रुपन्देहीको मोतिपुर तनावग्रस्त – Janadesh Daily | ePaper

रुपन्देहीको मोतिपुर तनावग्रस्त


बुटवल ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच आज झडप हुँदा मोतिपुर तनावग्रस्त भएको छ ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्रहरीले कयौँ राउण्ड अश्रुग्यास र हवाइफायर गरेपछि प्रहरीमाथि ढुङ्गा प्रहार गरेकाले केही राउण्ड गोली चलाइएको जानकारी दिनुभयो । गोली लागेर केही प्रहरी, स्थानीयवासी र प्रदर्शनकारी घाइते भएको उहाँले बताउनुभयो ।

प्रजिअ तिवारीले भन्नुभयो, “हामीले सो क्षेत्रमा निषेधाज्ञा जारी गरेका थियौँ र जग्गा अतिक्रमण नगर्न सूचना पनि जारी गरेका थियौँ, तर त्यसलाई उल्लङ्घन गर्ने काम भयो ।” उहाँले स्थिति नियन्त्रणमा आएको जानकारी दिनुभयो ।

प्रहरीले अस्थायीरूपमा बनाइएका टहरासमेत भत्काएको छ । झडपमा परी दुई घाइते भएका छन् भने दुईलाई प्रहरीले पक्राउ गरेको छ । झडपमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको र दुई राउण्ड गोली चलाएको स्थानीयवासीले आरोप लगाएका छन् ।

सो औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो सङ्ख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो । त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले बल प्रयोग गरेको बताइएको छ ।

जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयवासीले विरोध गरेका थिए । करिब २०० बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो ।

विसं २०७२ चैत १ गते मोतीपुरमा पाँच वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भयो । बुटवल उपमहानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति थियो । सो जग्गा अतिक्रमण गर्न साविक लुम्बिनीका विभिन्न जिल्लाबाट स्थानीयवासी बुटवल आएको प्रहरीले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्