सुचना प्रविधिको सही प्रयोग गर्नु अहिलेको प्रमुख चुनौती : सञ्चारमन्त्री कार्की – Janadesh Daily | ePaper

सुचना प्रविधिको सही प्रयोग गर्नु अहिलेको प्रमुख चुनौती : सञ्चारमन्त्री कार्की


जनादेश, काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधिको विकासमा सरकारले काम गरिरहेको बताउनुभएको छ ।

सूचना प्रविधिको क्षेत्रमा काम भइरहेको छ : सञ्चारमन्त्री

लिभिङ विथ आइसिटीले शुक्रबार साँझ यहाँ आयोजना गरेको आइसिटी अवार्ड–२०२१ समारोहलाई सम्बोधन गर्दै उहाँले सूचना प्रविधिको विकास बिना मुलुकको विकास गर्न नसकिने बताउनुभयो । उहाँले सरोकारवालासँग सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि छलफल गर्न मन्त्रालय तयार रहेकोसमेत बताउनुभयो ।

मन्त्री कार्कीले आइसिटी अवार्डले सूचना प्रविधिको क्षेत्रमा काम गर्ने युवालाई प्रोत्साहन र प्रतिभा प्रष्फुटनमा मद्दत पु¥याउने बताउनुभयो । उहाँले सूचना प्रविधिको सही प्रयोग गर्नु अहिलेको चुनौती रहेको भन्दै सबैले मिलेर सूचना प्रविधिको क्षेत्रमा काम गर्नुपर्ने धारणा राख्नुभयो । समारोहमा सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले सरकारले सूचना प्रविधिबाट सेवा दिएपनि सेवाग्राही सूचना प्रविधिप्रति अभ्यस्त नभएकोले सिकाउनुपर्ने बताउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यले जनतालाई छिटो र छरितो सेवा दिन सूचना प्रविधिको प्रयोगलाई व्यापक गर्नुपर्ने बताउनुभयो । समारोहमा मन्त्री कार्की, सञ्चार सचिव डा अर्याल र सचिव आचार्यले विभिन्न व्यक्तिलाई अवार्ड प्रदान गर्नुभएको थियो ।

सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट काम गरेको विभिन्न १२ वटा विधामा पुरस्कार प्रदान गरिएको लिभिङ विथ आइसिटीका निर्देशक राजन लम्सालले जानकारी दिनुभयो । डिजिटल एजुकेशन आइसिटी अवार्ड (सरकारीतर्फ) कालिका मावि बुटवललाई, डिजिटल एजुकेशन आइसिटी अवार्ड (निजीतर्फ) ललितपुरको रातोबङ्गला स्कुललाई, डिजिटल सर्भिसेस (निजीतर्फ) नेपाल क्लियरिङ हाउस लिमिटेड र डिजिटल सर्भिसेस (सरकारी) आइसिटी अवार्ड भूमि व्यवस्था तथा अभिलेख विभागलाई वितरण गरिएको छ ।

यसैगरी व्यक्तिलाई प्रदान गरिने इन्टरप्रेनर आइसिटी अवार्ड दिपेश प्रधान, नेपाली डायस्पोरा आइसिटी अवार्ड नेपाल बैंक लिमिटेड, पायोनियर आइसिटी अवार्ड मनोहरकुमार भट्टराई र एनसेल वुमन आइकन आइसिटी अवार्ड गुण केशरी प्रधानलाई प्रदान गरिएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्