सबैलाई एकै ठाउँमा राखेर कल्पना गर्दा एउटा विशाल कम्युनिष्ट पार्टी बन्छ: नेता घनश्याम भूसाल – Janadesh Daily | ePaper

सबैलाई एकै ठाउँमा राखेर कल्पना गर्दा एउटा विशाल कम्युनिष्ट पार्टी बन्छ: नेता घनश्याम भूसाल


काठमाडौँ — नेकपा एमालेका नेता घनश्याम भूसालले पार्टीमा पछिल्लो समय सैद्धान्तिक छलफल र प्रशिक्षण नभएको संकेत गर्दै सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७४औं स्थापना दिवसका अवसरमा नेता भूसालले पार्टी नेतृत्वलाई लक्षित गर्दै आफूहरूमाथि हुने व्यवहारमाथि प्रश्न उठाएका छन्

शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी ओलीले ललितपुरस्थित च्यासलमा रहेको पार्टी कार्यालयबाट चुनावी घोषणापत्र सार्वजनिक गरिरहँदा नेता भूसालले सामाजिक सञ्जाल मार्फत् असन्तुष्टि व्यक्त गरेका हुन् ।

भूसालले आफ्नो फेसबुकमा लेखेका छन्, ‘कित्ता बिनाको अर्को कित्तका हामी अनौठो अवस्थामा छौँ । हामी क्रान्तिकै पक्षमा दृढ छौँ । तर, आजको क्रान्तिको बाटो के हो ? कसरी अगाडि बढ्छ ? कसले गर्छ ? त्यसका चुनौति के हुन् ? त्यसका लागि अवसरहरु के के हुन् जस्ता अनेकौँ प्रश्नमा हामीलाई द्विविधा हुन्छ । किनकि ती विषयमा आजकल कुनै छलफल नै हुँदैन, कसैले पढाउँदैन । हामी चुनाव देखेर हुक्र्यौँ, चुनाव जित्दा क्रान्ति नजिक छ जस्तो लाग्छ । तर चुनावदेखि चुनावसम्म नै हो त क्रान्ति भन्ने पनि लाग्छ । तर हामीलाई जनवादी केन्द्रियताबारे सबैभन्दा बढि थाहा छ ।’

नेता भूसालले पछिल्लो समय कम्युनिस्ट पार्टीभित्र मौलाउँदै गएको प्रवृत्तिलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् । यद्यपि आफूहरू क्रान्तिको पक्षमा दृढ रहेको भन्दै आफूहरूमाथि शंका गर्नु नपर्ने उनको भनाइ थियो । साथै उनले आफूहरू कतै जान नपाएर बसिरहेको नभएर बरु पार्टीको बफादार सेवक रहेको उनले प्रष्ट पारेका छन् ।

‘हामी आफ्नो उद्देश्यमा अरु सबैभन्दा स्पष्ट छौँ । जहिलेसम्म यो पार्टीले राज्यशक्तिको अभ्यास गर्छ, त्यस दिनसम्म हामी यहाँ रहन्छौँ भन्ने कुरामा कसैले हामीमाथि शङ्का गर्नु व्यर्थ छ । कहीँ जान नपाएर हामी यहाँ आएका होइनौँ भन्ने कुरा पनि सबैलाई थाहा होस् । हामीले सजिलै औपचारिक हैसियत पाउन सक्ने कैयन् पार्टी यो मुलुकमा छन् । त्यस अर्थमा हामी यो पार्टीका बफादार सेवक हौँ,’ भूसालले भनेका छन् ।

पछिल्लो समय अध्यक्ष केपी ओलीले पार्टीका निर्णय गर्दा छलफल र बैठक नबोलाइकन आफूखुसी गर्दैआएको भन्दै घनश्याम भूसाल लगायत नेताहरूले पार्टीभित्र पनि असन्तुष्टि व्यक्त गर्दैआएका छन् । शुक्रबार ओलीले पार्टी कार्यालयबाट घोषणापत्र सार्वजनिक गरिरहँदा भूसालले भने नेतृत्व र पार्टीलाई लक्षित गर्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

 भूसालको वक्तव्य :

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्