युक्रेन युद्धः पोल्याण्ड पुगे २० लाख शरणारार्थी, रूससँग वार्ताअघि युक्रेनी राष्ट्रपतिका यस्ता शर्त – Janadesh Daily | ePaper

युक्रेन युद्धः पोल्याण्ड पुगे २० लाख शरणारार्थी, रूससँग वार्ताअघि युक्रेनी राष्ट्रपतिका यस्ता शर्त


जनादेश अन्तर्राष्ट्रिय अपडेट

रुसी सेनाले युक्रेनको मारिओपोलस्थित नाटकघरको भूमिगत तलामा १,००० भन्दा बढी महिला र बालबालिकाले आश्रय लिएर बसेको एक सांसदले बताएका छन्। उक्त नाटकघर रुसी हवाई आक्रमणमा परेको थियो। तर त्यहाँ कति जना हताहत भए भन्ने स्पष्ट छैन।

सांसद दिमित्रो गुरिनका अनुसार उनका आमाबुवा पनि मारिओपोलमा फसेका छन्। उनले भने, “त्यो भवन क्षतिग्रस्त भएको छ, भूमिगत तलामा भएको बम शेल्टरमा १,००० जनाभन्दा बढी महिला र बालबालिका छन्।”

“केही समयअघि हामीले पाएको सूचनाअनुसार बम शेल्टर जोगियो र तयहाँ भएका मानिसहरू पनि जोगिए।” “हामीलाई अझै कोही घाइते भएका छन् वा मरेका छन् भन्ने थाहा छैन। तर अधिकांश मानिस जीवितै छन् र ठिकै छन्।”

जेलेन्स्कीद्वारा जर्मन संसद्‌मा सम्बोधन
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलेआफ्नो देशमा आक्रमण गरेर ‘युरोपको स्वतन्त्रताविरुद्ध नयाँ पर्खाल बनाइरहेको’ भन्दै त्यसलाई रोक्न थप कदम चाल्न अपिल गरेका छन्। उनले युक्रेनले युद्धअघि रुससँगको आर्थिक सम्बन्ध सिमित पार्न जर्मनीलाई बारम्बार भनेको उल्लेख गर्दै बर्लिनले रुसलाई ‘स्वतन्त्रता र दासत्वबीचमा’ पर्खाल खडा गर्न सघाएको बताए।

किएभबाट बर्लिनस्थित संसद्लाई सम्बोधन गर्दै उनले जर्मन चान्सलर ओलाफ सोल्टस्लाई भने: “प्रिय सोल्ट्स्:यो पर्खाललाई भत्काउनुहोस्।” जेलेन्स्कीले रुस विरुद्ध प्रतिबन्धहरू ढिला लगाइएको र त्यस्ता कदमहरू मात्रै पर्याप्त नहुने बताएका छन्। जर्मन संसद्‌मा उनले १० मिनेट सम्बोधन गर्दा सांसदहरूले उठेर उनीप्रति सम्मान व्यक्त गरेका थिए। सांसद्हरूलाई रुसी युद्ध अन्त्य गर्न सघाउन अनुरोध गर्दै उनले दोस्रो विश्वयुद्ध र कम्युनिस्ट शासन ढल्दाको जर्मन अनुभवको चर्चा गरेका थिए।

‘युक्रेनबाट २० लाख मानिस पोल्यान्डमा’
युक्रेनमा युद्ध सुरु भएपछि झन्डै २० लाख मानिस युक्रेनबाट पोल्यान्ड छिरेको जानकारी पोलिश सीमा सुरक्षा निकायले दिएको छ। पोल्यान्ड आएका झन्डैै पाँच लाख मानिस अन्यत्र गइसकेको वार्सा विश्वविद्यालयमा कार्यरत आप्रवासनसम्बन्धी अनुसन्धानकर्ता प्राध्यापक माचे दुश्चकले बताएका छन्। बुधवार मात्र ६०,००० मानिसले सीमा पार गरेको सीमा सुरक्षाबलले जनाएको छ। उक्त सङ्ख्या मङ्गलवारको भन्दा ११ प्रतिशत कम हो। बिहीवार जीएमटी ६ बजेसम्म १२,००० जना युक्रेनबाट पोल्यान्ड प्रवेश गरेका थिए। बुधवार सोही अवधिमा सीमा पार गर्ने मानिसको सङ्ख्या १३,६०० थियो। पोल्यान्ड छिरेका अधिकांश शरणार्थीहरू वार्सा, क्राको र व्रोक्लाजस्ता ठूला सहरमा गएका छन्।

जेलेन्स्कीका ६ शर्त
युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूससँगको शान्ति वार्ताका लागि छ शर्त अगाडि सारेका छन्। उनले त्यसलाई युक्रेनको उच्च प्राथमिकता सूचीमा रहेका छ विषय भन्ने गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। उनले विहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै भने, “रूससँगको शान्ति वार्ताका बेला सम्बोधन हुनुपर्ने मेरा प्राथमिकताका विषय छन्।” उनका अनुसार रूसले युद्धको अन्त्य हुनुपर्ने कुरालाई युक्रेनले पहिलो शर्तका रूपमा राख्नेछ। त्यसैगरी सुरक्षाको सुनिश्चितता, स्वाधीनता, क्षेत्रीय भौगोलिक अखण्डताको पुनर्स्थापना, देशको वास्तविक सुनिश्चितता र वास्तविक रूपमै देशको संरक्षण हुनुपर्ने कुरालाई पनि उनले प्रमुख शर्तको रूपमा राखेका छन्। रूसले युक्रेनमा आक्रमण शुरु गरेको केही दिनपछि दुई पक्षका बीचमा वार्ता शुरु भएको थियो।

पटक पटक भएको वार्ता परिणाममुखी हुन भने सकेको छैन। वार्ताको सिलसिला भने जारी नै रहेको छ। पछिल्लो वार्ता गत सोमबार चौथो चरणमा भएको थियो। सो वार्ता भिडिओमार्फत भएको थियो। त्यसको दुई दिनपछि युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पुडोल्याकले रूसी राष्ट्रपतिसँग युक्रेनी राष्ट्रपतिले नै सीधै चाँडै वार्ता गर्ने सम्भावना रहेको जानकारी दिएका थिए। गत शुक्रबार रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूसी र युक्रेनी राष्ट्रपतिबीचमा वार्ता सम्भव रहेको उल्लेख गरेका थिए। दुवै पक्षबाट राष्ट्रपतिस्तरमा वार्ताको सम्भावना देखाइरहेका बेला युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ६ शर्त अगाडि सारेका हुन्। रूस र युक्रेनबीचको युद्धकै विषयमा बिहीबार नै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाइएको छ। बेलायत, अमेरिका, फ्रान्स, अल्बानिया, आयरल्याण्ड र नर्वे गरी ६ देशको अनुरोधपछि बैठक बोलाइएको हो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्