भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात महिनापछिकै सवैभन्दा कम – Janadesh Daily | ePaper

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात महिनापछिकै सवैभन्दा कम


नयाँदिल्ली ।

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा पुनःकमी आएको छ । दैनिक सङ्क्रमितको यो संख्या २१४ दिनपछिको सबभन्दा कम भएको केन्दीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

अघिल्लो दिन १९ हजार ७४० जना नयाँ सङ्क्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा १८ हजार १६६ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा पछिल्ला केही दिनदेखि दैनिक औसतमा २० हजार नयाँ सङ्क्रमित थपिने गरेको जनाएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या पनि सात महिना पछिकै सबैभन्दा कम रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार भारतमा अहिले दुई लाख ३० हजार ९७१ जना सक्रिय सङ्क्रमित रहेका छन् । अघिल्लो दिन भने दुई लाख ३६ हजार ६४३ जना रहेका मन्त्रालयका अधिकारीले जनाएका थिए ।

भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण २०८ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाको कारण मृत्यु हुने चार लाख ५० हजार ५८९ जना पुगेको छ ।

भारतमा पछिल्लो समयमा दैनिक सङ्क्रमणमुक्त भएकाको सङ्ख्या बढ्दै गइरहेको र नयाँ थपिने सङ्क्रमितको सङ्ख्या घट्दै गएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि कम हुदै गएको हो ।

पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या २३ हजार ६२४ रहेको छ । भारतमा अहिलेसम्म तीन करोड ३२ लाख ७१ हजार ९१५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेका छन् । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु गरिएको थियो ।

भारतका हिजो एकै दिनमा ६६ लाख ८५ हजार ४१५ डोज कोरोनाविरुद्धको खोप लगाइएको छ । भारतमा हालसम्म ९४ करोड भन्दा बढी व्यक्तिले कोरोना विरुद्धको खोप लगाएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्