ओली अहंकारमाथि मतदाताको फैसला, एमालेले गुमाउन सक्छ १०० भन्दा बढी पालिका ! – Janadesh Daily | ePaper

ओली अहंकारमाथि मतदाताको फैसला, एमालेले गुमाउन सक्छ १०० भन्दा बढी पालिका !


जनादेश वाच।

स्थानीय तह निर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । अघिल्लो निर्वाचनमा सबैभन्दा बढी पालिका जितेर एक नम्बर पार्टी बनेको एमालेले हालसम्म प्राप्त नतिजा र लिइरहेको अग्रता हेर्दा दोस्रो स्थानमा खुम्चने देखिएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेभन्दा २८ पालिका कम जितेको कांग्रेस जित र अग्रताले एक नम्बर पार्टी बन्ने अवस्थामा देखिएको छ ।

अहिलेसम्म विजय हासिल गरेका र अग्रता कायम राखेका आधारमा कांग्रेस ठूलो पार्टी बन्न सक्ने देखिन्छ । यद्यपि अन्तिम परिणाम भने आइसकेको छैन । अघिल्लो निर्वाचनबाट तेस्रो पार्टीको हैसियत पाएको माओवादी केन्द्र तेस्रो स्थानमै रहने तर परिणाम विगतको भन्दा सुधार हुने देखिन्छ ।

भर्खरै बनेको नेकपा एकीकृत समाजवादीले करिब २० स्थानीय तहमा अग्रता कायमै राखेको छ भने जनता समाजवादीले विगतको संघीय समाजवादीले जितेका केही स्थान गुमाउने अवस्था देखिँदैछ ।
पहिलेको राजपा हाल लोकतान्त्रिक समाजवादी पार्टीका रुपमा रहेको छ । उसले पनि विगतमा जितेका केही स्थानीय तह गुमाउने अवस्था हालसम्मको रिपोर्टले देखाएको छ ।

एमालेले अघिल्लो स्थानीय तह निर्वाचनमा २९४ स्थानीय तहमा जित हासिल गरेको थियो । समाचार तयार पार्दासम्मको परिणामअनुसार एमालेले ५० स्थानीय तह जितेको छ । परिणाम सार्वजनिक नभएका तथा मतदान नै पुनः हुनेगरी स्थगित भएका बाहेक स्थानीय तहको अवस्था हेर्दा एमालेले १३४ स्थानीय तहमा अग्रता कायम गरेको छ ।

यसलाई हेर्दा एमालेले २६ प्रतिशत स्थानीय तहमात्र जित्ने सम्भावना प्रारम्भिक मतले देखाएको छ । स्थगित भएका र फेरि चुनाव हुने अवस्थामा रहेका ५२ स्थानीय तहमा पनि उसको यही अनुपातमा परिणाम आएमा दुई सय बढी तहमा विजय हुने देखिएको छ । अघिल्लो चुनावमा २६६ स्थानीय तह जितेर दोस्रो भएको नेपाली कांग्रेसले लोकतान्त्रिक फोरमसँगको एकतापछि ९ स्थानीय तह थपेको थियो । अहिलेसम्मको मत परिणामअनुसार कांग्रेसले ७२ स्थानीय तह जितेको छ भने २४८ स्थानीय तहमा उसको अग्रता छ ।

यही अनुपातलाई आधार मान्दा कांग्रेसले ४४ प्रतिशत स्थानीय तह जित्ने अवस्था देखिँदैछ । बाँकी ५२ स्थानीय तहको पनि यही अनुपात मान्ने हो भने कांग्रेसको ३३५ स्थानीय तह जित्ने अवस्था छ । यस हिसाबले उसले लोकतान्त्रिक फोरमबाट थपिएकाबाहेक नै करिब ६० स्थानीय तह थप्न सक्छ ।

माओवादी केन्द्रले अहिलेसम्म ३७ स्थानीय तह जितेको छ भने ७८ स्थानीय तहमा उसको अग्रता छ । यो अनुपातलाई नै कायम राख्ने हो भने माओवादी केन्द्रले १६ प्रतिशत स्थानीय तह जित्न सक्छ । बाँकी ५२ स्थानीय तहमा पनि यही अनुपात मान्ने हो भने उसले १२४ स्थानीय तहमा जित हासिल गर्न सक्छ ।

अघिल्लो चुनावको परिणामसँग तुलना गरेर हेर्दा माओवादी केन्द्रले १८ स्थानीय तह थप्न सक्छ । विगतमा संघीय समाजवादी फोरमको नामबाट चुनाव लडेका जनता समाजवादी पार्टीले ३४ स्थानीय तहमा जित हासिल गरेका थियो । अहिलेसम्म उसको खातामा एउटा पनि स्थानीय तह परिसकेको छैन । तर, अग्रता हेर्दा उसले २८ स्थानीय तह जित्न सक्ने देखिन्छ । यस हिसाबले उसले ७ स्थानीय तह गुमाउन सक्छ । विगतमा राष्ट्रिय जनता पार्टीका नाममा चुनाव लडेको अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भएको छ । उसले विगत चुनावमा २५ स्थानीय तहमा जित हासिल गरेको थियो ।

यसपटक उसको खातामा जित परिसकेको छैन । अग्रता हेर्दा उसको १२ स्थानीय तहमा मात्र छ । यस हिसाबले उसले कम्तिमा १२ स्थानीय तह गुमाउन सक्छ । एमालेबाट विभाजित भएर भर्खरै बनेका नेकपा एकीकृत समाजवादीले २ स्थानीय तह जितेको छ भने १८ स्थानीय तहमा अग्रता कायम गरेको छ । बाँकी तहको यही अनुपात मान्दा एकीकृत समाजवादीले २१ स्थानीय तह जित्न सक्छ । समग्रमा नतिजा हेर्दा मतदाताले एमाले र एमाले अध्यक्ष केपी ओलीले देखाएको राजनीति अहंकारलाई साइजमा राख्ने फैसला सुनाएका छन्।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्