जब फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपसमेत तीनै एप्स संसारभरि एकै पटक बन्द भए… – Janadesh Daily | ePaper

जब फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपसमेत तीनै एप्स संसारभरि एकै पटक बन्द भए…


टेक अपडेट ।

सोमबार राति सोसल मिडिया साइट फेसबुक र उसका सिष्टर एपहरू एक साथ बन्द भए। प्रयोगकर्ताले एड्रेस बारमा गएर फेसबुक टाइप गर्दा साइट खुल्नुको साटो ‘माफ गर्नुहोला, केही गल्ती भैरहेको छ भन्ने सन्देश आइरहेको थियो । फेसबुकले लामो समय सम्म हामीले यसलाई सुधार्ने कोसिस गरिरहेका छौँ र छिटै सुधारेर फर्काउनेछौँ’ भन्ने लेखेको कुरा मात्र आयो ।

विश्वव्यापी रूपमा अवरोध झेलेको झण्डै ६ घण्टापछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामका अर्बौँ प्रयोगकर्ताले पुन: सेवा प्रयोग गर्न पाएको फेसबुकले जनाएको छ। यी तीनवटै सामाजिक सञ्जालहरू फेसबुक कम्पनीका हुन् जसलाई वेबसाइट र स्मार्टफोन एपहरूमा चलाउन सकिएको थिएन। फेसबुकले त्यसलाई नेटवर्किङसम्बन्धी समस्या बताउँदै त्यसका लागि माफी मागेको छ।

किन भयो बन्द
गएको क्रिसमसको दिन सोनीको प्लेस्टेसन तथा एक्सबक्स लाइभ नेटवर्क ह्याक गरेको चर्चित ह्याकर समुह लिजार्ड स्क्वाडले फेसबुक, इन्स्टाग्राम, टिन्डर लगायतका सेवाहरु अफलाइन भएको भनि टि्वट गरेपछि त अझ सोही ह्याकरले फेसबुक समेत ह्याक गरेको भनि विभिन्न संचार माध्यमहरुले समेत समाचार छापेका थिए ।

वास्तवमा कुनै ह्याकरले आक्रमण गरेका कारण फेसबुक बन्द भएको होइन । फेसबुकको मुख्यालयमै आएको प्राविधिक समस्याका कारण यस्तो भएको हो । फेसबुकमा समस्या आउँदा त्यसले अन्य सोसल नेटवर्कमा पनि स्वतः प्रभाव पार्यो, किनकी ती सोसल साइटहरु समेत आफ्ना प्रयोगकर्ताको आधिकारिकताको लागि फेसबुककै प्रयोग गर्दछन् ।

फेसबुक यो तहमा डाउन भएको सम्भवत: पहिलोपटक हो। यसअघि २०१९ मा भएको यस्तै प्राविधिक त्रुटिका कारण फेसबुक केही समय बन्द भएको थियो। २०१९ मा भर्जमा प्रकाशित डकुमेन्टअनुसार फेसबुकका प्रमुख कार्यकारी मार्क जुगरबर्गले त्यसबेला भएको प्राविधिक त्रुटिलाई ‘बिग डिल’ भनेका थिए।

समस्या के हो त !
साइबर सुरक्षा विज्ञहरूले उक्त अवरोध प्रविधिमा देखा परेको आन्तरिक समस्याका कारण सिर्जना भएको हुन सक्ने ठाने पनि त्यो त्यहीँ भित्रकै कसैले सिर्जना गराएको समस्या हुन सक्ने अवस्थालाई सैद्धान्तिक रूपमा सम्भव ठान्छन्। बाह्य ह्याकिङ भएको सम्भावना चाहिँ कम ठानिएको छ। यसको कारण अझै स्पष्ट भइसकेको छैन।

विश्वव्यापी रूपमा अवरोध झेलेको ६ घण्टापछि फेसबुक र उक्त कम्पनीका अन्य सोसल मिडिया मञ्चहरू ह्वाट्सएप र इन्स्टाग्रामका अर्बौँ प्रयोगकर्ताले पुन: सेवा प्रयोग गर्न पाएका छन्।

फेसबुकका प्रमुख प्रविधि अधिकृतले आफ्ना सेवाले ‘१०० प्रतिशत’ काम गर्न भने केही समय लाग्ने बताएका छन्।

‘अहिलेसम्मकै ठूलो’
यस्ता अवरोधको विवरण राख्ने डाउनडिटेक्टरका अनुसार यो त्यसले देखेको अहिलेसम्मकै ठूलो अवरोध हो। जसबारे विश्वभरिबाट १ करोड ६ लाख मानिसले उजुरी दिएका थिए। यो तहको अवरोध फेसबुकले यसअघि सन् २०१९ मा झेलेको थियो जतिखेर १४ घण्टाभन्दा लामो समय अवरोध देखा परेको थियो। पछिल्लो अवरोधसँगै न्यूयोर्कमा सेअरको मूल्य झण्डै पाँच प्रतिशतले खस्किएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्