एमाले महाधिवेशन स्थलको रौनकः २५ स्थानमा सेल्फी प्वाइन्ट – Janadesh Daily | ePaper

एमाले महाधिवेशन स्थलको रौनकः २५ स्थानमा सेल्फी प्वाइन्ट


जनादेश अपडेट ।

नेकपा (एमाले)को १०औँ महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ निर्माणको काम तीव्र पारिएको छ । उद्घाटनस्थलमा २५ स्थानमा सेल्फी प्वाइन्ट निर्माणको काम सुरु गरिएको हो।

एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार चितवनतर्फ २१ र गैँडाकोटतर्फ चार सेल्फी प्वाइन्ट रहनेछन् । मञ्चको दायाँ भागमा एमालेको झण्डा बोकेको गैँडा निर्माण गरिने र त्यसको केही मिटरको फरकमा मजदुरले उचाल्दै गरेको पृथ्वी राखिने उनले बताए । यी दुई स्थायी संरचना निर्माणका लागि करिब रु पाँच लाख खर्च हुने अनुमान गरिएको उनको भनाइ छ।

महाधिवेशन उद्घाटनस्थललाई थप आकर्षक बनाउनका लागि अन्य २३ ठाउँमा एमालेको प्रचारप्रसार गर्ने खालका तस्वीर राखिनेछन् । मदन भण्डारी, भीआई लेनिनका तस्वीर पनि सेल्फी प्वाइन्टमा राख्ने व्यवस्था गरिएको श्रेष्ठले बताए।

उद्घाटनसत्रमा सहभागी हुने भीड नियन्त्रण गर्न पाँच स्थानमा बकेट (डोरीको छेकबार) निर्माण गरिनेछ । दुई ड्रोनले नियमितरूपमा निरीक्षण गरिरहनेछ।

एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ । सो महाअधिवेशन उद्घाटनसत्रमा पाँच लाखको सहभागिता रहने नेकपा (एमाले)ले जनाएको छ। उद्घाटनसत्र नारायणी नदी किनारमा र बन्दसत्र सौराहामा गर्ने तय भएको छ।

यसैबीच, पार्टीका विभिन्न जन संगठनका नेता कार्यकर्ताहरु केही प्रतिनिधि चितवन आउने क्रम सुरु भएको छ। नेता कार्यकर्ता विभिन्न स्थानबाट आउने क्रम सुरु भएसँगै कार्यक्रम स्थल लगायतमा नेता कार्यकर्ताको चहलपहल बढेको छ। भोलि सम्म केन्द्रिय कमिटीका नेता कार्यकर्ता र देश भरका प्रतिनिधि चितवन आइपुग्ने छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्