कर्जा प्रवाह बढेकाले तरलता अभाव भयो : गभर्नर अधिकारी – Janadesh Daily | ePaper

कर्जा प्रवाह बढेकाले तरलता अभाव भयो : गभर्नर अधिकारी


काठमाडौँ  ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बढी कर्जा प्रवाह हुँदा तरलता अभाव भएको बताउनुभएको छ । नेपाल बैंकर्स सङ्घको ३५औँ साधारणसभामा गभर्नर अधिकारीले आर्थिक वर्षको सुरुमै सोचेअनुरुप रेमिट्यान्स नआउनु, आयात बढेर बाह्य क्षेत्रमा दबाब परेको र सरकारी खर्च बेलैमा नहुँदा तरलतामा चाप परेको बताउनुभयायो ।

उहाँले अर्थतन्त्रको पुनःरूत्थान चाँडो हुन ऋण विस्तार सहयोगी भएकाले पनि अभाव भएको उल्लेख गर्दै संयमित भएर ऋण विस्तार र ब्याज समायोजन गर्न आग्रह गर्नुभयो । उहाँले नाफा मात्र खोज्ने प्रवृत्ति हुँदा ऋण विस्तार भएको भन्दै बैंकरमा अनुशासन कायम हुन जरुरी भएको बताउनुभयो । उहाँले कोभिडको असहज अवस्थामा पनि बैंकले अर्थतन्त्र र वित्तीय क्षेत्र जोगाउन महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभयो ।

अर्थविद् डा शङ्कर शर्माले बैंकिङ क्षेत्र संवेदनशील क्षेत्र भएकाले यसको व्यवस्थापन र सञ्चालनमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले वाणिज्य बैंकको सेवालाई प्रतिस्पर्धी र प्रविधिमैत्री बनाएर उपभोक्ताको सेवालाई सहज बनाउन अनुरोध गर्नुभयो । सङ्घका निवर्तमान अध्यक्ष भुवन दाहाल र वर्तमान अध्यक्ष अनिल उपाध्ययायले बैंकमा २० प्रतिशतभन्दा बढी सम्पत्ति रिजर्भ रहेकाले अहिले नै तरलता अभावमा अत्तिनुपर्ने अवस्था नभएको बताउनुभयो ।

बैंकर्स सङ्घको अध्यक्षमा अनिल उपाध्याय चयन

नेपाल बैंकर्स सङ्घको अध्यक्षमा अनिल उपाध्याय सर्वसम्मत रुपमा चयन हुनुभएको छ । सङ्घको ३५औँ साधारणसभामार्फत आज नयाँ कार्यसमिति औपचारिक रुपमा सार्वजनिक गरिएको हो । उपाध्याय कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुनुहुन्छ । सानिमा बैंकका सिइओ भुवनकुमार दाहाल निवर्तमान अध्यक्ष हुनुभएको छ ।

सङ्घको उपाध्यक्षमा एनएमबी बैंकका सिइओ सुनिक केसी सर्वसम्मतरुपमा चयन हुनुभएको छ । सङ्घको सदस्यमा लक्ष्मी बैंकका सिइओ अजय विक्रम शाह, मेघा बैंकका सिइओ अनुफमा खुञ्जेली, नेपाल एसबीआई बैंकका सिइओ दीपककुमार देव, नेपाल बैंक लिमिटेडका सिइओ कृष्ण अधिकारी, एनआइसी एसियाका सिइओ रोशन न्यौपाने, माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइराला र सन्राइज बैंकका सिइओ सुमन शर्मा चयन हुनुभएको छ । सल्लाहकारमा अनिल केशरी शाह, अशोक शमशेर राणा र ज्ञानेन्द्र ढुङ्गाना चयन हुनुभएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्