सामाजिक सञ्जालः आफ्नै कारण रामकुमारी झाँक्रीलाई भएको ‘ब्याकफायर’ – Janadesh Daily | ePaper

सामाजिक सञ्जालः आफ्नै कारण रामकुमारी झाँक्रीलाई भएको ‘ब्याकफायर’


जनादेश सोसल मिडिया वाच।

२ दिन अघि सहरी विकास मन्त्री तथा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमार झाँक्रीले गुल्मी जिल्लाको भ्रमणका क्रममा इलाका प्रहरी कार्यालय पुर्कोट दहमा आइतबार सलामी ग्रहण गरेकी थिइन् । उनले ग्रहण गरेको सलामीको तस्बिर सामाजिक सञ्जालमा यतिबेला भाइरल भएको छ ।

मन्त्रीको तस्बिर सामाजिक सञ्जालमा भाइरल हुनुको मुख्य कारण हो– उनले दुई वर्षअघि स्थानीय तहका प्रतिनिधिले लिँदै गरेको सलामीको चर्को आलोचना सामाजिक सञ्जालमार्फत नै गरेकी थिइन् ।

“यो पिर्का त पहिलो, दोस्रो र तेस्रोलाई सम्मानस्वरुप पदक दिन उभ्याउने हो क्यारे,” ५ जुलाई २०१९ मा झाँक्रीले गरेको ट्विट हो यो ।

त्यसलगत्तै उनले कुर्सीमाथि चढेर सलामी लिँदै गरेको तस्बिर राखेर लेखिन्– टेबल सलामी, पिर्के सलामीपछि कुर्ची सलामी ।”

अहिले झाँक्रीले त्यसबेला गरेको टिप्पणीलाई सामाजिक सञ्जालमा भाइरल गराइएको छ । झाँक्रीका आलोचकहरुले ‘समाजवादमा पुग्ने गणतान्त्रिक शैली’ भन्दै आलोचना गरेका छन् ।

तर मन्त्री झाँक्रीले मन्त्रीको हैसियतमा सलामी ग्रहण गर्दा यसलाई अन्यथा लिन नहुने बताइन् । बाह्रखरीसँगको कुराकानीमा उनले यस्तो बताएकी हुन् । उनले दैनिक रुपमा स्थानीय तह अन्तर्गत हुने कार्यक्रममा पिर्के सलामी खान नहुने तर औपचारिक कार्यक्रममा यस्तो व्यवस्थालाई अन्यथा लिन नहुने बताइन् ।

‘‘उहाँहरुको पिर्के सलाम दिने औपचारिकता हुँदो रहेछ । उक्त कार्यक्रममा कि त मै नजानु थियो । गएपछि गर्नै पर्ने हुँदोरहेछ । म त्यहाँ जानै पर्ने थियो । त्यहाँ धेरै कुराको निरीक्षण गर्नुथियो,” उनले भनिन् ।

राज्यको विभागीय मन्त्री भएको हिसाबले निरीक्षणमा जाँदा प्रहरीले आफ्नो कर्तव्यअनुसार जिम्मेवारी निर्वाह गरेको बताइन् ।

‘‘मैले नगर्नुस्, भन्दा पनि सम्मान गर्नु भो । त्यहाँको चौकी द्वन्द्वका क्रममा विस्थापित भएको थियो । उक्त चौकी पुनःस्थापना गर्न पहल गरेकी थिएँ । त्यसैले त्यहाँका स्थानीय अगुवाले सबै क्रेडिट मलाई दिनुहुन्छ । उक्त कार्यक्रममा जान मलाई प्रोत्साहन गर्नुभयो,” उनले भनिन् ।

मन्त्री झाँक्रीले स्थानीयलाई बेखुसी बनाएर जान्न भन्ने अवस्था नभएको र औपचारिक कार्यक्रममा सलामी लिएको प्रष्ट पारिन् । ‘‘त्यहाँ गएँ । मलाई सलामी दिनुभयो । सहज लाग्छ । स्वाभाविकरुपमा लिएँ । औपचारिकता निभाउनका लागि पनि सलामी लिनैपर्ने भयो,” उनले भनिन् ।

सलामी लिनै नहुने गैरकानुनी र आपराधिक काम नभएको मन्त्री झाँक्रीको भनाइ छ । उनका अनुसार राज्यको विभागीय व्यक्तिलाई अरुले गर्ने सम्मान सहर्ष स्वीकार गरिएको हो ।

‘‘त्यसलाई वास्ता र बेवास्ता गर्नुको मेरा कुनै अर्थ पनि रहने थिएन । सामाजिक सञ्जालमा हुने आलोचनाको क्रिया प्रतिक्रियाबारे केही पनि भन्दिन । पहिलेदेखि आफैँ लागेको कार्यक्रममा नजान पनि भएन । सबैको सल्लाह मै कार्यक्रममा सहभागी भएँ । मेरो गाउँका सबैजना खुसी हुनुहुन्छ । बाहिर गरेको आलोचनाको कुनै अर्थ छैन,” उनले भनिन् ।

खासमा विशिष्ठ व्यक्तिहरूले सलामी लिने कुरा सामान्य प्रक्रिया हो । तर विगतमा सलामीलाई अपराधीकरण गरेका कारण रामकुमारीलाई अहिले आएर ब्याकफायर भएको छ । उनले विगतमा यही कार्यलाई अपराध जस्तो गरी प्रस्तुत नगरेको भए अहिले सामाजिक सञ्जाल उनीविरुद्ध खनिने थिएन।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्