कोरोनाको उकालो ग्राफः काठमाडौंमा सर्वाधिक संक्रमण, कुन उमेरका भैरहेका छन् विरामी ! – Janadesh Daily | ePaper

कोरोनाको उकालो ग्राफः काठमाडौंमा सर्वाधिक संक्रमण, कुन उमेरका भैरहेका छन् विरामी !


जनादेश वाच।
नेपालमा शनिबार १० हजार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १४ हजार ४ सय ६२ पिसिआर परिक्षणका क्रममा ८ हजार २ सय १२ जना र ५ हजार ७ सय २५ एन्टीजेन परिक्षणका क्रममा २ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख १६ हजार ८ सय ४५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ६ सय ५१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप ७ सय ८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख २० हजार २ सय ८३ संक्रमित निको भएका छन् । हाल नेपालमा ७२ हजार ८ सय ६२ सक्रिय संक्रमित आइशोलेशन र १ सय ४९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा सर्वाधिक
नयाँ भेरियन्ट ‘ओमोक्रन’ फैलिएसँगै काठमाडौं उपत्यका फेरि भाइरसको ‘हटस्पट’ बन्दै गएको छ। निकै संक्रामक मानिएको ‘ओमोक्रन’ फैलिएसँगै आजबाट सवारी साधनमा उपत्यका जोर बिजोर प्रणाली लागू गरिएको छ। यस्तै, सार्वजनिक स्थल र सार्वजनिक निकायमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गरिएको छ।

देशभर संक्रमण फैलिएसँगै सबैभन्दा बढी प्रभावित काठमाडौं उपत्यका बनेको हो। संक्रमण बढेसँगै उपत्यकाका अस्पतालहरु भरिन थालेका छन्। यद्यपि, अधिकांश संक्रमित होम आइसोलेसनमै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पुसको अन्तिम सातादेखि उपत्यकामा संक्रमितको संख्या बढ्न थालेको थियो। माघको पहिलो साता सम्म कोरोनाको ग्राफ अझै उकालो लागेको हो।

पुस २४ गते शनिवार काठमाडौं उपत्यकामा मात्र २ हजार ९७५ सक्रिय कोरोना संक्रमित थिए। आज (माघ ८ गते) गतेसम्म आइपुग्दा उपत्यकामा सक्रिय संक्रमितको संख्या ४७ हजार नाघेको छ।

देशभर हाल ७२ हजार ८६२ जना सक्रिय संक्रमित छन्। कुल सक्रिय संक्रमित मध्ये ६४.५३ प्रतिशत काठमाडौं उपत्यकामा छन्। हाल काठमाडौंमा ३४ हजार १५९ जना, ललितपुरमा ८ हजार २२० जना र भक्तपुरमा ४ हजार ६४५ जाना गरी ४७ हजार २४ जना सक्रिय संक्रमित रहेका छन्।

सबैभन्दा बढी २१ देखि ३० वर्षका
नयाँ सङ्क्रमितहरू मध्ये सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका छन् । यो उमेर समूहबाट २ हजार ८७० जना सङ्क्रमित भएका छन् । त्यस्तै, ३१ देखि ४० उमेर समूहबाट २ हजार २४४ जना सङ्क्रमित छन् । १० वर्षभन्दा कमका १ सय ४६ जना सङ्क्रमित थपिएका छन् ।

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्