विचार गरेर चलाउनुस् दशैंमा नयाँ नोट, जतन नगरे कानुन लाग्छ, यस्तो छ मुलुकी संहिताको महल ! – Janadesh Daily | ePaper

विचार गरेर चलाउनुस् दशैंमा नयाँ नोट, जतन नगरे कानुन लाग्छ, यस्तो छ मुलुकी संहिताको महल !


जनादेश वाच ।

दसैँमा रातो अक्षतासँगै नयाँ नोटको प्रयोग पनि खास छ । मान्यजनले आफूभन्दा सानालाई टीका लगाएर आशीर्वादसँगै दक्षिणा दिने चलन छ ।

दसैँमा गरिने पूजाहरूमा पनि नोट नै चलाइन्छ । यही नोट तिहारमा पनि प्रयोग हुन्छ । दिदीबहिनीबाट टीका लगाएपछि दाजुभाइले सप्रेम दक्षिणा दिने परम्पराले तिहारमा समेत नोटको प्रयोग बढाएको छ । त्यसैले दसैँको टीकाभन्दा १५ दिनअघि नै नयाँ नोट साट्न बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको लाइन लाग्छ । राष्ट्र बैंकले हरेक वर्ष दसैँकै लागि भनेर नयाँ नोट सटहीको व्यवस्था मिलाउने गरेको छ ।

सँगै यस्ता चाडपर्वमा नयाँ नोटको जतन गर्न पनि राष्ट्र बैंकले आग्रह गर्दै आएको छ । यसैपालि पनि सूचना नै निकालेर राष्ट्र बैंकले नोटको सुरक्षामा लापर्बाही नगर्न अनुरोध गरेको छ ।

राष्ट्र बैंकले यस्तो अपिल गर्नुको खास कारण छ । वास्तवमा नयाँ नोट छाप्दा देशको अर्बौं रकम खर्च हुन्छ । ५, १०, २०, ५० र १०० का नोट छपाउँदा प्रतिनोट औसत १ रुपैयाँ ७० पैसाभन्दा बढी लागत पर्ने राष्ट्र बैंक बताउँछ । यसैगरी, ५०० र १००० का नोट छपाउँदा प्रतिनोट सरदर साढे ३ रुपैयाँभन्दा बढी पर्न जान्छ । बर्सेनि यस्तो लागत महँगिँदै गएको छ । प्रयोगकर्ताले नोटको जतन गरिदिएनन् र छिट्टै च्यातियो वा सढ्यो भने फेरि नयाँ नोट छाप्नुपर्ने हुन्छ । यसरी नोट छाप्न राज्यको धेरै पैसा खर्च हुन्छ । त्यसैले राष्ट्र बैंकले बारम्बार भन्ने गरेको छ, ‘नोटको जतन गर्नुहोस् ।’

नोटको आयु कति हुन्छ भन्ने ठोस अध्ययन त भएको छैन । तर, औसतमा ६ वर्षसम्म हुने राष्ट्र बैंकका अधिकारी बताउँछन् । प्रयोगकर्ताले जतन गरेर चलाए भने नोटको आयु बढ्छ । नाेटकाे आयु बढ्नु भनेकाे राज्यकाे खर्च कम हुनु पनि हाे । त्यसैले नाेटकाे जतन गर्न अधिकारीहरूकाे आग्रह छ ।

नाेट नाेक्सानीकाे भागिदार हुनु दण्डनीय कार्य भनी मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २६३ मा लेखिएकाे छ । याे दफामा नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा लेख्न नहुुने व्यवस्था छ । नोटमा कोर्ने व्यक्तिलाई तीन महिनासम्म कैद र ५ हजार रुपैयाँ जरिवाना लाग्ने कानुनी व्यवस्था छ ।

यसरी गर्नुहाेस् नाेटकाे जतन
नोटलाई पानीबाट जाेगाउनुपर्छ । केरमेट गर्न हुँदैन । पाेकाे पारेर वा जथाभावी पट्याएर राख्दा नोटको आयु घट्छ । अक्षता र अबिरले नाेट रातै भएकाे देखिन्छ । यसाे गर्दा पनि नाेटमा नाेक्सानी पुग्छ । त्यसैले खाममा हालेर दिँदा नाेटकाे जतन हुन्छ । तिहारमा पैसाकाे पूजा गर्ने चलन छ । पूजा गर्दा रङ र तेल नाेटमा लाग्नबाट बचाउनुपर्छ । कतिपयले नाेटमा स्टिच लगाएकाे पाइन्छ । यसाे गर्दा नाेटमा प्वाल पर्छ । छिद्राका कारण नाेट छिट्टै पुरानाे हुन्छ । त्यसैले स्टिच लगाउन हुँदैन ।

हेर्नुहाेस् राष्ट्र बैंककाे सूचनाः

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्