत समयमा मनसुन नबाहिरिए पनि दसैंसम्म रहन्छ अथवा त्यो अगाडि नै बाहिरिन्छ अहिले नै भन्न नसकिने बताउँछन् । यद्यपि, घटस्थापनासम्म भने पानी पर्ने उनी बताउँछन् ।

“दसैंसम्म मनसुन रहन्छ कि रहँदैन अहिले नै भन्न सकिँदैन । तर, घटस्थापनासम्म भने मनसुन रहने करिव निश्चित छ,” उनी भन्छन्, “मनसुन बाहिरिने क्रममा रहेकाले टीकासम्म त सम्भवत रहँदैन । तर, झरी नै नपरे पनि दसैंमा पानी भने पर्न सक्छ ।”
सामान्यतः अक्टोबर २ बाट मनसुन बाहिन्छ । तर, यो वर्ष मनसुन बाहिरिन केही समय लाग्ने भएको छ । कुनै वर्ष औसतभन्दा एकहप्ता पछिसम्म मनसुन सक्रिय हुने गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्