प्रदेश २ का मुख्यमन्त्रीले विश्वासको मत लिँदै, यस्तो छ प्रदेशसभाको समीकरण – Janadesh Daily | ePaper

प्रदेश २ का मुख्यमन्त्रीले विश्वासको मत लिँदै, यस्तो छ प्रदेशसभाको समीकरण


जनादेश अपडेट ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने भएका छन् । सत्तारुढ दल जनता समाजवादी पार्टी विभाजन भएपछि संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री राउतले विश्वासको मत लिन एक साताअघि नै प्रदेश सभा सचिवालयलाई परिपत्र गरेका थिए । आजदेखि नै प्रदेश सभाको ७ औँ अधिवेशन आह्वान गरिएको छ ।

संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सत्ता साझेदार दल विभाजन तथा आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ । ९ भदौमा जनता समाजवादी पार्टी (जसपा) विभाजन भई महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक पार्टीको प्रमाणपत्र निर्वाचन आयोगले दिएको थियो । तर, जसपाले जनप्रतिनिधिहरूलाई निर्वाचन आयोगले दल रोज्‍ने समय २२ भदौसम्म तोकेकाले त्यसलाई दल विभाजनको अन्तिम मिति मानेर २० असोजमा मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् ।

अहिले प्रदेश २ मा जसपा, कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन सरकारको छ भने नेकपा एकीकृत समाजवादीले समेत मुख्यमन्त्री राउतलाई नै समर्थन गर्ने जनाएको छ । यस हिसाबले मुख्यमन्त्री राउतसँग प्रदेशसभाको एक सय चार सदस्यमध्ये दुई तिहाई भन्दा बढीको बहुमत रहेको छ ।

प्रदेशसभामा जसपाका ३९, कांग्रेसका १९, एकीकृत समाजवादीका १३, माओवादी केन्द्रका आठ र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीका एकजना गरी जम्मा ८० जना सांसदको मुख्यमन्त्री राउतलाई समर्थन रहने जसपाका एक नेताले दावी गरे । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एमाले प्रदेश सरकारको विपक्ष रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्