मातृभाषाको पहिचानयुक्त महत्व   – Janadesh Daily | ePaper

मातृभाषाको पहिचानयुक्त महत्व  


जातजातिको पहिचानयुक्त आन्दोलनको नेतृत्व नेकपा माओवादीकै नेतृत्वमा भएको थियो । अहिले पहिचानका आधारहरु तय भइसकेका छन् । प्रदेशको नामकरण र प्रादेशिक भाषामा पहिचान झल्कनु पर्छ  यही सन्दर्भमा पङ्तिकारको सन्दर्भ “कथित सुदूरपश्चिम” प्रदेशको हो । सुदूरपश्चिम विकास क्षेत्रको नामकरण राजा वीरेन्द्रले वि. सं. २०३६ साल असोज २३ गते गरेका थिए । यसरी “सुदूरपश्चिम प्रदेश” राजाकालिन पहिचान हो । राजाले पूर्वाञ्चल………सुदूरपश्चिमाञ्चलसम्म नेपाललाई ५ वटा विकास क्षेत्रमा विभक्त गरेका थिए । अहिलेको परिवेशमा कहाँबाट “सुदूर” हो ? सेती-महाकालीको भूभागका बारेमा मानसखण्डमा यथेष्ट वर्णन र प्रमाणहरु हुँदा-हुँदै अर्थहीन, तर्कहीन, औचित्यहीन नामकरण गरिनु गलत कदम थियो । नामकरणसँग जनजीवनको संस्कृति र इतिहास जोडिएको हुन्छ । भूगोलले जनजीवनको अस्तित्व र पृष्ठभूमिलाई झल्काउछ । नामले आदिकालदेखि भूतकालसम्मको पृष्ठभूमिलाई समेट्नु पर्छ । नामकरणका आ-आफ्ना निश्चित सिमा र सिद्धान्त हुन्छन् । नामसँग प्रदेशका विभूति (व्यक्तिवाचक होइन समूहवाचक), प्रदेशको पौराणिक महत्व (देवी-देवता, नदी, पर्वत आदि), “सुदूरपश्चिम” शब्दले ऐतिहासिक, भौगोलिक, विशिष्ठ स्थान आदिको औचित्य प्रमाणित गर्देन् । नाममा नयाँपन र परिवर्तनलाई स्वीकार्य हुनु पर्छ । जनजीब्रोले बोल्दा गौरव हुनु पर्छ । जनभावनामा ठेस लाग्ने, क्रुरता झल्कने, रुखोपन र हेपिएको अर्थमा राखिएको “सुदूरपश्चिम” नाम कुनै मानेमा परिवर्तनको बाहक हुन सक्दैन् । सुदूरपश्चिम सजिलैसँग बोल्न र अङ्ग्रेजीमा लेख्न सकिने नाम पनि होइन् । “सुदूरपश्चिम”ले जीव र जगतको बोध पनि गर्दैन् । “सुदूरपश्चिम”को अर्थ “धेरै टाढा” हुन्छ । कहाँबाट धेरै टाढा हो ? नाममा व्यापक बहस र समीक्षा नगरिकनै “राजाका समर्थक”ले राखेको जस्तो भाव दिइरहेको छ । नामको महत्व प्रदेश सरकारले स्वयंमा बुझेको देखिएन् । अनेकन विकल्प हुँदा-हुँदै विवादित र आलोचित हुने डरले “सुदूरपश्चिम” लाई निरन्तरता दिएको बुझिन्छ । सुशासनमा नामको महत्वपूर्ण भूमिका हुन्छ । नामले विकास र प्रभावलाई दर्शाउँछ । जनमानसमा मनोवैज्ञानिक प्रभाव पार्छ । एउटा वालकको नामकरण गर्दा शिशुको जन्म, तिथि, घडी, पला, नक्षत्र, समय, स्थान, आमाबुवाको नाम आदिलाई आधार बनाइन्छ । “सुदूर” शब्दले निरङ्कुश मनोविज्ञानको प्रतिनिधित्व गर्ने हुँदा प्रदेस सरकारको कार्यको जति भर्त्सना गरे पनि कम छ । प्रदेशले नेपालको संविधानको भाग-५ ले प्रदत्त गरेको राज्यको संरचना र राज्यशक्तिको बाँडफाँडको शक्तिमा बुझ पचाएको देखिन्छ ।

अब प्रदेशको भाषा के हुने भन्ने प्रश्न अहम छ । जनगणना २०६८ सालको तथ्याङ्क हेर्दा “डोटेली” भाषा अग्रस्थानमा देखिन्छ । “डोटेली” माने “डोटी जिल्ला”को भाषा हो । जसले डोटीको पहिचान गराउछ । अज्ञानता र राजनीतिक दबाव एवं प्रभावले ९ वटै जिल्लाका ८५ वटा भन्दा बढता भाषा हुँदा-हुँदै अन्य भाषाको पहिचान मेटाउने गरी “डोटेली” भाषा जनगणनामा देखिनु आश्चर्यजनक छदैछ । भाषाले एकअर्काको पहिचान, भावना र विचारलाई स्पष्ट पार्दछ । अमुक जिल्लाको भाषालाई समग्र प्रदेशस्तरीय भाषा हो भनेर बलजफती प्रतिनिधित्व गराउनु अरुको पहिचानलाई नामटे गर्नु हो । भाषाका वक्ता र विज्ञ हुन्छन् । भविष्यमा स्थानीय तहहरुले पनि मातृभाषालाई मान्यता दिने होलान् । मातृभाषा आमाको काखमा बोलिने भाषा हो । बालकालदेखि जनजीब्रोमा टासिएको भाषा मातृभाषा हुन्छ । बैतडीको मान्छे वा अछाम वा अन्य जिल्लाको मातृभाषिले “डोटेली” मातृभाषा कसरी बोल्न सक्छ ? पचासीवटा मातृभाषाको बाहुल्यता भएको प्रदेशको मातृभाषा “डोटेली” भनेर प्रस्तुत गरिनुका पछाडि अज्ञानता र राजनीतिक स्वार्थ लुकेको छ । यसबारेमा छुट्टै बहस गर्न सकिन्छ ।

भाषा विज्ञानका विद्वानहरूले आर्यन, सेमिटिक, हर्मेटिक आदि भाषाका धेरै वर्गहरु स्थापित गरेका छन् । प्रत्येकका आ-आफ्ना शाखाहरु छन् । भाषालाई लिपिको मद्दतले लिखित रूपमा व्यक्त गर्न सकिन्छ । भाषा र लिपि अभिव्यक्तिका दुई अभिन्न अङ्ग हुन् । एक भाषा धेरै लिपिहरुमा लेखिन्छ । दुई वा धेरै भाषाको एक लिपि हुन सक्छ । नेपाली, हिन्दी, मराठी, संस्कृत आदि सबै देवनागरी लिपिमा लेखिने भाषा हुन् । एउटै समाजको भाषामा अन्तरनिहित मौलिकता केलाउन गाह्रो हुन्छ, किनभने भाषामा फरकफरक अभ्यास हुन्छ । एउटै समाजमा चलिरहेको एउटै भाषाका अनेकन विविधताहरु हुन्छन् । सरकारद्वारा प्रशासनिक कार्यसञ्चालनका लागि भाषालाई आधिकारिकता प्रदान गरिन्छ । सरकारी भाषालाई अधिकांश जनताले बुझ्नु पर्ने बाध्यता हुन्छ र बुझ्छन् । प्रशासनिक दृष्टिकोणबाट भाषाको महत्व राज्यको सीमासम्म हुन्छ भने प्रदेशको प्रदेश भित्र र स्थानीय तहको स्थानीय पालिकासम्म हुने हुँदा पचासीवटा भन्दा बढी भाषा भएको प्रदेशको भाषा “डोटेली” कसरी हुन्छ । व्यवहारमा भाषालाई बोलिचालीको भाषा, मानक भाषा, सम्पर्क भाषा, आधिकारिक वा राजभाषा, राष्ट्रिय भाषा आदिमा बाँडिएको पाउछौ ।

सन्निकटमा राष्ट्रिय जनगणना २०७८ हुँदै छ । जनगणना विविध दृष्ट्रिकोणले विशिष्ठ हुने छ । जनगणनामा खटिने गणक\संकलक देखिन् लिएर प्रत्येक जनमानसले भाषाका बारेमा चिन्ता र चाँसो राख्नै पर्दछ । जनगणनाको महत्व राजनीतिक छदैछ यसका अतिरिक्त जनसंख्या, धर्म, भाषा, कृषि क्षेत्र, पशुपालन, उद्योगधन्दा आदिलाई समेत मसिनो गरी तथ्याङ्कमा समेट्ने छ । राष्ट्रिय जनगणनामा जनताले बोल्ने मातृभाषा वा स्थानीय भाषाको गणना हुने छ । मातृभाषालाई आफ्नो पहिचान झल्कने गरी प्रत्येक नागरिकले लेखाउनु पर्नेछ । संघीयतामा पहिचानका आधार संस्कृतिजन्य विषयवस्तु र मातृभाषा हो । प्रत्येक वर्ग, लिङ्ग, जातजाति र क्षेत्रले जनगणनालाई राष्ट्रिय उत्सवको रुपमा लिनु आवश्यक छ । “मानस” प्रदेशको “मानसी” भाषालाई नामकरण गर्नु अगाडि प्रत्येक गाउँठाउँका भाषाको प्रतिनिधित्व र पहिचान गर्नु आवश्यक छ । जनगणना २०७८ ले ९ वटै जिल्लाका मातृभाषालाई तथ्याङ्कमा समेट्नु आवश्यक छ । जनजीब्रोमा भएको भाषालाई लत्यार “डोटेली” भनिने भाषालाई बैतडेली, डडेल्धुरेली, दार्चुलेली, अछामेली, बझाङी, बाजुरेली, थारू, राना, सौका आदिको पहिचान र नेतृत्वमा आउनु पर्दछ । अज्ञानताका कारणले मातृभाषा “डोटेली” लेखाएकै कारणले डडेल्धुरेली भाषा २०६८ सालको जनगणनामा २४सौं नम्बर देखिन्छ । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्कलाई हेर्ने हो भने “डोटेली” भाषा बोल्ने मानिसको संख्या ७,७७,२४७ रहेको देखिन्छ, जबकी डोटी जिल्लाको कूल जनसंख्या २,११, ८२७ छ । डोटेली भाषी अन्य जिल्लामा बसोवास गर्नेजस्तो तथ्याङ्क आउनु अप्रत्यारिलो छ । स्वयं डोटीमा अन्य भाषीको पनि उल्लेख्य उपस्थिति देखिन्छ । तथ्याङ्कले बैतडेली भाषा चौथो नम्बरमा, अछामी पाचौं नम्बरमा, बझाङी छैठौं नम्बरमा, बाजुरेली आठ नम्बरमा, दार्चुलेली बाह्र नम्बरमा, डडेल्धुराली चौबिसौं नम्बरमा देखिन्छ । अझ आश्चर्यको कुरा के छ भने डडेल्धुराली भाषी बोल्ने ४८८ जना मात्र देखिन्छन् । हिन्दी भाषी ८,२९४ सहित दशौं नम्बरमा रहनु र डडेल्धुरेली भाषा २४ नम्बरमा हुनुले भाषिक राजनीतिले डडेल्धुरेली भाषालाई पतनोन्मुख गराएको छ । सरसर्ती हेर्दा जिल्लागत जनसंख्या र भाषिक तथ्याङ्कमा तालमेल देखिन्न । जनजीब्रोमा जीवन्त मातृभाषालाई राजनीतिक चालबाजी र भाषिक नेतृत्वले सजीव मातृभाषालाई चिहानघाटमा सेलाइ सकेको छ ।

स्थानीय निकायहरुले स्थानीय भाषाका पाठ्यपुस्तक निर्माण गरेर लागु गर्ने चरणमा आइसकेको भन्ने सुनिन्छ । स्थानीय भाषाको आवरणमा अन्य जिल्ला वा स्थानको भाषालाई पढाउन खोज्दा बालवालिकालाई नेपाली भाषा भन्दा झन गाह्रो अवस्था सृजना हुने छ । मातृभाषाका विज्ञहरुको अभावमा अर्थको अनर्थ लाग्ने छ । नेपाली बजारमा पाइने “नेपाली बृहत् शब्दकोष” मा कयौं शब्दको अर्थ पाइदैन् भने स्थानीय भाषाहरुको शब्दकोष पूर्ण हुने कुरै भएन् । पाठ्यक्रम निर्माण गर्ने क्रममा गैर-ब्याकरणाचार्यको बाहुल्यताले “अविज्ञ”लाई “विज्ञता”को पगडी लगाउनु बाहेक के नै भएको होला र ? यसर्थमा पनि मातृभाषाको स्वरुप विमातृभाषा हुने खतरा बढेको छ ।

प्रादेशिक नामकरणझैँ मातृभाषा लेखाउने कार्यमा पनि अनेकन प्रपञ्च पञ्चायतकालदेखि हुँदै आएका छन् । यसबारे गहकिएर बुझौं, मनन र चिन्तन गरौं ! गैर-डोटीको मान्छेको मातृभाषा “डोट्याली” कसरी हुन्छ बुझौ र आफ्ना पहिचान त्यसमा छ कि छैन खोजौं । पङ्तिकारले वि. सं. २०३९\४० तिर लोक सेवा आयोग कञ्चनपुरमा दरखास्त फाराम पेश गर्दा मातृभाषा “बैतडेली” लेखेकोमा लोक आयोगका कर्मचारीले “बैतडेली” होइन यहाँ “डोटेली” लेख्नुस भनेर बाध्य गराएका थिए । त्यसयता असहज मान्दैमान्दै मातृभाषा “डोट्याली” लेख्थेँ । अर्को प्रसङ्ग वि. सं. २०६८ को जनगणनाको छ । गणकले मातृभाषा सोध्दा मैले “मानसी” भनेर लेखाउन खोजे तर गणकले “यो भाषा नै होइन” भनेर लेख्न मानेन् । अहिले मुलुक संघीयतामा गइसकेको छ । पहिचानका विषय र सवालहरु खोजी हुँदै छन् । राजकीय प्रजा प्रतिष्ठान (हालको नेपाल प्रज्ञा प्रतिष्ठान) ले कुन भाषालाई मान्यता दिएको छ भन्ने सवाल ठूलो होइन कि मातृभाषा (आमाभाषा) को पहिचानलाई खुलस्त लेख्न सकिने वातावरण सरकारी निकायबाट हुनु पर्दछ । सरकारी कर्मचारीले भाषाको न्वारन गर्ने परम्परा छोड्नु पर्छ ।

भाषाविज्ञहरूका अनुसार दसलाखभन्दा बढी बोलिने भाषालाई सुरक्षित मानिएको छ भने दसहजारदेखि एकलाखसम्म वक्ता भएको भाषालाई लोपोन्मुख मानिएको छ । एकहजारएकदेखि दसहजारसम्म वक्ता भएको भाषालाई मरणोन्मुख भाषा मानिएको छ । एकहजारभन्दा कम वक्ता भएको भाषालाई मृतप्रायः मानिन्छ । यसकारणले आफ्नो भाषालाई मृतप्रायः बनाएर अर्काको भाषालाई सम्पन्न बनाउने राजनीतिक र प्रशासनिक दुष्प्रयास रोक्नु आवश्यक छ । एकपटक जनगणना २०६८ को तथ्याङ्कलाई हेरौं, बुझौं र २०७८ सालको जनगणनामा आफ्नो मातृभाषालाई सम्मानजनक सम्मान दिन पछाडि नपरौः

सि.नं. भाषाको नाम वक्ताको संख्या प्रतिशत रैथाने भाषा/बोलिनेभूगोल भाषाको हालको अवस्था
डोटेली ७,७७,२४७ ३०.४५ डोटी, डडेल्धुरा सुरक्षित (डोटीको जनसंख्या १,६६,०९७)
नेपाली ७,७०,३२२ ३०.१७ कैलाली, कञ्चनपुर सुरक्षित
थारु ४,३४,३०४ १७.०१ कैलाली, कञ्चनपुर सुरक्षित
बैतडेली २,७१,८३८ १०.६४ बैतडी, दार्चुला सुरक्षित (बैतडीको जनसंख्या २,५०,८९८)
अछामी १,४२,५१६ ५.५८ अछाम सुरक्षित (अछामको जनसंख्या २,३१,२८५)
बझाङी ६७,४४० २.६४ बझाङ लोपोन्मुख (बझाङको जनसंख्या १,/७,०२६)
मगर २३,२४६ ०.९१ डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर लोपोन्मुख
बाजुरेली १०,६८५ ०.४१ बाजुरा लोपोन्मुख (बाजुराको जनसंख्या १,३४,१५४)
मैथली ८,८९५ ०.३४ मिथिला मरणोन्मुख
१० हिन्दी ८,२९४ ०.३२ कैलाली, कञ्चनपुर मरणोन्मुख
११ तामाङ ७,९८६ ०.३१ डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर मरणोन्मुख
१२ दार्चुलेली ५,९१२ ०.२३ दार्चुला मरणोन्मुख (दार्चुलाको जनसंख्या १,३३,२७४)
१३ दैलेखी ३,०८८ ०.१२ दैलेख मरणोन्मुख
१४ खाम २,६६१ ०.१० मरणोन्मुख
१५ उर्दू २०१६ ०.०७ अछाम, कैलाली, कञ्चनपुर मरणोन्मुख
१६ राजी १,९८३ ०.०७ डोटी, कैलाली मरणोन्मुख
१७ नेवार १,५६४ ०.०६ डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर मरणोन्मुख
१८ भोजपुरी १,४२१ ०.०५ कैलाली, कञ्चनपुर मरणोन्मुख
१९ गुरुङ १,१५१ ०.०४ डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर मरणोन्मुख
२० शेर्पा ९८२ कैलाली, कञ्चनपुर मृतप्रायः
२१ जुम्ली ८१० कैलाली, कञ्चनपुर मृतप्रायः
२२ लाप्चा ६४२ मृतप्रायः
२३ सांकेतिक ५४२ मृतप्रायः
२४ डडेल्धुराली ४८८ डडेल्धुरा मृतप्रायः (डडेल्धुराको जनसंख्या १,२६,१६२)
२५ खाम्ची (राउटे) ३९१ डडेल्धुरा मृतप्रायः
२६ ब्यासी ३५८ दार्चुलाको ब्यास मृतप्रायः
२७ धुलेली ३४७ बझाङको धुली मृतप्रायः
२८ बोटे २९२ मृतप्रायः
२९ राई २७१ डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर मृतप्रायः
३० बङ्गला १८४ कैलाली, कञ्चनपुर मृतप्रायः
३१ अवधी १७३ मृतप्रायः
३२ सुरेल १७२ मृतप्रायः
३३ लिम्बु १४३ डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर मृतप्रायः
३४ खस १३२ मृतप्रायः
३५ उराउ/उराव १२१ कैलाली, कञ्चनपुर मृतप्रायः
३६ पञ्जाबी १२१ कैलाली, कञ्चनपुर मृतप्रायः
३७ राजस्थानी १०८ कैलाली,,कञ्चनपुर मृतप्रायः
३८ चिनिया ९२ मृतप्रायः
३९ सोनाहा ७६ मृतप्रायः
४० माझी ७३ डोटी मृतप्रायः
४१ थकाली ७१ डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर मृतप्रायः
४२ सन्थाली ६९ मृतप्रायः
४३ चाम्लिङ ५८ मृतप्रायः
४४ जोङखा ४९ मृतप्रायः
४५ भुजेल ३८ मृतप्रायः
४६ मेचे ३७ मृतप्रायः
४७ छन्त्याल ३५ मृतप्रायः
४८ बराम ३४ मृतप्रायः
४९ गडवाली ३१ डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर मृतप्रायः
५० राजवंशी २९ मृतप्रायः
५१ अङ्ग्रेजी २७ कैलाली, कञ्चनपुर मृतप्रायः
५२ पहरी २३ मृतप्रायः
५३ याक्खा २२ मृतप्रायः
५४ सुनुवार २० मृतप्रायः
५५ असामी २० मृतप्रायः
५६ तिब्बती १४ मृतप्रायः
५७ बज्जिका १३ मृतप्रायः
५८ दनुवार १३ मृतप्रायः
५९ मगधी मृतप्रायः
६० ताजपुरिया मृतप्रायः
६१ बान्तवा मृतप्रायः
६२ थामी मृतप्रायः
६३ थुलुङ मृतप्रायः
६४ साम्पाङ मृतप्रायः
६५ बाल्ही मृतप्रायः
६६ खालिङ मृतप्रायः
६७ याम्फ मृतप्रायः
६८ ल्होमी मृतप्रायः
६९ जिरेल मृतप्रायः
७० ह्याल्पो मृतप्रायः
७१ घले मृतप्रायः
७२ दरै मृतप्रायः
७३ खरिया मृतप्रायः
७४ ओरिया मृतप्रायः
७५ आठपहरिया मृतप्रायः
७६ बेल्हारे मृतप्रायः
७७ धिमाल मृतप्रायः
७८ दुमी मृतप्रायः
७९ लाहोसङ मृतप्रायः
८० मेवाहाङ मृतप्रायः
८१ संस्कृत कञ्चनपुर मृतप्रायः
८२ किसान मृतप्रायः
८३ कुर्माली मृतप्रायः
८४ अन्य ११७ मृतप्रायः
८५ नखुलेको ९६६ मृतप्रायः

माथिको तथ्याङ्कको विश्लेषणात्मक अध्ययनले मानस खण्डको भाषिक पारिवारलाई निम्नानुसार राख्न सकिन्छः

सि.नं. बोलिने भाषा परिवारको नाम भाषाहरु
भारोपेली डोटेली, नेपाली, थारु, बैतडेली, अछामी, बझाङी, बाजुरेली, मैथली, हिन्दी, दार्चुलेली, दैलेखी, उर्दू, भोजपुरी, डडेल्धुरेली, जुम्ली, अवधी, बङ्गला, खस, पञ्जाबी, राजस्थानी, गडवाली, सोनाहा, माझी, बोटे, दनुवार, ताजपुरिया, राजवंशी, अङ्ग्रेजी, मगधी, बज्जिका, संस्कृत, किसान, असामी आदि ।
भोटबर्मेली मगर, तामाङ, खाम, राजी, नेवार, गुरुङ, शेर्पा, लाप्चा, खाम्ची (राउटे), ब्यासी, धुलेली, राई, लिम्बु, चिनिया, थकाली, चाम्लिङ, भुजेल, मेचे, छन्त्याल, बराम, पहरी, याक्खा, सुनुवार, तिब्बती, बान्तवा, थामी, थुलुङ, स्याम्पाङ, खालिङ, जिरेल, घले, दरै, दुमी, धिमाल, जोङखा, लोहोरुङ, मेवाहाङ आदि ।
आग्नेली सन्थाल र खरिया
द्रबिड उराँउ/उराँव (झाँगड)

पहिचानको आधार मध्ये भाषा एउटा घटक भएकोले २०७८ सालको राष्ट्रिय जनगणनामा प्रत्येक नागरिकले सचेत हुनु आवश्यक छ । जबसम्म राष्ट्रिय भाषाहरुको स्वरुप निर्धारण हुँदैन तबसम्म राष्ट्रभाषाको ऐतिहासिक पक्षलाई बुझ्न र अनुमान गर्न सकिदैन् । मानसी भाषाको ऐतिहासिक पृष्ठभूमिमा नगइकन भाषाविदहरुले कसैले खस, कसैले जुम्ली र कसैले गोरखाली आदि नाम दिएका दृष्टान्त ऐतिहासिक कालखण्डमा देखिएका छन् । नेपाली भाषा निर्माणमा बाइसे-चौबिसे राज्य, स्थान, वर्ग आदिको के कस्तो भूमिका छ भन्ने विषयमा अनुसन्धान भएको पाइदैन् । भाषालाई मान्यता दिने कार्य राज्य (शासक)ले गर्दछ । शक्तिशाली शासककै भाषालाई औपचारिक भाषा स्वीकार गर्ने प्रचलन विश्वभर देखिन्छ । साहित्यकारहरु शासककै गुणगान र प्रशस्ति गायनमा जीवन समर्पण गर्ने संस्कृतिले समेत भाषाका विविध पक्षहरु अनुसन्धान होइनन कि “बक्सिस”मा ओझेल परेका छन् ।

जनगणनाको माध्यमले मातृभाषा परिवार, समाज, स्थानीय तहको भाषा, प्रादेशिक भाषा आदिका बारेमा विश्वासिलो तथ्याङ्क आउनु पर्छ । विगतबाट पाठ सिकेर आउदो जनगणनामा कसैको दबाव र प्रभावमा मातृभाषा लेखाउने कार्य बन्द गरिनु पर्छ र जनस्तरबाट प्रभावकारी अनुगमन गरिनु पर्छ । घरदैलोमा मोलाहिजा नराखी (माथिको तथ्याङ्क हेर्दा १ जना वक्ता भएको भाषा लिपीबद्ध छ) चनाखो भएर सोधिएका विषयस्तुमा केन्द्रित हुनु पर्ने छ । गणकको कार्यमा खटिने स्थानीय शिक्षक, कर्मचारी वा म्यादे कर्मचारी आदि स्थानीय वासिन्दा हुने हुँदा उनीहरुले घरमूलिको नाम र अन्य सदस्यको नाम सोधेर बाँकी तथ्याङ्क आफै भर्ने हुँदा सचेत हुनु आवश्यक छ । सेवाग्राहीले दिएको जबाफलाई लिपिबद्ध गरिएमा मात्र तथ्याङ्कले मुर्त रुप पाउने छ । भाषाको महत्व बुझ्नु बुझाउनु आवश्यक छ ।

भाषाले मानव सभ्यताको मापदण्ड निर्धारण गर्दछ । भाषाले सभ्यताको पहिचान र संरक्षकको भूमिका निभाउछ । भाषा एकअर्कासँग हुने वार्तालाप वा सञ्चार मात्र होइन्, यसले मानव सभ्यताको इतिहासलाई देखाउँछ । प्रत्येकको पहिचानमा पुर्खाको भाषा, मातृभाषा र बोलिने भाषामा अन्तर देखिनु पर्दछ । पुर्खाको भाषा जातिय भाषा हुन् सक्दछ । भाषामा गरिने राजनीति र अतिक्रमण दुबै सह्य हुँदैनन् । भाषा विज्ञानका दृष्ट्रिकोण र मानव जातिको पहिचानलाई निर्धारण गर्न मातृभाषा आवश्यक छ । मातृभाषाले मानव सभ्यतालाई उत्खनन गर्न सक्दछ । जातिय वा पारिवारिक भाषामा अस्तित्व झल्कने हुँदा मातृभाषा प्राणभन्दा प्यारो मानिन्छ । बहकाउ  र भावनामा आएर आफ्नो पहिचान गुमायौं भने भोलिका दिनमा पछुताउनु बाहेक विकल्प रहन्न । जनगणनामा आफ्नो मातृ भाषाको संरक्षण, सम्बर्द्धन र विकास गर्ने अभिभारा स्वयं तत् व्यक्ति, वर्ग र समूदायको जिम्मामा आएको छ । पङ्तिकारको आव्हान भनेको जनगणनाको अवसरलाई सदुपयोग गरौं भन्ने हो । भावी दिनमा समानुपातिक समावेशी लोकतन्त्रलाई सङ्घीय ढाँचामा कुन जातजाति, कुन भाषी, कुन भूगोलको कति योगदान छ भनेर आंकलन हुनेगरी पहिचान झल्कने वैज्ञानिक आधार निर्माणमा सबैको सहयोग आवश्यक छ । विभिन्न जातजातिको उदगमस्थल मानसखण्ड भएकोले भाषिक पहिचानले मानव जातजातिको अस्तित्वलाई समाजशास्त्रीय सिद्धान्तअनुसार पहिचान गर्ने आधारको खोज अनुसन्धान गर्न कोशेढुङ्गा सावित हुने छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्