तीन महिनामै व्यापार घाटा सवा ४ खर्ब – Janadesh Daily | ePaper

तीन महिनामै व्यापार घाटा सवा ४ खर्ब


काठमाडौं।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकको व्यापार घाटा ५८.३ प्रतिशतले बढेको छ। मुलुकबाट विभिन्न मुलुकमा हुने निर्यात १०९.५ प्रतिशतले बढ्दासमेत व्यापार घाटा उच्च विन्दुमा पुगेको हो।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तीन महिना (साउन, भदौ र असोज)को मुलुकको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार व्यापार घाटा चार खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.१ प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा निर्यात-आयात अनुपात १३.६ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.६ प्रतिशत रहेको थियो।

समीक्षा महिनामा कूल वस्तु निर्यात १०९.५ प्रतिशतले बढेको छ। उक्त अवधिमा मुलुकबाट ६५ अर्ब पाँच करोड रुपैयाँ बराबरको वस्तु विभिन्न मुलुकमा निर्यात भएको हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४.३ प्रतिशतले वृद्धि भएको थियो।

गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १४७.१ प्रतिशत, १९ .४ प्रतिशत र २७.२ प्रतिशतले वृद्धि भएको छ। वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, पिना, धागो (पोलिस्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, अलैंची, जस्तापाता, तार, आयुर्वेदिक औषधि लगायतका वस्तुको निर्यात घटेको छ।

चालु आवको तीन महिनामा चार खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ बराबरको वस्तु मुलुकमा भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६३.७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष उक्त अवधिमा यस्तो आयात १२.७ प्रतिशतले घटेको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४८.४ प्रतिशत, ५५.२ प्रतिशत र १२४.२ प्रतिशतले वृद्धि भएको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, सुनलगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, सुर्ती लगायतका वस्तुको आयात घटेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्