रेणु यादवले सम्झाएको विस्मरणयोग्य विगतः के थियो माओवादीको नरसंहार गरिएको गौरकाण्ड ! – Janadesh Daily | ePaper

रेणु यादवले सम्झाएको विस्मरणयोग्य विगतः के थियो माओवादीको नरसंहार गरिएको गौरकाण्ड !


जनादेश वाच।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले सार्वजनिक कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसहित उनका कार्यकर्तालाई लक्षित गर्दै हिंसात्मक चेतावनी दिएपछि मन्त्री यादवको तीव्र आलोचना शुरू भएको छ । माघ ५ गते बलिदानी दिवसको अवसरमा रौतहटको गौरमा जनता समाजवादी पार्टीले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले गौर नरसंहार जस्तै घटना दोहोरिने चेतावनी दिएकी थिइन् ।

जनमत पार्टीले अहिले तराई–मधेशका विभिन्न जिल्लामा किसानका विविध माग राखेर आन्दोलन गर्दै आएको छ ।

त्यसक्रममा हिजो बुधबार उक्त कार्यक्रममा सहभागी हुन पुगेकी मन्त्री यादवलाई जनमत पार्टीको नेतृत्वमा भइरहेको किसान आन्दोलनका आन्दोलनकारीहरूले कालो झण्डा देखाउँदै अवरोध सिर्जना गरेका थिए ।  ठूल्ठूला लाठीमा कालो झण्डा राखेर प्रदर्शन गरिएको थियो ।

तर बलिदानी दिवसको अवसरमा अभिव्यक्ति दिने बेला मन्त्री यादवले राउतसहित उनका नेता तथा कार्यकर्ताहरूलाई सामूहिक नरसंहार गर्न सकिने चेतावनी दिएकी थिइन् ।

गौर राइस मिलमा भएको नरसंहार तत्कालीन मधेशी जनअधिकार फोरमले गरेको दाबी गर्दै राउत र उनका कार्यकर्ताको पनि त्यही हाल हुने चेतावनी यादवले दिएकी थिइन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडियोमा मन्त्री यादवले हिन्दी भाषामा भने थिइन् (भावानुवाद):

यो गौर(रौतहट)ऐतिहासिक जिल्ला हो । यहाँको राइस मिलको अहिले जीवित इतिहास छ। आज बलिदानी दिवसको दिन हामी हिंसा गर्दैनौं । लाठी भाटा देखाए यहाँको मान्छे पनि लाठी चलाउन जान्छन् । तपाईंको लाठी र भाटालाई तोडेर यहीँ बन्द गराइदिन सकिन्छ । गाई र भैंसीको दूध खाएका छौ भने सिंहदरबारमा भेटौं । डाक्टर साहेबले अमेरिकामा घाँसपात खाएका होलान् । हाम्रो शरीरमा गाई र भैंसीको दूधले रगत बनेको छ । डाक्टर साहेबलाई भन्न चाहन्छु, हामीसँग नजुध्नुस् । तपाईंलाई घेराबन्दी गरेर मारी दिइन्छ ।

विर्सन लायक विगत र सहर्ष स्वामित्व
भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रीमती रेणु यादवले विर्सन लायक विगतलाई स्वामित्व लिएकी छिन् । यादवले गौर नरसंहार स्विकार्दै स्वामित्व लिएकी हुन्। सीके राउत नेतृत्वको जनमत पार्टीले उनलाई तत्काल बर्खास्त गर्न माग गरेको छ।गौर हत्याकाण्ड तत्कालीन ‍मधेशी जनाधिकार फोरमले घटाएको मन्त्री यादवले नै सगर्व घोषणा गरिसकेकाले उनलाई पक्राउ पर्नुपर्ने माग गरेको हो।

माओवादीको सफाया गरिएको त्यो गौर काण्ड!
२०६३ सालमा तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूबीच झडप हुँदा २८ जनाको मृत्यु भएको थियो। तत्कालिन माओवादी शान्ति प्रक्रियामा आएको वर्ष दिन नपुग्दै भएको रौतहटको गौर हत्या काण्डमा २८ जना माओवादी कार्यकर्ताले ज्यान गुमाएका थिए ।

उनीहरुको निर्मम हत्या भएको थियो । उक्त घट्ना हुँदा २०६३ सालको अन्तरिम संविधान जलाएर मधेश आन्दोलनको नेतृत्व गरेको मधेशी जनअधिकार फोरमका अध्यक्ष थिए-उपेन्द्र यादव । उनकै निर्देशनमा रौतहटमा उनका कार्यकर्ताले माओवादी कार्यकर्तालाई भाला, छुरा, लाठी र गोली प्रहार गरि निर्मम हत्या गरिएको थियो।

त्यतिवेला माओवादी सरकारमा थियो । उता, मधेसी जनअधिकार फोरम भने मधेश आन्दोलनमा थियो । उक्त गौर हत्या काण्डमा माओवादीका २७ जना कार्यकर्ताहरु ठाउँको ठाउमै मारिएका थिए भने एक जनाको उपचारको क्रममा अस्पतालमा निधन भएको भनिएको छ । त्यतिवेला कांग्रेस नेता कृष्ण प्रसाद सिटौला गृहमन्त्री थिए । र, जिल्ला प्रहरी प्रमुख (एसपी) रामकुमार खनाल थिए ।

त्यतिवेला मारिएकाहरु अधिकांशलाई स्वचालित हतियारले गोली हान्नुका साथै बाँसको फट्टा, ढुङ्गा इट्टाले टाउको र मुखमा थिचेर, धारिलो हतियार प्रहार गरेर, टाउको लगायत संवेदनशील स्थानहरुमा जथाभावी घोचेर, महिलाहरुलाई बलात्कार गरी स्तन काटेर छट्पटीरहेको अवस्थामा जिउँदै आगो लगाएर हत्या गरिएको कुरा बाहिर आएको थियो ।

मधेसी राष्ट्रिय मुक्ति मोर्चार्का कार्यकर्ताहरु निःशस्त्र थिए। तर, फोरमका सशस्त्र कार्यकर्ताहरुले ज्यान बचाउन भाग्दै गरेका निशस्त्र र आतंकित मोर्चा कार्यकर्ता तथा र्सवसाधरणहरुलाई गौरभन्दा सात/आठ किलोमिटर टाढासम्म गौंडा कुरेर तथा लखेटी लखेटी हत्या गरेको कुरा पनि बाहिर आएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्